ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इरानी बिटुमिन वीरगञ्ज भन्सारको नियन्त्रणमा : साफ्टा सुविधा दुरुपयोग हुने गरेको खुलासा

Jun 20, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । इरानमा बनेको बिटुमिन भारतमा उत्पादन भएको देखाएर दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) को सुविधा दुरुपयोग भएको पाइएको छ । वीरगञ्ज भन्सारले इरानमा बनेको ३ गाडी बिटुमिन नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ‘जे आयल’ ब्रान्डका ३ गाडी बिटुमिन नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले बताए । ‘जे आयल’ इरानी सरकारी तेल उत्पादक कम्पनीको ब्रान्ड भएको पत्ता लागेपछि थप अनुसन्धान भइरहेको भन्सारले बताएको छ । प्रारम्भिक अनुसन्धानमा उक्त ब्रान्डको बिटुमिन भारतीय उत्पादन नभएको पत्ता लागेको थियो । गलत उत्पत्ति घोषणा गरेर भिœयाइएको बिटुमिन जफत गर्ने तयारी भन्सारले गरेको छ । आयातकर्ताले यो उत्पादनको भारतीय उत्पत्तिको प्रमाणपत्र पेश गरेर साफ्टा अन्तर्गत भन्सार छूट सुविधा लिन खोजेका थिए । बिटुमिन आयातमा साफ्टाको सहुलियत अन्तर्गत ७ दशमलव २५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । अन्य मुलुकबाट हुने आयातमा १५ प्रतिशत राजस्व तोकिएको छ । भारतमै बनेको बिटुमिनमा समेत साफ्टा अन्तर्गतको भन्सार सुविधा लिन नमिल्ने रहस्य खुलेपछि भन्सार विभागले यस विषयमा बेग्लै अनुसन्धान थालेको छ । तर, ३ साता बितिसक्दा पनि अनुसन्धान निष्कर्ष विहीन छ । भारतका मुख्य पेट्रोलियम उत्पादकमध्येको भारत पेट्रोलियम कर्पोरेशनले त्यहाँ उत्पादित बिटुमिनमा साफ्टा सुविधाको मापदण्ड नपुग्ने बेहोराको पत्र लेखेपछि अनुसन्धान अगाडि बढाउन भन्सार बाध्य भएको हो । साफ्टामा पाउने भन्सार महसुल सुविधाका लागि सार्क देशको आफ्नै कच्चा पदार्थमा आधारित उत्पादन हुनुपर्छ । भारतीय बिटुमिनमा ६० प्रतिशतभन्दा बढी तत्त्व आयातित पदार्थको हुने भएकाले साफ्टा सुविधा नपाउने दाबी कम्पनीको छ । बिटुमिन कच्चा तेल प्रशोधन गरी अन्य पेट्रोलियम पदार्थ बनाउँदा निस्किने बाइप्रोडक्ट हो । भन्सार स्रोतका अनुसार भारत पेट्रोलियमका आधिकारिक आयातकर्ताले विगतमा पनि भन्सार विभागमा यो सुविधा दुरुपयोगबारे जानकारी गराएका थिए । तर, विभागका अधिकारीहरूले सुनुवाइ नै गरेनन् । भारत पेट्रोलियमको पत्रसहित आयातकर्ता नेपालस्थित भारतीय दूतावासमा पुगेका थिए । भारतीय दूतावासले यसबारेमा चासो राखेपछि भन्सार विभाग अनुसन्धानको दबाबमा परेको हो । भारतका ठूला पेट्रोलियमका आयातकर्ताले १५ प्रतिशत महसुल तिरेर भिœयाउने गरेका छन् । अन्य दर्जनभन्दा बढी आयातकर्ताले अन्य कम्पनीको नाममा भारतमा उत्पादन भएको देखाएर साफ्टाको सुविधा दुरुपयोग गरेको भेटिएको छ । भन्सार जाँचपास प्रक्रिया अनलाइनमा आधारित हुन्छ । एउटै वस्तुको आयातमा फरक राजस्व तिरेर ल्याएको प्रस्टै देखिन्छ । तर, भन्सारले यसमा अहिलेसम्म बेवास्ता गर्नु शंकास्पद रहेको स्रोतको दाबी छ । भारतका कम्पनीबाट साफ्टा सुविधाको पत्र जारी गर्न नमिल्ने प्राविधिक आधारका बारेमा जानकारी नहुनु र आयातकर्ताले त्यस्ता कम्पनीबाट सक्कलै कागजात बनाएर ल्याएकाले सहुलियत दिइएको वीरगञ्ज भन्सारका सूचना अधिकृत मनीषकुमार महतोको भनाइ छ । भारत सरकारको स्वामित्वका भारत पेट्रोलियम सहित हिन्दुस्तान पेट्रोलियम र भारतीय आयल कर्पोरेशन ठूला तेल प्रशोधक कम्पनी हुन् । यी कुनै पनि कम्पनीले निर्यातमा साफ्टा सुविधाको पत्र जारी गर्दैनन् । साफ्टा सुविधाको महसुल अन्तरमा बढी फाइदा कमाउन पल्किएका आयातकर्ताले भारतका केही साना कम्पनीबाट साफ्टा सुविधाको कागजात बनाएर आयात गर्दै आएका थिए । अहिले वीरगञ्ज, भैरहवा, विराटनगर लगायत भन्सारमा बिटुमिन बोकेर आएका केही गाडी रोकिएका छन् । १५ प्रतिशत महसुल तिर्न तयार हुनेको बिटुमिन मात्र जाँचपास भएको महतोले बताए । ‘भारतमा उत्पादिन बिटुमिनको कागजात हेरेर १५ प्रतिशत महसुल तिराएर छोडेका छौं,’ उनले भने । ‘आयात रोकिँदा सडक निर्माणमा समस्या’ नेपाल निर्माण व्यवसायी महासंघले भने बिटुमिन लगायत निर्माण सामग्रीको प्राप्ति सहज नहुँदा सडक निर्माणमा समस्या परेको बताएको छ । महासंघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउन सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएको छ । केही महीनायता बिटुमिन आयात नहुँदा निर्माण व्यवसायीहरू ठूलो समस्या परेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, नदीजन्य निर्माण सामग्री असारको शुरूदेखि नै नदीनालाबाट उत्खनन कार्य बन्द भएको पनि महासंघले बताएको छ । निर्माण सामग्रीहरू समयमै नपाउँदा देशभरका व्यवसायीहरू थप मारमा परेको महासंघका महासचिव रोशन दाहालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)