आमा, भोक लाग्यो !
पख छोरी, तिम्रो बाउ अन्न फलाउन बीउ र मल किन्न शहर गा’छन् ।
आमा, तिर्खा लाग्यो ।
पख बा, मेलम्ची खोला आउँदै छ ।
आमा, यत्ति धेरै दूध दुह्यौ, तकारी फलायौ । अब कल्ले किन्छ त ?
छोरी, अब आफै खाने । खान नसकेको दूधले सडक पखाल्ने । तरकारी भैंसीलाई खुवाउने ।
आमा, उखु पनि बेचिनौं त ?
दाउरा बालेको देखिनौं ?
आमा, दाई विदेश गाथे । अब बाबा पनि जाने भए । खेती कल्ले गर्ने ?
खेत बाँझै राख्ने छोरी ।
जग्गा त्यसै राखे सर्खारले कारबाही गर्छ रे नि त ?
खै छोरी, त्यो पनि झेलौंला ।
आमा, तुइनको लठ्ठाले मेरो हात दुख्यो ।
नकराऊ छोरी, सर्खारले तुइन हटाउँछ रे ।
आमा, धूलो धेरै आयो ।
मास्क लगाऊ छोरी ।
आमा, हिलोले बाटो हिँड्नै सकिनँ ।
धेरै नकराऊ छोरी, प्लास्टिकको जुत्ता लगाऊ । नत्र हिलोमा धान रोप ।
आमा, साँझ पर्यो, डर लाग्यो । हाम्लाई बचाउन पुलिस दाइ आउनुहुन्न ?
छोरी, प्रहरी दाइ त सुन समात्न गा’छन् ।
आमा, मलाई नि टाई लाएर, ब्यागमा टिफिन बोकेर स्कूल जान मन लाग्यो ।
पख बा, तिम्रो दाइले विदेशबाट पैसा पठाए भने स्कूल भर्ना गरौंला ।
आमा, हाम्रो गाउँमा विकास कैले आउँच ?
छोरी, हाम्रै गाउँका लुरे कान्छा ठूलो नेता र ऐले त मन्त्री नै भा’छन् रे । गाउँ आउँदा विकास पनि सँगै ल्याउलान् नि ।
अनि उनी गाउँ चैं कैले आउँछन् रे त ?
मन्त्रीहरूलाई कुन्नि के के शिलान्यास गर्न भ्याइनभ्याइ छ रे । आउलान् नि त कुनै दिन ।
त्यसोभए शहरमा गा’को नेताको कुरा छोड्नू । हाम्रै गाउँमा बस्ने नेताले चैं विकास ल्याउँदैनन् रे आमा ?
ल्याउलान् । मेयर र वडा अध्यक्षज्यूका डोजरहरू आइसके । अब विकास पनि सँगसँगै आउँछ रे । हाम्रा सांसदले पनि ६ करोड र ३ करोड कि कति करोड हो पाका छन् क्यारे । अनि हाम्रो भागमा पनि केही न केही विकासको बाछिटा पर्छ रे । तर हाम्ले कर अलि बढी तिरिदिए बढी विकास पनि गर्दिन्छन् रे ।
आमा त्यो कर भनेको के हो ?
कर भनेको जनता भएर बाँचिदिए बापत, बाँचेर काम गरे बापत सरकारलाई पैसा तिर्नुपर्ने हो ।
अनि त्यो पैसा कहाँ जान्छ त आमा ?
त्यो सबै पैसा नेता र कर्मचारीले हाम्रै भलो होस् भनेर उनीहरूकै भुँडीमा हाल्छन् छोरी ।
आमा, हाम्रो गाउँका अन्तरे काका पनि देश बनाउने भन्दै जुलुसाँ गा’थे । उनी चैं कहाँ गए त ?
ए ! उनी त राजधानीमा हिरो हुँदै गा’छन् । ठूलै नेता भा’छन् । नेपालको आफ्नै स्याटलाइट आकाशमा उडाउन तारा गनिरा’छन् । अहिले त उनी हेर्दाहेर्दै रातोपिरो, खाइलाग्दा भा’छन् । छिमेकीको टीभीमा हेर त ! उनी कत्ति गज्जब देखिएका छन् !
हाम्ले पूजा गर्ने मन्दिरको जग्गा त सरकारले लिने कुरो थियो । किन होला आमा ?
ए, त्यो जग्गा बेचेर देश विकास गर्ने कुरो थियो । हाम्रो गाउँको चर्चको पनि आफ्नो जग्गा नभएकाले सबैलाई बराबर बनाउँदै लाने कुरो पनि थियो । तर रूखमा बसेका हजारौं हरेउहरूले हराए रे सरकारलाई ।
आमा हिजोआज शहरमा किन धेरैले नारा, जुलुस लाको रे ?
ए, सरकारसँग बल धेरै भएर आँफै लड्न, भिड्न आ’को रे ।
आमा, गाविसमा त वृद्धभत्ता लिनेको लामो लाइन छ त । तिमी पनि साह्रै बूढी भयौ, भत्ता लिन जान्नौ ?
छोरी, म त बल्ल ४० कटेँ । अब अरू ३० वर्ष बाँचे भने लिन जाम्ला ।
आमा, त्यो आरक्षण भनेको के हो ?
त्यो हाम्ले लिन पाउँदैनौं । त्यो पाउन त तिमी अर्कैको कोखमा जन्मेको हुनुपर्थ्यो नि त । मेरो अभागी कोखमा आयौ !
त्यसो भए यो जन्ममा हामी त त्यसै मर्ने भयौं त आमा ?
आमा निःशब्द ........!