ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि–पर्यटनमा आकर्षित हुँदै व्यवसायीहरू : काभ्रे र कपिलवस्तुमा रू. २५ करोड लगानी

Jun 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.
काठमाडौं । साखः स्टील ग्रूप र समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालिले कृषि पर्यटनलाई प्राथमिकता दिएर लगानी बढाएका छन् । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि दुवै कम्पनीले आफ्नो लगानी विस्तार गरेका हुन् । समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालिले काभ्रेको खावामा कृषि पर्यटन प्रवर्द्धनका लागि रू. ५ करोड लगानी गर्दै छ । होटल व्यवसायलाई विस्तार गर्दा कृषि पर्यटनलाई नै प्राथमिकता दिने गरेको समिट रेसिडेन्सी एयरपोर्ट होटल प्रालिका प्रबन्ध निर्देशक विनायक शाहले बताए । उनका अनुसार जग्गा खरीद र ३० कोठाको अतिथिगृहका लागि उक्त लगानी भएको छ । धान, फलफूल र तरकारी खेती तथा कुखुरा र बाख्रापालनका साथै स्थानीय तहकै कृषिजन्य उत्पादन उपभोगको वातावरण बनाउने कम्पनीको योजना छ । यस्तै, स्टीललगायत उद्योगमा संलग्न साखः ग्रूपले पनि कपिलवस्तुको गोरुसिंगेमा यस्तै परियोजना अगाडि बढाएको छ । २८ बिगाहामा रू. २० करोड लगानीमा ‘नेचुरल एग्रिकल्चर फार्म’ सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । उक्त जग्गामा अर्गानिक कृषि उत्पादन र कृषि पर्यटन अगाडि बढाउने योजना रहेको ग्रूपका उपाध्यक्ष किरणभक्त साखःको भनाइ छ । कृषि पर्यटनलाई लक्षित गरेर कम्पनीले शुरूमा ३० कोठाको होटल तथा माछा, गाई, बँदेल, बाख्रा र स्थानीय जातका कुखुरापालन गर्नेछ । प्रबन्ध निर्देशक शाहका अनुसार कृषि पर्यटन स्पेन र इटलीमा प्रचलित अवधारणा हो । कृषि फार्मिङका साथै सोही स्थानमा गेस्ट हाउस तथा होटल स्थापना गर्दै ग्रामीण क्षेत्रमा पर्यटक आकर्षित गर्ने हेतुले अहिले नेपाली व्यवसायीहरू पनि त्यस क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । ‘आगामी चैतसम्ममा प्रोजेक्ट सञ्चालन गर्ने तयारीमा छौं,’ शाहले भने, ‘१० रोपनीमा तयार हुने प्रोजेक्टमा होमस्टे पनि रहनेछ ।’ स्थानीय किसानको उत्पादन र त्यहाँका युवालाई रोजगारीमा प्राथमिकता दिँदै पर्यटक आकर्षित गर्ने कम्पनीको लक्ष्य छ । अहिले त्यस भेगका धेरै युवायुवती वैदेशिक रोजगारीमा छन् । सोही कारण कामदार पाउन नसकेको शाहको गुनासो छ । प्रदेश–१ का पहाडी जिल्लाहरू भोजपुर, धनकुटा, पाँचथर, खोटाङका आफ्ना व्यवसायी मित्रहरूले सोही अवधारणामा लगानी गर्ने तयारी गरिरहेको शाहले जानकारी दिए । ‘पहिलो चरणमा काभ्रेको खावामा पाइलट प्रोजेक्टको तयारी भएको हो,’ उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)