ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन बैंकमा सीडीसीको चासो : हबिब बैंकको शेयर खरीदबारे हिमालयन बैंक र बेलायतको सीडीसी छलफलमा

Jun 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा
काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको संस्थागत शेयर खरीदमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी) ले चासो देखाएको छ । हिमालयन बैंकमा स्थापनादेखि प्रमुख शेयर साझेदारका रूपमा रहेको हबिबको २० प्रतिशत शेयर खरीदका विषयमा बैंक र सीडीसीबीच पछिल्लो समय छलफल चलिरहेको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार दुवै कम्पनी ड्यु डिलिजेन्स अडिट गर्ने प्रक्रियामा छन् र सो प्रक्रिया सकिएपछि दुवै पक्षलाई चित्त बुझेमा खरीद विक्रीको काम अगाडि बढाइनेछ । ‘संस्थापक शेयरबाट प्रतिफल पाइरहे पनि हबिब बैंकले नेपालबाट आफ्नो रणनीति अनुसारको योजना सफल हुन नसकेपछि शेयर विक्री गर्ने मनसाय राखेको थियो,’ राणाले भने, ‘नेपालबाट मात्रै होइन, हबिब बैंकले विश्वका ६/७ ओटा देशका बैंकमा गरेको लगानी पनि विक्री गरिसकेको छ ।’ हिमालयन बैंक र सीडीसीबीच हबिबको स्वामित्व खरीदबारेको छलफल निष्कर्षमा पुगेमा यो बेलायती संस्थाको नेपालमा दोस्रो लगानी हुनेछ । यसअघि नेपालको अर्को वाणिज्य बैंक एनएमबी बैंकमा कर्जा लगानी गर्दै सीडीसी नेपालमा औपचारिक रूपमा प्रवेश गरेको थियो । गत फागुनमा सीडीसीले एनएमबीमा १ करोड ५० लाख अमेरिकी डलर कर्जा लगानी गर्ने सम्झौता गरेको थियो । हिमालयन बैंकको शेयर खरीद विक्रीबारे हबिब बैंक र बेलायतको सीडीसी कम्पनीबीच भइरहेको छलफलबारे नेपाल राष्ट्र बैंक भने अनभिज्ञ छ । बैंकको शेयर खरीद विक्रीका लागि राष्ट्र बैंकको अनुमति लिनुपर्छ । केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले हालसम्म त्यसबारे जानकारी नआएको बताए । ‘विदेशी कम्पनीको हकमा बैंकको स्वामिŒव किन्ने कम्पनी कस्तो हो भन्नेबारे यथार्थ परीक्षण गरेपछि नीतिगत रूपमा सही ठहरिएमा अनुमति दिनेछौं,’ उनले भने । नेपालमा विदेशी बैंकले ८५ प्रतिशतसम्मको शेयर किन्न पाउने नीतिगत व्यवस्था छ । सीडीसी बेलायती सरकारको पूर्ण स्वामित्त्व भएको वित्तीय संस्था हो, जसले विगत ७० वर्षदेखि विकासोन्मुख मुलुकहरूमा लगानी गर्दै आएको छ । यस संस्थाले सब–सहारा अफ्रिका तथा दक्षिण एशियाका देशहरूमा रोजगार सृजना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । यसले दक्षिण एशियाली मुलुकहरू भारत, बंगलादेश र पाकिस्तानका साथै म्यान्मामा पनि पूर्वाधार निर्माण तथा उत्पादनमूलक क्षेत्रहरूमा लगानी गर्दै आएको छ । यस संस्थाले दक्षिण एशियामा आगामी तीन वर्षमा १ दशमलव ७ अर्ब अमेरिकी डलर लगानी गर्ने सन् २०१८ को उत्तरार्द्धमा घोषणा गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)