ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३९ देशसँग हवाई सम्झौता, सीमित देशमा मात्र उडान : थप तीन देशसँग हवाई सम्झौताको तयारी

Jun 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । ३९ देशसँग हवाई सम्झौता गरेको नेपालले थप तीन देशसँग हवाई सम्झौताको तयारी गरेको छ । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लोपटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । सरकारले अहिले फिनल्यान्ड, इन्डोनेशिया र रूससँग हवाई सम्झौताको तयारी गरिरहको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । यी तीन मुलुकमध्ये रूस पहिले सम्झौता भएर उडान समेत भइसकेको तर हाल बन्द भएको मुलुक हो भने अन्य दुई मुलुक नयाँ हुन् । नेपालले ३९ मुलुकसँग हवाई सम्झौता गरे पनि सम्झौता गरेका सबै मुलुकसँग भने उडान सुविधा छैन । अहिले सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य दुई मुलुकसँग नेपालले चासो बढाएको हो । फिनल्यान्डका राजदूत स्वयंले फिनिश एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेको आचार्यले जानकारी दिए । यस्तै सरकारले चीनसँगको हवाई सम्झौता नवीकरणको तयारी गरिरहेको पनि सहसचिव आचार्यले बताए । यसअघि सरकारले २०७५ मङ्सिरमा थाइल्यान्ड र जापानसँग हवाई सम्झौता नवीकरण गरेको थियो । सरकारले ३ दर्जनभन्दा बढी मुलुकसँग हवाई सम्झौता गरेको भए पनि नेपाली हवाई सेवा प्रदायकले अन्तरराष्ट्रिय गन्तव्यमा उडान तथा अवतरणको स्वीकृति भने पाउन सकेका छैनन् । नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगमले भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोरका साथै हङकङ, बैंकक, दोहा, दुबई र क्वालालम्पुरमा उडान गरिरहको छ भने हिमालय एयरलायन्सले अबुधावी, दमाम, क्वालालम्पुर र दुबईबाहेक अन्य गन्तव्यमा उडान गर्न उडान गर्न सकेको छैन । यस्तै अन्तरराष्ट्रिय उडानमा अनुभव लिँदै गरेको बुद्ध एयरले एटीआर जहाजमार्फत भारतका केही शहरमा उडान गरिरहेको छ । नेपालसँग हवाई सम्झौता गर्ने देशहरूमध्ये कम्बोडिया ३९औं देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले हप्तामा १४–१४ पटक सीधा हवाई उडान भर्न सक्ने उल्लेख छ । तर हालसम्म यो कार्यान्वयनको अवस्थामा देखिँदैन । नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई पनि कम्बोडियामा गन्तव्य विस्तार गर्ने बाटो खुले पनि निगमको प्राथमिकतामा कम्बोडिया छैन । लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र पर्यटकलाई यसले प्रत्यक्ष फाइदा पुग्न सक्ने सरकारको आकलन छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)