ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक साताभित्रै चीनबाट एओसी पाउँदै निगम

Jun 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले उत्तरी छिमेकी चीनबाट १ साताभित्रै विमान उडान अनुमति (एओसी) पाउने बताएको छ । निगमले चीनमा उडानका लागि सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी) सँग उडान अनुमति माग गरेको थियो । सीएएसीले मागेका सबै कागजात पेश गरिसकिएको र थप सोधीखोजीपछि एओसीको प्रक्रिया अगाडि बढेको निगमका सहप्रवक्ता नवराज कोइरालाले आर्थिक अभियानलाई जानकारी दिए । ‘सीएएसीले मागेका सबै कागजात पठाइसकिएको छ र ती कागजात स्वीकृतिपछि १ साताभित्रै एओसी प्राप्त गरिसक्ने आशा छ,’ कोइरालाले भने । निगमले चीनको राजधानी पेइचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाऊ र साङ्हाईमा उडान गर्ने योजना बनाएको छ । अहिले चीनका पाँचओटा एयरलाइन्सले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सातामा ५४ ओटा उडान गरिरहेका छन् । नेपाली वायुसेवा कम्पनीहरूले भने हालसम्म चीन उड्न पाएका छैनन् । दुईओटा वाइडबडी विमान खरीद गरेर पनि निगमले पुरानै र छोटा दूरी अर्थात् नयाँदिल्ली, मुम्बई, बैंगलोर, क्वालालम्पुर, बैंकक, हङकङ, दोहा र दुबईमा उडान गर्दै आएको छ । चीनबाट एओसी पाउनासाथ निगमले राहत पाउनेछ । नेपालमा पर्यटक भित्रिनेमध्ये चीन भारतपछि दोस्रो ठूलो मुलुक हो । सन् २०१८ मा चीनका १ लाख ५३ हजार ६७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । वाइडबडी विमानबाट लामो दूरीमा उडान गर्ने योजना कार्यान्वयनमा ल्याउन निगम लागिपरेको सहप्रवक्ता कोइरालाले बताए । निगमले जापानका गन्तव्यमा पनि उडान शुरू गर्न प्रयास गर्दै आएको छ । पर्याप्त यात्रु नपाएकाले निगमले जापानको ओसाका विमानस्थलमा उडान गर्ने तालिका असार १९ बाट भदौका लागि सारेको छ । असार र साउन जापानको गन्तव्यका लागि ‘अफ सिजन’ मानिन्छ । पर्यटकीय सिजन शुरू भएसँगै ओसाका उडान गर्ने निगमको तयारी छ । त्यसबाहेक दक्षिण कोरियामा पनि वाइडबडी विमान मार्फत सीधा उडान थाल्ने तयारीमा निगम छ । साउदीमा जीएसए नियुक्तिको तयारी यस्तै, निगमले साउदी अरेबियामा उडान गर्न जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि पुनः टेन्डर आह्वान गरेको छ । यसअघि निगमले दुई पटक टेन्डर आह्वान गरे पनि तोकिएको मापदण्ड पूरा नभएका कारण जीएसए नियुक्त गर्न सकेको थिएन । सहप्रवक्ता कोइरालाका अनुसार यात्रुदेखि कार्गो एजेन्टहरू नियुक्त गर्न आइतवार ग्लोबल टेन्डर आह्वान गरिएको हो । जीएसए नियुक्तिपछि आगामी कात्तिकभित्र वाइडबडी विमान मार्फत साउदी अरेबियामा उडान गर्ने तयारी भइरहेको कोइरालाले जानकारी दिए । निगमले साताको ३ दिन (सोमवार, बुधवार र शुक्रवार) साउदी अरेबियाको रियाद विमानस्थलमा उडान गर्ने तयारी गरिरहेको छ । त्यहाँ नेपाली कामदारको संख्या प्रशस्त रहेकाले यात्रु अभाव नहुने निगमको आकलन छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)