ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मेलम्ची सुरुङ ‘फिनिसिङ’ २ महीनापछि शुरू

Jun 26, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । ६ महीनाअघि इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि अवरुद्ध हुन पुगेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम पुनः अगाडि बढाइएको छ । आयोजनाको बाँकी रहेका कामहरू सुरुङको फिनिसिङ, मुहान (हेडवक्र्स) को काम सम्पन्न गर्न अहिले ठेकेदार कम्पनीहरूको छनोट शुरू भएको छ । फिनिसिङको काम सम्पन्न गर्न ठेकेदार कम्पनीको छनोटका लागि खोलिएको बोलपत्रमा परेका आवेदन गत असार २ मा खोलेर प्राविधिक मूल्यांकनका क्रममा छन् । त्यस्तै, सुरुङसँगै आयोजनाको मुहानको काम (हेडवक्र्स)का लागि आ≈वान गरिएको बोलपत्र असार १६ मा खोली प्राविधिक मूल्यांकन शुरू हुनेछ । सुरुङकै जस्तो प्रक्रिया सम्पन्न गरी हेडवक्र्सको निर्माण पनि प्राविधिक मूल्यांकन शुरू भएको करीब २ महीनामा प्रारम्भ हुने समितिले जानकारी दिएको छ । ‘करीब १ सातामा प्राविधिक मूल्यांकन सकी वित्तीय मूल्यांकन शुरू हुनेछ,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले भने, ‘मूल्यांकन प्रतिवेदन अर्को साता एडीबीलाई बुझाइन्छ अनि एडीबीले स्वीकृति दिए आशयपत्र जारी गर्ने, बैंक ग्यारेन्टी राख्न लगाउने, वित्तीय मूल्यांकन लगायत काम सम्पन्न गरी आगामी २ महीनामा काम प्रारम्भ गर्न सकिन्छ ।’ २०७० असार ३१ मा आयोजना निर्माणको जिम्मा इटालीको ठेकेदार कम्पनी ‘कोअपरेटिभा मुराटोरी ई सिमेन्टिस्टी (सीएमसी)’ले पाएको थियो । काम थालेको १ हजार ९५ दिन अर्थात् २०७३ भदौ २६ मा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, निर्धारित मितिभन्दा ८२८ दिनपछि २०७५ मङ्सिर २९ मा करीब ८५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा सीएमसी काम छाडेर हिँडेको थियो । आर्थिक रूपमा समेत टाट पल्टिएको सीएमसीले कार्यथलो छाडेको डेढ महीनापछि माघ २१ मा आयोजना कार्यालयले सीएमसीसँगको ठेक्का रद्द गर्‍यो । यही अवस्थामा फागुन २ मा संघीय संसद्को अर्थ समिति बैठकले लगानी नबढ्ने गरी आयोजनाको बाँकी काम चालू आर्थिक वर्ष २०७५/७६ भित्रै सम्पन्न गर्न संघीय सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसपछि बाँकी कामलाई १० प्याकेजमा विभाजन गरी सुरुङ र हेडवक्र्सका काम सम्पन्न गर्न बोलपत्र आह्वान गरिएको हो । एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोग रहेको उक्त आयोजनाको ठेकेदार छनोट एडीबीकै नियम अनुसार गर्नुपर्ने सम्झौता छ । त्यसैले, बाँकी काम नेपालभित्रैका कम्पनीहरूले गर्न सक्ने भए पनि सम्झौता अनुसार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ । राष्ट्रियस्तरको परियोजना विकास लागत (रू. १ अर्बभन्दा मुनि)को काम भए पनि एडीबीको नियम अनुसार उसका सदस्य राष्ट्रहरूका लागि समेत समेट्ने गरी बोलपत्र आ≈वान गरिएको हो । सुरुङको ठेक्काका लागि एक नेपाली र एक विदेशी कम्पनीको आवेदन परेको समितिका सूचना अधिकृत पन्तले जानकारी दिए । सुरुङको ठेक्का पाउने कम्पनीले डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, क्याम्पहरूको मर्मत, सुरुङको अन्तिम चरणको संरचना निर्माण, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार लगायत काम गर्नुपर्ने समितिले जानकारी दिएको छ । हेडवक्र्सतर्फको निर्माणका लागि सोमवार खोलिने बोलपत्रमा पनि नेपाली र विदेशी दुवैखाले कम्पनीका आवेदन पर्ने सम्भावना छ । उक्त ठेक्का पाउने कम्पनीले पानी थुन्ने इन्टेक निर्माण, पहुँचमार्गको सुधार र स्टील पुल निर्माण लगायत काम गर्नुपर्नेछ । अन्य आठओटा प्याकेज भने पहिले सीएमसीसँग काम गरेकै आठ कम्पनीलाई दिइएको छ । ती कम्पनीको काम पाइपभित्रको हावा बाहिर फाल्ने संरचना ‘भेन साप्mट’ निर्माण, हाइड्रोमेकानिकल र स्टील पाइपको काम गर्ने, डीआई पाइपको काम गर्ने, फिटिङ गर्ने, पाइप जडान गर्ने, सपोर्टको काम गर्ने र अप्टिकल फाइबर तथा सीसी क्यामेरा लगायत अनुगमन उपकरणको काम गर्ने भन्ने छ । विना प्रतिस्पर्धा काम पाएका उनीहरूले यसअघि नै काम थालिसकेका छन् । ती कम्पनीहरूलाई विना प्रतिस्पर्धा काम दिँदा आफ्ना मान्छेलाई जिम्मा दिएको आरोप आयोजना विकास समिति लगायत सम्बद्ध अधिकारीहरूमाथि लागेको छ । तर, पहिले नै काम गरिरहेका कम्पनीलाई नै काम दिइएकाले आरोप निराधार रहेको समितिको तर्क छ ।

२९ वर्षको सपना २०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासीका लागि ल्याउने घोषणा गरेका थिए । त्यसयताका हरेकजसो प्रधानमन्त्रीले मेलम्ची छिट्टै सम्पन्न हुने आश्वासन दिँदै आएका छन् । मेलम्चीदेखि सुन्दरीजलसम्मको २६ किलोमीटर सुरुङ हुँदै तत्काल १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजना छ । यस्तै, दोस्रो चरणमा मेलम्ची नदीनजीकका याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड लीटर गरी कुल ५१ करोड लीटर पानी काठमाडौं भित्र्याउने यो आयोजनाको लक्ष्य छ । विगत ३ दशकदेखि विभिन्न अन्तरराष्ट्रिय दातृ संघसंस्थाद्वारा विस्तृत अध्ययन र अनुसन्धानपछि काठमाडौंका लागि पानीको उत्कृष्ट स्रोत मेलम्ची नै भएको निष्कर्ष निकालिएको थियो । उक्त आयोजना कार्यान्वयनका लागि नर्वेली, स्वीडिस, जापानी संस्थाहरूका साथै विश्व बैंकले समेत विस्तृत अध्ययन गरेका थिए । आर्थिक वर्ष २०५५/५६ मा मेलम्ची खानेपानी विकास समिति गठन भयो । त्यसपछि सन् २००१ मा एशियाली विकास बैंकको १२ करोड अमेरिकी डलर स्वीकृत भएपछि विधिवत् रूपमा आयोजना अगाडि बढेको थियो । सन् २००२ मा सम्पन्न आयोजनाको विस्तृत अध्ययनबाट प्रारम्भिक लागत ४६ करोड ४० लाख अमेरिकी डलर थियो । आयोजनाको हेडवक्र्स र सुरुङ निर्माणको ठेक्का २०६५ सालमा चिनियाँ कम्पनी चाइना रेलवे कन्क्ट्रक्शन कर्पोरेशन (सीआरसीसी) लिमिटेडलाई दिइएको थियो । कार्यतालिका अनुसार काम नगरेको, सूचना दिँदा पनि सुधार गर्नुपर्ने ठाउँमा सुधार नगरेको लगायत कारण उल्लेख गर्दै २०६९ सालमा सीआरसीसीसँगको सम्झौता तोडियो । त्यसपछि बाँकी रहेको काम सम्पन्न गर्नेगरी आह्वान गरिएको नयाँ बोलपत्र मार्फत इटालियन कम्पनी सीएमसी छनोट भएको थियो । २०७० असार ३१ मा ठेक्का सम्झौता भएको सीएमसीले काम थालेको १ हजार ९५ दिनमा सम्पन्न गर्नुपर्ने म्याद तोकिएको थियो । उपकरण आयातमा समय लाग्दा सम्झौता भएको ६ महीनापछि मात्रै काम थालेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)