ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लौ न ! अलिकति प्रशंसा पाऊँ न !

Jun 28, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
सम्माननीय प्रधानमन्त्रीजयूको सम्मानमा केही आदरभाव झल्किने शब्दहरू यहाँ जोड्ने प्रयासमा छु । किनकि आदरणीय, पूजनीय, अनन्त श्रीयुक्त प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले अघिल्लो हप्ता मात्रै नेपाली मिडियाले आदरार्थी शब्दहरू बिर्सिएकोमा सम्झाइबक्सेको थियो । त्यस्तै उहाँले बेलाबेलामा मिडिया र विपक्षीले सरकारको प्रशंसा गरेनन् भनेर पनि भन्ने गरिबक्सेको छ । यो कुरा सोह्रै आना अर्थात् शतप्रतिशत ठीक हो । हुन पनि प्रशंसा गरेको कसलाई मन पर्दैन र ? यो त सबैलाई मन पर्ने कुरा हो नि, तपाईंलाई, मलाई, हाम्लाई, सबैलाई । हुन त अरूको कुभलो गर्ने कुरामा पनि प्रायः हामी खुशी नै हुन्छौं । तर पनि आफ्नो प्रशंसा गरेको चैं सप्पैलाई मन पर्छ । वास्तवमा अर्काको नराम्रो गर्नुभन्दा पनि बढी आनन्द आफ्नो प्रशंसा सुन्दा हुन्छ । त्यसैले आउनोस् प्रशंसै प्रशंसाका प्रशस्तिमा केही कुरा गरौं ।
यो गणतन्त्रको स्थापना भएपछि त झन् प्रशंसाको दायरा ह्वात्तै बढेको पाइएको छ । ‘पिर्के सलामी’ खाने वडाध्यक्ष वा ‘टेबुले सलामी’ लिने मेयरदेखि कतिओटा हो ‘तोपे सलामी’ लिने ठूला पदधारीसम्मका प्रशंसाका पुल बाँधिएका छन् ।
प्रशंसा यति आनन्ददायक हुन्छ कि यसको आविष्कार चैं भगवान्ले नै गरेको हुनुपर्छ । किनकि भगवान्का नाममा परापूर्वकालदेखि नै भक्ति, स्तुति, भजन धेरै नै पढ्न पाइन्छ । प्रशंसाका पर्यायवाची थुप्रै शब्द नेपाली व्यवसायी र नेताहरूले पनि प्रचलनमा ल्याएका छन् । जस्तै– भक्तिरस घोलेर वा गुलामी, जीहजुरी, चम्चागिरी, चाप्लुसीको जलप लगाएका शब्दभावहरूले सुसज्जित गरेर हिजोआज खासगरी पद, पैसा र पावर भएकाहरूलाई जताततै सम्बोधन गर्ने गरेको पाइन्छ । हिजोआज साँच्चै राम्रा गुणहरू भएका मानिस पाउने अवस्था कम भएकोले होला मानिसहरूलाई झूठो प्रशंसाले भए पनि काम चलाउनुपर्ने बाध्यता रहेको देखिन्छ । के अधिनायकतन्त्र, के राजतन्त्र, के प्रजातन्त्र वा लोकतन्त्र अथवा गणतन्त्रदेखि अहिले चलिरहेको भूmठतन्त्रसम्म प्रशंसाको महङ्खव उत्तिकै समान छ । पुरानो जमानामा प्रशंसा केवल देवीदेवताको हुन्थ्यो । पछि त्यो राजा महाराजामा सर्‍यो । तर हिजोआज प्रशंसा सबै क्षेत्रमा राम्रैसित झाँगिइसकेको छ । झन् राजनीति र काजनीति अर्थात् व्यावसायिक संस्थाहरूमा प्रशंसाविना कर्मचारीलाई काम गर्न उत्प्रेरित गर्न नसकिने भएको छ । जसरी समाजमा भ्रष्टाचार बेस्सरी झाँगिएको छ, फुलेको छ, त्यसैगरी प्रशंसा पनि जताततै व्याप्त छ । प्रशंसाविना न अफिस चल्छ, न घरमा चूलो बल्छ भन्नेजस्तो स्थिति बसेको छ । यसरी प्रशंसाको आगो सर्वत्र फैलिँदो छ । जताततै प्रशंसा नै प्रशंसाको लप्का भेटिन्छ । पसले आफ्नो सामानको प्रशंसा गरेर थाक्दैन । कर्मचारीले हाकिमको, मन्त्रीले प्रधानमन्त्रीको, प्रमले विदेशी नेताको । कवि सम्मेलनमा एउटा कविले अर्कोकोमा वाह ! वाह ! गरेजस्तो । यो गणतन्त्रको स्थापना भएपछि त झन् प्रशंसाको दायरा ह्वात्तै बढेको पाइएको छ । ‘पिर्के सलामी’ खाने वडाध्यक्ष वा ‘टेबुले सलामी’ लिने मेयरदेखि कतिओटा हो ‘तोपे सलामी’ लिने ठूला पदधारीसम्मका प्रशंसाका पुल बाँधिएका छन् । प्रत्येक वर्ष राष्ट्रपतिले बाँड्ने वा कतिपय संस्थाले थोकमा वितरण गर्ने विभिन्न आकार, प्रकारका पदक तथा पुरस्कारमा पनि प्रशंसा र प्रशस्तिको झलक राम्रै देख्न सकिन्छ । यो गणतन्त्रमा टोले नेताले झोले नेताको र झोले नेताले ठूलै नेताको प्रशंसामा ठूलै कसरत गरिरहेका हुन्छन् । परिणामस्वरूप हात पर्छ चुनावमा टिकट । त्यसपछि प्रशंसाको शृंखला सर्छ मतदाताको अघिपछि । आफ्नो तारिफ र विरोधीको विरोधपछि अन्तमा मतदाताको प्रशंसामा नेताले प्रशस्त शब्द खर्च गर्न थाल्छन् । ‘मतदाता विवेकी छन्, उनीहरूको निर्णय गर्ने क्षमता उत्कृष्ट छ, उनीहरू प्रजातान्त्रिक चेत भएका छन्’ आदिजस्ता प्रशंसाका पगरी लगाइदिएपछि मतदाता फेरि केही दिन दंग पर्छन् र नेताले सत्ता पुनः हात पार्छन् । यसरी प्रशंसाले चुनाव पनि जिताउँछ । त्यसपछि नेतालाई प्रशंसा गर्ने पालो आउँछ मतदाताकै । तर चुनाव जितिसकेपछि अर्को चुनाव नहुँदासम्म नेतासँग जाबो जनताको प्रश्न र प्रशंसा सुन्ने फुर्सद त कहाँ हुन्छ र ? तर प्रशंसाका फाइदै फाइदा छन् । अफिसमा बिदा चाहिए हाकिमलाई जुम्लाहा हातले दिनमा दुई÷चार चोटि नमस्कार गरे पुग्छ । बढुवा, विदेश भ्रमण आदि पड्काउनु छ भने चैं प्रशंसाको प्रयास अलि बलियो हुनुपर्ने हुन्छ । जस्तै– जुन हाकिमको जे कुरामा कमी छ, त्यसको ठीक उल्टो बोल्दिने । बेइमान हाकिमलाई इमानदार वा दुई वाक्य राम्रो पत्र लेख्न नजान्ने हाकिमलाई ‘सर त साह्रै राम्रो लेख्नुहुन्छ’ भन्देसि पुग्छ । त्यसपछि त खानोस् प्रमोशन र जानोस् छुट्टीमा । वास्तवमा यो युग नै प्रशंसाको युग हो । प्रत्येक उत्पादकले आफ्नो सामानको विज्ञापनमार्फत यति प्रशंसा गर्छ कि उपभोक्ता विज्ञापनमा बोल्नेसँग प्रभावित नरहन सक्दै सक्दैन र उत्पादन नकिनीकन उसलाई शान्ति पनि मिल्दैन । कहिलेकाहीँ प्रशंसाले मात्र काम चैं चल्दैन, प्रशंसाको पुल नै बाँध्नुपर्ने हुन्छ । प्रशंसाको पुल लामो हुने हो भने यी हाम्रा ठेक्दार र इन्जिनीयरहरूले बना’का पुलभन्दा बढी बलिया हुँदा रे’छन् । यो प्रशंसा भन्ने चीज मान्छेको मात्र कुरा छाड्नुस्, पशुपक्षीसम्मलाई पनि मन पर्ने हुँदो रै’छ । त्यै भएर त सुम्सुम्याएपछि गाईले पनि धेरै दूध दिने, कुकुर पनि इमानदार बन्ने । त्यसैले यो पंक्तिकार पनि बेलाबेलामा प्रशंसा पाउन लालायित हुन्छ । तर नेताले जस्तो आफ्नो प्रशंसा गरिमाग्ने कसरी ? हुन त अब प्रधानमन्त्रीले नै आदर, प्रशंसा मागेको बेलामा यो मनुवाले पनि थोरै प्रशंसाको आशा गर्दा के नै बिग्रेला र ? त्यसैले भन्छु कि ‘आउनुस् मेरो पनि अलिकति प्रशंसा गरिदिनुस् न है’ !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)