कर्णालीमा १४ हजार घरेलु तथा साना उद्योग : नयाँ प्रविधि भित्र्याउन समस्या
Jun 28, 2019
 
बजार
मुख्य खबर
सुर्खेत । कर्णालीका लघु, घरेलु तथा साना उद्योगमा नयाँ प्रविधि भित्र्याउन नसकिँदा उत्पादन बढ्न नसकेको उद्यमीहरूले बताएका छन् । प्रदेशका करीब १४ हजार लघु, घरेलु तथा साना उद्योगमा पारम्परिक प्रविधि नै प्रयोग भइरहेका कारण उत्पादन वृद्धि गर्न नसकिएको बुधवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनीहरूले उल्लेख गरेका हुन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर बिसीले कर्णालीका लघु तथा घरेलु उद्योगमा समयसापेक्ष नयाँ प्रविधि भिœयाउन नसक्दा उद्योग नै रुग्ण अवस्थामा पुगेको बताए । उनले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म करीब १३ हजार ७ सय ३० ओटा लघु, घरेलु तथा साना उद्यमीहरूले उद्योग नवीकरण गरे पनि प्रविधिको अभावले सोचेजस्तो उत्पादन नभएको उल्लेख गरे । उद्योग विभागको तथ्यांकलाई उल्लेख गर्दै उनले देशभर ४ लाख १८ हजार ५२ लघु, घरेलु तथा साना उद्योगमा रू. ४१ करोड १९ लाख ६ हजार लगानीसँगै २६ लाख ६ हजार ८६ जनाले रोजगारी पाइरहेको जानकारी दिए । ‘आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य पूरा गर्न लघु, घरेलु तथा साना उद्योगको स्तरोन्नति आवश्यक छ,’ उनले भने, ‘युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन लघु, घरेलु तथा साना उद्योगको स्तरोन्नति गरिनुपर्छ ।’
उनले सरकारले नै विशेष नीति बनाएर युवा जनशक्तिलाई रोजगारी दिन सकेमात्र देशले फड्को मार्ने दाबी गरे । उनका अनुसार तीनै तहका सरकारले आर्थिक समृद्धिका लागि घरेलु तथा साना उद्योगको विकासमा उल्लेखनीय कदम चाल्नुपर्छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले कर्णालीमा लघु, घरेलु तथा साना उद्योगको पर्याप्त सम्भावना हुँदाहुँदै पनि सरकारी नीति उद्योगमैत्री नभएकाले समस्या भइरहेको बताए । उनले देश संघीयतामा गइसकेकाले सरकारी स्तरबाटै लघु, घरेलु तथा साना उद्योगको स्तरोन्नतिका लागि विशेष रणनीति बनाएर अगाडि बढ्न सुझाव दिए । उनका अनुसार राज्यले भौतिक पूर्वाधार विकाससँगै प्रविधि विस्तारमा जोड दिनुपर्छ ।
कार्यक्रममा कर्णाली प्रदेशका दशओटै जिल्लाका नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, महासचिव तथा उद्यमीहरूको सहभागिता थियो ।