असार १४, वीरगञ्ज(अस) । भारतीय महावाणिज्य दूतावास वीरगञ्ज र ब्रम्हभूमि हेल्थ रिसर्च सेन्टर प्रालि सर्लाहीको संयुक्त आयोजनामा नेपाल र भारतमा आयुर्वेदको सम्भावना एवं चुनौतीका विषयमा अन्तरक्रिया भएको छ ।
शुक्रवार वीरगञ्जमा सम्पन्न भएको अन्तरक्रियामा नेपाल र भारत आयुर्वेदको केन्द्र भएर पनि सम्भाव्यता सदुपयोग हुन सकेको बताइएको छ । अन्तरक्रियाको उद्घाटन सत्रमा महावाणिज्यदूत बीसी प्रधानले परापूर्व कालदेखि नै उपचार पद्धतिमा आयुर्वेदको महत्व रहिआएको बताए । हिमालय क्षेत्र जडिबुटीको उद्गम भएकोले यहाँ यसको सम्भाव्यता अधिक रहेको उनले उल्लेख गरे ।
अल इण्डिया इन्स्टीच्युट अफ आयुर्वेदका डीन प्राडा पीके प्रजापतिले आयुर्वेदको सम्भावना उपयोगका लागि नेपाल र भारतका सम्बद्ध निकायबीच सहकार्यको आवश्यकता औंल्याए । मानव जीवनमा आयुर्वेदको उपयोग अभिवृद्धिका लागि रणनीतिक योजना बनाउनुपर्नेमा उनको जोड थियो ।
वाणिज्यदूत विनोदकुमार लोसालीले आयुर्वेदको उपयोग र प्रवर्द्धनमा अन्तरक्रिया फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा आयुर्वेद विज्ञानका क्षेत्रमा कार्यरत नेपाल र भारतका करीब १०० जनाको सहभागिता थियो ।