ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशमा भन्दा स्वदेशमा अवसर : उद्योग व्यवसायमा युवापुस्ताको क्रेज

Jun 30, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार १५, चितवन । युवापुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । पुस्तौनी व्यापारदेखि नयाँ उद्योग, कलकारखाना र व्यापारमा युवाको संख्या बढ्दै गएको छ । विदेशमा सिकेको सीप र स्वदेशमा नै व्यवसायमा काम सिकेर आफैंले व्यापार गर्ने पनि बढ्दै गएका छन् । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष दाताराम घिमिरेका अनुसार सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेको घिमिरे बताउँछन् । सरकारले युवा उद्यमीलाई लक्षित गरी अहिलेको दर्ता प्रक्रियाको झण्झटिलो अवस्था सहजीकरण गरिदिने, ऋणमा अनुदान दिने, युवालाई उत्प्रेरणा दिन सकेमा युवाको आकर्षण नेपाल बन्ने घिमिरेको ठम्याइ रहेको छ । मञ्चका निवर्तमान अध्यक्ष नीरञ्जन न्यौपाने उद्योग व्यवसायमा अहिले ७५ प्रतिशत युवा रहेको बताउँछन् । विदेशमा सिकेको सीपलाई यहाँ फर्किएर उद्योग व्यवसाय गर्नेको संख्या बढ्दै गएको न्यौपानेको भनाइ छ । वैदेशिक रोजगारतर्फको आकर्षणभन्दा यहीं केही गरौं भन्ने भावनाको विकास हुँदै जाँदा पनि युवा उद्यमी व्यवसायी बन्दै गएको देखिन्छ । न्यौपाने सरकारले उद्योग व्यवसायको सुपरीवेक्षण गरी आवश्यक सहयोग गर्ने र युवा उद्यमीलाई परियोजनाका आधारमा लगानी गरेर ब्याजमा अनुदान दिन सकेमा विदेश जाने युवाको संख्यामा कमी आउने बताउँछन् । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानका अनुसार राजनीतिक अन्योल हटेसँगै उद्योग व्यवसाय सञ्चालन गर्नेक्रम बढेकाले युवाको आकर्षण बढाएको हो । लगानीको वातावरण बन्दै जाँदा युवा आकर्षित बन्दै गएका छन् । उनी लगानीको सुरक्षा सरकारले गरी दिनुपर्ने भन्दै सहयोग गर्न सकेमा स्वदेशमा युवाको लगानी बढेर जाने बताउँछन् । स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने भावनाको विकास युवामा हुन थालेको प्रधानको भनाइ छ । उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले संघमा पछिल्लो समय ४० जना नयाँ उद्यमी थपिएको बताए । विदेशमा हुने दुःखका बारेमा जानकारी भएसँगै यही केही गर्नुपर्छ भन्ने भावनको विकास युवामा हुन थालेको उनको भनाइ छ । युवामा राष्ट्रवादको भावनाको विकासले पनि यही उद्योग व्यवसाय गर्ने क्रम बढेको पौडेलको धारणा छ । उत्पादनका आधारमा ब्याजमा अनुदान दिन सकेमा युवा थप आकर्षित हुने उनको बुझाइ छ । स्वदेश फर्किएर आफूले जानेको सीपअनुसार काम गर्नेको संख्या जिल्लामा उल्लेख्य बढ्दै गएको छ । स्वदेशकै उद्योग व्यवसायमा काम सिकेर आफैं उद्यमी बन्ने युवाको संख्या पनि दिनानुदिन बढ्दो छ । नारायणगढको भेटघाट रेष्टुरेन्टमा १० वर्ष काम गरेका स्थानीय कृष्ण भट्टले त्यहीको अनुभवले दुई ओटा होटल सञ्चालनमा ल्याएका छन् । भट्टले भने, ‘मेहनतका साथ काम गर्‍यो भने यहीं धेरै गर्न सकिन्छ ।’ युवा उद्यमी मञ्चका वरिष्ठ उपाध्यक्ष कृष्ण सापकोटा बुबाको पुरानो व्यवसायलाई विस्तारका क्रममा जुटेका छन् । उनको बुबाले थालेको नारायणगढको वैष्णव मिष्ठान्न भण्डारको शाखा विस्तार गर्दै सापकोटाले चार ओटा पुर्‍याएका छन् । युवाले अवसर पाए भने गर्न सक्छन् भन्ने गतिलो उदाहरण सापकोटाले पनि दिएका छन् । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)