ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२१ मुलुकसँग व्यापार नाफा तर व्यापारघाटा बढेको बढ्यै

Jul 1, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । नेपालले हाल १५७ मुलुकसँग वैदेशिक व्यापार गर्दै आए पनि २१ मुलुकसँग मात्रै द्विपक्षीय व्यापार नाफामा छ । मुलुकको वैदेशिक व्यापारमा सानो अंश राख्ने यी मुलुकहरूसँगको व्यापार नेपालको पक्षमा भए पनि त्यसले समग्र व्यापार सन्तुलनमा भने खासै योगदान पुर्‍याएको छैन । यसो हुनुका पछाडि नेपालको वैदेशिक व्यापारमा ठूलो अंश ओगट्ने मुलुकहरूसँगको व्यापारघाटामा रहनु नै मुख्य कारण हो । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार द्विपक्षीय व्यापार नेपालको पक्षमा अर्थात् नाफामा भएका मुलुकहरूमा नर्वे, आइसल्यान्ड, रुवान्डा, इस्टोनिया, अफगानिस्तान, अल्जेरिया, पानामा लगायत छन् । यी मुलुकसँग द्विपक्षीय व्यापार पछिल्ला वर्षमा बढे पनि निर्यातको परिमाण न्यून रहेकाले त्यसले समग्र व्यापारघाटा न्यूनीकरणमा तात्त्विक परिवर्तन ल्याएको छैन । तथ्यांकले देखाउँछ, अफगानिस्तान र अल्जेरियामा पशु भ्याक्सिन बढी निर्यात भएको छ भने पानामामा ऊन र इस्टोनियामा गितारमा प्रयोग हुने सामग्री नेपालबाट बढी निर्यात हुन्छ । यद्यपि, यी मुलुकमा नेपाली निर्यात करोडकै आसपासमा छ । भन्सार विभागको आँकडा अनुसार अल्जेरिया र अफगानिस्तानमा क्रमश रू. ८ करोड ४६ लाख र रू. २ करोड २८ लाख बराबरको भ्याक्सिन चालू आव २०७५/७६ मा निर्यात भएको छ । विभागको तथ्यांकले देखाउँछ, नेपालका प्रमुख व्यापार साझेदारहरूसँगको द्विपक्षीय व्यापार अत्यधिक घाटामा छ । नेपालका १० प्रमुख व्यापारिक साझेदारहरू सबैसँग मुलुकको द्विपक्षीय व्यापारघाटामा छ । मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँगको व्यापारघाटा चालू आव २०७५/७६ मा रू. ७ खर्ब ८५ अर्ब पुगेको छ । चालू आवको पहिलो ११ महीनामा नेपालले भारततर्फ रू. ५६ अर्ब ५९ करोड बराबरको वस्तु निकासी गर्‍यो भने रू. ८ अर्ब ४१ अर्बको सामान आयात ग¥यो । त्यस्तै परिदृश्य दोस्रो ठूलो साझेदार चीनसँगको व्यापारमा पनि छ, जोसँग घाटा रू. १ खर्ब ८४ अर्ब पुगेको छ । त्यस्तै, कुनै समय नेपालको पक्षमा रहेको अमेरिकासँगको द्विपक्षीय व्यापार अहिले घाटामा छ । पूर्ववाणिज्य सचिवसमेत रहेका व्यापारविज्ञ पुरुषोत्तम ओझा अमेरिकाले दिएको भन्साररहित बजार प्रवेशको सुविधालाई सही रूपमा नेपालले उपयोग गर्न नसक्दा सो मुलुकसँग व्यापारघाटा बेहोर्नुपरेको बताउँछन् । भन्सार विभागको तथ्यांक अनुसार चालू आव २०७५/७६ को पहिलो ११ महीनामा व्यापार घाटा गत आर्थिक वर्षको तुलनामा १७ दशमलव ४० प्रतिशतले वृद्धि भई रू. १२ खर्ब ११ अर्ब पुगेको छ । यस अवधिमा नेपालले कुल रू. १२ खर्ब ९९ अर्ब ८० करोड बराबरको वस्तु आयात गरेको थियो भने निर्यात मात्र रू. ८७ अर्ब ८३ करोडको भयो । बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ, आइरन र स्टील, मेशिनरी, सवारीसाधन, इलेक्ट्रोनिक सामान, सुन, लुगाकपडा, हवाईजहाजका पार्टपुर्जा लगायत पर्छन् । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि आउन नसक्दा मुलुकको व्यापारघाटा पछिल्लो समय बढ्दै गएको अर्थशास्त्री केशव आचार्य बताउँछन् । मुलुकमा इन्धन र गाडीको पछिल्लो समय आयात बढिरहे पनि सरकारले विकल्प खोज्न नसकेको उनको बुझाइ छ । आचार्यका अनुसार उत्पादनमुखी अर्थतन्त्रको विकास नहुँदासम्म व्यापारघाटा चुलिँदै जानेछ । पछिल्लो समय सरकारले व्यापारघाटा न्यूनीकरण गर्न भन्दै ४० पृष्ठको राष्ट्रिय कार्ययोजना अगाडि सारेको छ । तर, प्राथमिकीकरण नगरी एकैफेर सबैथोक लागू गर्न खोजिँदा कार्ययोजनाको कार्यान्वयनमा संशय देखिएको जानकारहरूको बुझाइ छ । पूर्वसचिव ओझाका अनुसार नेपाल अमेरिकाका लागि निर्यातको हिसाबले धेरै महत्त्वपूर्ण देश हो । ‘ट्रेड प्रिफरेन्स प्रोग्राम’ अन्तर्गत अमेरिकाले दिएको भन्सार सुविधा र वस्तु निर्यातको प्रक्रियाबारे नेपाली व्यवसायीलाई सरकारले बुझाएर यसको उपयोग गरी व्यापारघाटा न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्छ,’ उनी भन्छन् । अमेरिकाले सन् २०१५ डिसेम्बरदेखि थप ६६ वस्तुमा भन्साररहित पहुँच दिएको थियो । यो सबै अतिकम विकसित मुलुकलाई दिइएको जीएसपी सुविधाभन्दा बाहिर हो । ट्रेड प्रिफरेन्स कार्यक्रम अन्तर्गत गलैंचा, सल, स्कार्फ, लगेज ब्याग, हातेझोला, कम्बल, टोपी, पन्जा लगायत नेपाली उत्पादनले सन् २०२५ डिसेम्बरसम्म बिनाभन्सार अमेरिकी बजारमा प्रवेश पाउने उल्लेख छ तर त्यसको उपयोग हुन सकेको छैन । उक्त सुविधा प्राप्तिका लागि सूचीमा रहेको उत्पादन तेस्रो मुलुकको बजार प्रक्रियामा प्रवेश नगरी नेपालबाट सोझै अमेरिका निर्यात गर्नुपर्ने नियम छ । उक्त वस्तु नेपालमा उत्पादन हुन अनिवार्य छ साथै कम्तीमा ३५ प्रतिशत मूल्य अभिवृद्धि पनि हुनैपर्ने व्यवस्था गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)