ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० अर्ब पूँजी थप्न नेवानिको माग

Jul 2, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले रू. २० अर्ब पूँजी थप्न सरकारसँग माग गरेको छ । सरकारले भने ठोस योजनाविना पूँजी वृद्धि गर्न नसकिने स्पष्ट पारेको छ । निगमको ६१औं वार्षिकोत्सवका अवसरमा सोमवार आयोजित समारोहमा पनि निगम नेतृत्वले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूँजी वृद्धिका आग्रह गर्‍यो । तर, प्रधानमन्त्री ओलीले त्यसका लागि ठोस योजना आवश्यक रहेको प्रस्ट्याउनुभयो । ‘यथास्थितिमै निगमलाई रकम दिन सकिँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । निगमलाई नाफामा लैजाने ठोस योजना ल्याउन पनि निगम नेतृत्वलाई उहाँले निर्देशन दिनुभयो । ‘यो कुनै दानपुण्य वा निःशुल्क स्वास्थ्य शिविर गर्ने सामाजिक संस्था होइन, व्यावसायिक संस्था हो,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘आपूmलाई टिकाउने योजना यो संस्थासँग हुनुपर्छ । घाटामा गयो भन्दैमा साग बेच्ने र किराना पसल चलाउनेहरूले तिरेको कर निगमलाई दिन सकिँदैन ।’ निगम हाल रू. ३७ अर्ब ऋणमा छ । एयरबसका दुई न्यारो र दुई वाइड बडी विमान खरीदका क्रममा कर्मचारी सञ्चय कोष लगायतसँग लिएको ऋणको किस्तासमेत निगमले तिर्न सकेको छैन । सोही ऋण तिर्न निगम नेतृत्वले सरकारसँग पूँजी वृद्धिको माग गर्दै आएको छ । ‘जहाज चढ्ने र चढाउने सबै फाइदामा रहँदा बोक्ने जहाज मात्र किन घाटामा गएको हो ?’ प्रधानमन्त्री ओलीले व्यवस्थापनसँग प्रश्न गर्नुभयो । निगम व्यवस्थापन मात्र होइन, कर्मचारी युनियनका नेताहरूले पनि निगमलाई माथि उठाउन विमान थप्नुपर्ने माग गर्दै आएका छन् । पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री ओलीले भने भएका जहाज उडाउन नसक्नेले जहाज थपौं भन्नु जायज नभएको बताउनुभयो । ‘सरकार सहयोग मात्र होइन, काँध थाप्न तयार छ । जहाज थपौं, नयाँ गन्तव्य उडान गरौं, तर भएका जहाज विमानस्थलमा लडाएर फेरि थपौं भन्दैमा सरकार आँखा चिम्लेर काँध थाप्न तयार छैन,’ प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो, ‘अरू कम्पनीका जहाज आकाशमा उडिरहँदा निगमका जहाज विमानस्थल पार्किङमा थन्केको मैले देखिरहेको छु ।’ आन्तरिक उडानका लागि निगमसँग हाल ४५ वर्ष पुराना तीनओटा ट्वीनअटर जहाज छन् । चीनमा निर्मित वाई–१२ ‘ई’ सिरिजका चार र एमए–६० मोडलका दुई जहाज छन् । भारवहन क्षमता कमजोर रहेकाले ती जहाज पहाडी गन्तव्यका लागि उपयुक्त नरहेको निगमले बताउँदै आएको छ । यस्तै, अन्तरराष्ट्रिय गन्तव्यका लागि एक बोइङ–७५७, दुई एयरबस–३२०–२०० (न्यारोबडी) र दुई एयरबस–३३०–२०० (वाइडबडी) विमान छन् । निगमले पहाडी गन्तव्यका लागि क्यानाडाको भाइकिङ कम्पनीका ६ तथा ट्रंक रुटका लागि बम बार्डियर र एटीआरमध्ये एक कम्पनीका दुई जहाज तथा अन्तरराष्ट्रिय उडानका लागि दुईओटा न्यारोबडी विमान आवश्यक रहेको निगमले बताउँदै आएको छ । कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगम घाटामा गएको नभई जहाज किन्दाको ऋण भुक्तानीको सहजीकरणका लागि सरकारसँग रकम माग गरिएको बताए । ‘निगमले अहिले माग गरेको २० अर्ब रुपैयाँ सरकारले पूँजीका रूपमा दिएमा विमान किन्दा लिएको १८ अर्ब रुपैयाँ ऋणको ५० प्रतिशतजति भुक्तानी गर्न सकिनेछ,’ खरेलले भने, ‘बाँकी २ अर्ब रुपैयाँबाट ओभर ड्राफ्टको भुक्तानी गर्न सकिनेछ । त्यसबाट भविष्यमा बुझाउनुपर्ने साँवा र ब्याजमा उल्लेखनीय रूपमा कमी आउनेछ र निगमलाई आर्थिक रूपमा सबल बनाउन सकिनेछ ।’ निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन तथा अन्तरराष्ट्रिय गन्तव्यमा सेवा विस्तार गर्न ५ वर्षभित्र कम्तीमा २५ ओटा जहाज थप्नुपर्ने र त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालले चिनियाँ जहाजका कारण निगम समस्यामा परेको बताउँदै ती जहाज नेपाली सेनालाई चलाउन दिन प्रस्ताव राखे । ६१ वर्षअघि डीसी–३ डकोटा जहाजबाट उडान थालेको निगमले हाल एयरबस र बोइङका पाँचओटा विमानमार्पmत ६ देशका आठओटा गन्तव्यमा उडान गर्दै आएको छ । यस्तै, ६ ओटा चिनियाँ तथा तीनओटा एचडीसी–६ ट्वीनअटर जहाजले देशभित्रका २२ गन्तव्यमा उडान गरिरहेका छन् । अन्तरराष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको एक मात्र बोइङ–७५७ विमान विक्रीका लागि निगमले टेन्डर प्रक्रिया शुरू गरेको छ । निकट भविष्यमा चीन, जापान र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने निगमको योजना छ । त्यसबाहेक निगमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा पनि दिँदै आएको छ । ग्राउन्ड ह्यान्डलिङबाट निगमले राम्रो आम्दानी गर्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)