असार १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।
उनले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जीप सञ्चालनमा रोक लगाउन लागिएको बताए । निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात ओटा जीप निकुञ्जमा छिर्ने गर्दछन् । ती जीपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।
निकुञ्ज प्रवेशबापत एउटा जीपले एकपटकमा रू.५ हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रू.१५०, सार्क मुलुकका पर्यटकले रू.१ हजार र विदेशीले रू.२ हजार राजस्व बुझाउने गर्दछन् । ढकालले दशैं अगाडि भित्री सडक मर्मत गरी जीप सञ्चालनको अनुमति दिइने जानकारी दिए ।
निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ । यस वर्ष जेठसम्ममा रू. २७ करोड राजस्व संकलन भइसकेको छ । हरेक वर्ष २ लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् । रासस