ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय व्यापार युद्धको असर : सुनको मूल्य बढ्यो कारोबार घट्यो

Jul 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । मूल्य अत्यधिक मात्रामा बढेपछि नेपालमा सुनको कारोबार घटेको छ । कारोबार घटेपछि गहना किन्ने ग्राहकको संख्यामा कमी आउँदा सुन व्यवसायी पनि मर्कामा परेका छन् । विगतका वर्षमा यस मौसम (जेठ/असार/साउन) मा दैनिक ४० देखि ४५ केजीसम्म सुन नेपाली बजारमा खपत हुने गरेको थियो । हाल सुनको भाउ बढेपछि दैनिक १० देखि १५ केजीसम्म मात्र खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए । गत साता नेपालमा छापावाला सुनको मूल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुग्यो । असार १० (आइतवार) गते सुनको मूल्य प्रतितोला रू. ६५ हजार ५ सय थियो, जुन हालसम्मकै सबैभन्दा बढी हो । यसअघि सुनको मूल्य प्रतितोला रू. ६३ हजार ३ सयसम्म पुगेको थियो । २०७० भदौ १२ र गत फागुन ८ गते सुनको मूल्य सो विन्दुमा पुगेको थियो । २०७३ मा भने सुनको मूल्य प्रतितोला रू. ४७ हजार २ सयसम्म झरेको पाइन्छ । यस हप्ता पनि सुनको मूल्य प्रतितोला रू. ६५ हजारबाट शुरू भएर मंगलवारसम्म आउँदा रू. ६४ हजार ५ सयमा झरेको छ । तर, मूल्यमा अस्थिरता र ग्राहकको कमीलेसुनको कारोबारमा भने सुधार आउन सकेको छैन । सुनका गरगहना किन्ने भन्दा उल्टै विक्री गर्ने ग्राहकको संख्या बढेको व्यवसायीहरू बताउँछन् । यस अवस्थामा आफूले विक्री गरेको गरगहना मात्र खरीद गर्ने गरेको उनीहरूको भनाइ छ । महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार अहिले नयाँ गहनाको निर्माण र विक्री लगभग ठप्प छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले ग्राहकहरू आवश्यक परेमा मात्र सुन किन्न आउने गरेको बताए । नयाँ गहना चाहिने ग्राहकले पनि आफ्नै सुन अथवा पुुराना गहना लिएर आउने गरेको उनको भनाइ छ । राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका महासचिव खेम तिरुवाले बैंकमा रहेको सुन खरीद गर्न सक्ने अवस्था नभएको बताए । व्यवसायीले बैंकबाट मात्र सुन खरीद गरेर कारोबार गर्न पाउने व्यवस्था छ । बागलुङका सुन व्यवसायी कविराज सुनारले मूल्य बढेपछि जिल्ला स्तरमा पनि सुनको कारोबार खस्किएको बताए । नेपाली बजारमा सुनको मूल्य अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । विगत केही महीनादेखि शुरू भएको अमेरिका र चीन बीचको व्यापार युद्ध अझै साम्य भएको छैन । साथै, पारमाणिक सम्झौताको विषयमा अमेरिका र इरानबीचको विवाद लगायतका कारणले पनि विश्व अर्थतन्त्र तथा शेयर बजारमा ह्रास आइरहेको छ । त्यसपछि शेयर बजारका लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, जसका कारणले विश्वबजारमा नै सुनको मूल्य बढेको छ । त्यसको प्रभावले नेपालमा पनि सुनको मूल्य आकाशिएको पूर्वअध्यक्ष शाक्यको भनाइ छ । मंगलवार साँझ ७ बजेसम्म अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ३९१ डलर ५७ सेन्ट रहेको छ । गत असार १० गते भने अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश १ हजार ४१४ डलर ९० सेन्ट सम्म पुगेको थियो, जुन सन् २०१३ मे १४ यताकै उच्च हो । एक औंशमा २८ दशमलव ३५ ग्राम सुन हुन्छ । हालै जापानमा सम्पन्न शक्तिशाली २० राष्ट्रको सम्मेलनपछि भने विश्व अर्थतन्त्रमा सुधार आउने देखिएपछि सुनको भाउ घटेको जानकारहरू बताउँछन् । महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यले अमेरिका र चीनको व्यापार युद्ध र इरान र अमेरिकाबीचको विवाद कायमै रहेमा नेपालको सुनचाँदी व्यवसायी संकटमा पर्नेे बताए । उनले भने, ‘अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिङफिङ बीचको भेटवार्ताले विश्व अर्थतन्त्रमा सुधार आउने देखिन्छ । तर, उनीहरूको ठोस निर्णय सार्वजनिक नहुँदा अन्योल भने कायमै छ ।’ चालू आर्थिक वर्ष (आव) २०७५/७६ को शुरूदेखि नै विश्व बजार र नेपालमा सुनको मूल्यमा उतावचढाव कायम नै छ । तर, सुन आयातमा भने कमी देखिएको छैन । गत आव २०७४/७५ मा नेपालमा रू. ३२ अर्ब २० करोडको सुन आयात भएको थियो, तर चालू आवको १० महीनामा नै रू. २९ अर्ब ४४ करोडको सुन आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)