नेता एक खास प्रकारका स्तनधारी मनुष्यजस्तै दुई खुट्टा, दुई हात भएका र ठाडो उभिने प्राणी हुन्, जो देशका हरेक कुना–काप्चासम्म पाइन्छन् । तिनका अनुहार मानिसहरूसँग ठ्याक्कै मिल्छ । तिनलाई जनताको टाउकोमा चढ्न र सभा, गोष्ठीहरूको मैदानमा दौडन साह्रै मन पर्छ । उनीहरू देशमै रहेका बेला गर्मीमा प्रायः पहाड नभए केन्द्रीय राजधानी नेपाल खाल्टोतिर र जाडोमा तराईतिर विचरण गरिरहेका भेटिन्छन् ।
यिनीहरूको खुट्टाचैं हुन्छ, तर प्रायः हिँड्नै सक्तैनन् । त्यसैले यिनीहरू कि त सडकमा गुड्छन् कि त आकाशमा उड्छन् । यिनीहरूलाई हवाईजहाजको हावा र अरू देशको चरण खुबै मन पर्छ ।
हेर्दा चैं नेता भन्ने जीव सामान्य नै देखिन्छन् । तर, उनीहरू वास्तविक रूपमा असामान्य र अझ खतरनाक पनि हुन्छन् । मानसिक रूपमा खतरनाक भए तापनि शारीरिक रूपमा भने यिनीहरू साह्रै कमजोर हुन्छन् । सामान्य रुघाखोकी लाग्दा पनि यिनीहरू देश देशावरतिर उडिहाल्छन् । खानेकुरामा यिनीहरू साह्रै शौखिन हुन्छन् । उनीहरूलाई होटल, रिसोर्टमा बसेर पाएसम्म विदेशी झोल र स्वदेशी संकटापन्न वन्यजन्तुको चोक्टा लुछ्न साह्रै मन पर्छ । त्यो नपाएमा स्वदेशी झोल र ब्रोइलर भए पनि चाहिन्छ । आफ्ना वासस्थानमा पनि यिनीहरूलाई सकेसम्म अरू मुलुकबाट मगाइएका फलपूmल, मिष्ठान्न आदि अत्यधिक मन पर्छ । तर त्यतिले पनि उनीहरूलाई पुग्दैन । उनीहरू रुपैयाँ, डलर, यूरो आदि खोजीखोजी खान्छन् । अनि पुल, सडक, सिमेन्ट, छड जस्ता पदार्थहरू पनि खाएर सजिलै पचाउँछन् ।
यिनीहरूको खुट्टाचैं हुन्छ, तर प्रायः हिँड्नै सक्तैनन् । त्यसैले यिनीहरू कि त सडकमा गुड्छन् कि त आकाशमा उड्छन् । यिनीहरूलाई हवाईजहाजको हावा र अरू देशको चरण खुबै मन पर्छ । फर्किंदा जहाजखानामा पूmलमाला लिएको भीड देखिएन भने उनीहरूको चित्त कुँडिन्छ । कतै सभासमारोहमा पनि रातो प्रकारको कपडा वा कार्पेट ओछ्याएको ठाउँबाटै हिँड्न मन पराउँछन् । त्यसैले यिनीहरू उभिने ठाउँ मानिसहरूभन्दा केही अग्लो स्थानमा हुनुपर्छ । बस्दाखेरि पनि यिनीहरू पलेटी मारेर वा सामान्य कुर्सीमा बस्नै सक्तैनन् । उनीहरूलाई अग्लो, भव्य प्रकारको सोफाकै आवश्यकता पर्छ ।
यिनीहरू सामूहिकतामा काम गर्न र समूहमा बस्नै सक्तैनन् । यिनीहरू विना प्रशंसाका आवाजहरू पनि सुन्नै सक्तैनन् । यिनीहरू यति असहिष्णु र घमण्डी हुन्छन् कि, यिनीहरू आफूले सोचेका वा गरेका जस्तोसुकै कामबारे प्रशंसाबाहेकका एक शब्द पनि सुन्नै सक्तैनन् । अर्को कुरा, यिनीहरू आफ्नो पद र प्रतिष्ठा कहीँकतैबाट पनि कम भएको देख्नै सक्तैनन् । यो प्राणीको सबैभन्दा ठूलो विशेषता त के हो भने यिनीहरू आफ्ना पछाडि भीड भएको खुब मन पराउँछन् । तर यी कुनै कारणवश कसैभन्दा पछि उभिन मात्र परे पनि त्यो सहनै सक्तैनन् । यिनीहरू अर्को पक्षको त अस्तित्वसमेत स्वीकार गर्न कहिल्यै सक्तैनन् ।
झन् जात, भात, धर्म, सम्प्रदाय, आफ्नो क्षेत्रका विषयमा क्यै कुरा उठ्यो भने यो प्राणी बहुलाउन थाल्छ र यो कुनै खुला तर अग्लो ठाउँमा गएर औंलो ठड्याएर चिच्याउन, कराउन थाल्छ । आधुनिक उपकरणहरूमा अभ्यस्त हुँदै गएकाले होला, हिजोआज भने यो कुनै भिडियो क्यामेराको अघि पर्यो भने पनि कुर्लन शुरू गरिहाल्छ । टेबुल ठोक्न थाल्छ र खुट्टा भुइँमा बजार्न थाल्छ । यो देखेर उसका पिछलग्गुहरूले उसका अगाडि पानी, चिया वा दूध केही राखिदिन्छन् । तर ऊ कराउन छाड्दैन । कहिलेकाहीँ अति भएपछि यो प्राणीलाई लगेर अँध्यारो कोठामा थुन्दिछन्, त्यो पनि यिनका आफ्नैै जातकाले । केही दिनपछि यिनको राम्रो दानापानी र खुला मैदानको सुविधा हटेपछि गल्लीको कुकुरसरह हुन पुग्छन् । यसमध्ये केही भने बाहिर निस्कँदा गालाभरि रौं र हातमा किताब लिएर निस्कन्छन् । यो प्राणीसँग खुराफाती बुद्धि अत्यधिक भए पनि विवेक, धैर्य, सहनशक्ति भन्ने कुरा चाहिँ कत्ति पनि हुँदैन र यसका पछि उभिनेहरूसँग त झन् यसै हुने कुरै भएन ।
नेता भन्ने नामधारी प्रायः प्राणीलाई आलिशान भवन, अघिपछि गर्ने केही जवानविना जीवन बाँच्नै मुश्किल पर्छ । यो प्राणीलाई श्रम भन्ने कुरा पनि हुन्छ भन्ने पत्तै हुँदैन । यताउती डुल्यो, बकबक गर्यो, हिँड्यो । यो प्राणी बाहिर एउटा देखिन्छ, तर भित्र अर्कै हुन्छ । किनकि ऊ घरभित्र र घर बाहिर गरेर दुईटा जीवन बाँचिरहेको हुन्छ, एक प्रकारको खुट्याउन गाह्रो हुने मुखुन्डो लगाएर । जो मानिसले यो कुरा थाहा पाएका हुँदैनन्, उनीहरू सधैं धोका पाउँछन् । किनकि यसको हात परेको बेलामा कहिलेकाहीँ यसले आफ्ना जातकालाई ढुकुटीबाट ‘लखनऊ लुट’ गराइहिँडेको पनि हुन्छ । यिनीहरू राज्यको सम्पूर्ण स्रोत आफ्नै त हो जस्तो गरेर आफ्ना लागि मात्र सबै थोक सोहर्न थाल्छन् ।
यिनीहरू केवल एक चिजलाई प्रेम गर्छन्, त्यो हो मानिससँगको पैसा । तर यिनीहरूलाई कसैले लेनदेनको हिसाबकिताबको कुरा गरेको मन पर्दैन । यिनीहरू मानिसको पद, पेशा र पैसा आदि अनुसार उनीहरूसँग व्यवहार गर्छन् । सामान्य मानिसलाई यिनीहरू प्रायः चिन्दैनन् र उनीहरूलाई कुनै प्रकारको जवाफ दिने आवश्यकता कहिल्यै ठान्दैनन् । शायद त्यसैले पनि नेताहरू यस्ता रंगरंगका पोशाक लगाउँछन्, जसको रंग परिस्थिति हेरेर आफै परिवर्तन भइरहन्छ । फेरि यिनीहरू आफूलाई अर्कै ग्रहबाट पृथ्वीमा झरेको ठान्छन् ।
नेताहरू सयौं आकार प्रकारका हुन्छन् । यी भाले पोथी दुवै जातका हुन्छन् । तर भाले जातको भने अधिक बाहुल्य छ । नेपालमा यी कोही सिंहदरबारमा कोही बालुवाटारमा त कोही नयाँ बानेश्वरमा पाइन्छन् र अहिले थप नेता गाउँगाउँका सिंहदरबारमा पनि बग्रेल्ती छन् । कुनै नेता कलेजमा, कुनै नेता फलेकमा, कोही नेता नयाँ द्वन्द्वको सृजनामा व्यस्त, कोही नेता देश, भूगोल जेजे सकिन्छ बिगार्नमा मस्त । कोही नेता पार्टीमा, कोही नेता मान्छेका छातीमा गोली दाग्न तम्तयार छन् । कोही मार्सीमा, कोही होली वाइनमा, कोही आइफामा त कोही कहाँ । यिनीहरू जताततै छन् ।
यिनीहरूमा सधैं एउटा ठूलै भ्रम हुन्छ– आफैले देश र समाजको रथ हाँकेको छु भन्ने । वास्तवमा देश सर्वसाधारण मानिसले चलायमान बनाइरहेका भए पनि उनीहरूमा समेत गजबको भ्रम हुन्छ कि, देश त नेता भन्ने प्राणीले नै चलाइरहेको हो । त्यसैले सामान्यजन यी प्राणीहरूलाई देख्नासाथ भगवान्जस्तै ठानेर हजारौं किलोका फूलमाला लिएर यिनलाई भेट्न लामबद्ध हुन्छन् । अरू देशमा पनि नेता भन्ने प्राणी त हुन्छन्, तर हाम्रोमा जस्तो उच्छृंखल र समाजका लागि अनुत्पादक चैं प्रायः कहीँ पनि छैैनन् । अर्को कुरा, अरू देशमा नेताका संख्या स्थिर छ भने नेपालमा यो प्रजातिको संख्या वर्षेनि यसरी बढ्दै गएको कि, यसको संख्या समयमै नियन्त्रण गर्न सकिएन भने सामान्य मानिसका लागि यो निकै बोझ र खतरा सावित हुने स्पष्ट भइसकेको छ ।