विषादी परीक्षण नगर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Jul 10, 2019
 
समाचार
मुख्य खबर
असार २५, काठमाडौं(अस) । भारतबाट पैठारी गरिने तरकारीमा विषादी जाँच नगर्ने सरकारी निर्णय हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा बुधवार अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले यही असार ३० गतेसम्म विषादी परीक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने सम्वन्धमा असार ३० गते सरकार पक्ष र रीट निवेदकवीच छलफल हुनेछ ।
सरकारले असारको पहिलो साता भारतबाट आउने तरकारी जन्य पदार्थमा विषादी जाँच गराउने निर्णय गरेको थियो । त्यस निर्णयलाई उल्ट्याई मन्त्रिपरिषदले यही असार १८ गते विषादी परिक्षण नगर्ने निर्णय गरेको थियो ।
सो निर्णय विरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल(स्वागत नेपाल) लगायतले रिट निवेदन दायर गरेका थिए । रिट निवेदकका तर्फबाट भद्रप्रसाद नेपाल,बिष्णु प्रसाद तिवारी, पदम बहादुर श्रेष्ठ र विकास भट्टराईले बहस गरेका थिए ।