असार २५, हेटौंडा । आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर तथा राजस्व नतिर्ने हेटौंडाका २५ व्यवसायीलाई कालोसूचीमा राखी कारवाही अघि बढाएको छ । उक्त कार्यालयका अनुसार लामो समयदेखि १३ व्यवसायीबाट मूल्य अभिवृद्धि कर, १२ व्यवसायीबाट आयकर असुल गर्न बाँकी रहेकाले कारवाही अघि बढाइएको हो ।
पटकपटक ताकेता गर्दा पनि अटेर गरेकाले कालोसूचीमा परेकाको जग्गासमेत रोक्का राख्न मालपोत कार्यालयमा पत्राचारका लागि तयारी भइरहेको कार्यालय प्रमुख सन्तबहादुर ढकालले बताए ।
उक्त कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १६ जनाबाट राजस्व छली गरेको आरोपमा जरिवानासहित राजस्व असुल गर्नाका साथै अनुगमनलाई समेत तीव्रता दिइएको बताएको छ । प्राप्त विवरणअनुसार चालू आवको जेठ महीनासम्ममा उक्त कार्यालयबाट ३ हजार २०३ व्यवसायीले लेखा नम्बर, ३ हजार ६९९ ले स्थायी लेखा नम्बर, ४३७ ले मूल्य अभिवृद्धि कर(भ्याट) नम्बर, १ हजार ३५५ ले अन्तःशुल्क नम्बर लिएकोे बताइएको छ ।
कार्यालय प्रमुख ढकालका अनुसार यस आर्थिक वर्षको जेठ मसान्तसम्ममा रू.३ अर्ब ७१ करोड १३ लाख ६८ हजार राजस्व संकलन भएको र सो रकम लक्ष्यभन्दा बढी छ । रासस