ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

Jul 11, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य

असार २६, काभ्रेपलाञ्चोक । तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् ।

चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका छन् । ‘आउँदो माघ महीनाभित्र खानेपानी अयोजनाको काम सम्पन्न हुँदैछ, तेमालको एउटा ठूलो सपना साकार हुनेछ’, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष संग्रामजीत लामाले बताए । विसं २०७२ असार महीनामा सम्झौता भएको आयोजनाको काम आउँदो २०७७ साल मङ्सिरमा सक्ने लक्ष्य राखिए पनि केही ढिला हुने देखिएको छ । लामाले भने, ‘द्रुत गतिमा काम भइरहेको छ, तर थोरै ढिला हुन्छ कि, सकेसम्म निर्धारित समयम सक्ने याजनामा पनि छौं ।’ तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । तेमाल बृहत् खानेपानी आयोजना स्थानीयको सुखद् जीवनसँग जोडिएको आधाबाटाका इन्द्र तामाङले बताए । उनले भने, ‘सुनकोशीको पानी भनेको तेमालबासीको जिन्दगानी हो ।’ उनका अनुसार भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका बासिन्दा विस्थापित हुनेथिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको हो । कूल रू.१ अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९० प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । आयोजनामा नेपाल सरकारको ९० प्रतिशत, गाउँपालिकाको रू. १ करोड र स्थानीय उपभोक्ता प्रतिपरिवार रू.१ हजार लगानी रहेको छ । आयोजनाको नदीमा ‘फिल्टर’ गर्ने चार ओटा ट्यांकी र तेमालको वाङबेल डाँडामा ४ लाख लिटर क्षमताका दुई ओटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । ४० हजारदेखि अवस्था अनुकूल २ लाख लिटर क्षमतासम्मका २३ ओटा वितरण ट्यांकी निर्माणाधीन अवस्थामा छन् । संघीय ढल तथा खानेपानी आयोजना डिभिजन कार्यालय हेटौंडाका प्रमुख नन्दकुमार बञ्जाडेका अनुसार आउँदो माघभित्र आयोजना सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ । उनले सुनकोशी नदीबाट प्रतिसेकेण्ड २० लिटर पानी मुख्य रिजर्भ ट्यांकीमा लिफ्ट हुनेछ भने यसअन्तर्गत प्रतिव्यिक्ति प्रतिदिन ६५ लिटर पानी वितरण गर्न सकिने बताए । उनका अनुसार आयोजनाको लिफ्टिङका लागि खण्डखण्डमा १३ ओटा पम्पले पानी तान्नेछन् । उक्त खानेपानी आयोजनाबाट तेमाल क्षेत्रका ठूला बस्ती मेथिनकोट, कटुञ्जे, कानपुर, सस्र्यूंखर्क, सरमथली, बोल्देफेदिचे, पोखरी नारायणस्थान, चापाखोरी र मेच्छे तथा नमोबुद्ध नगरपालिकाको दुई ओटा वडाका बासिन्दा लाभान्वित हुनेछन् । उनका अनुसार आयोजनाको खानेपानी विस्तारका लागि २३ ओटा ट्यांकी, ११ ओटा गार्ड घर, एक ओटा खानेपानी कार्यालय तथा खानेपानीको लाइन विस्तार गर्ने कार्य एकैसाथ भइरहेको छ । आयोजनामा नेपाल सरकारको प्राविधिक खटिरहेका छन् । तेमाल क्षेत्रका बासिन्दा दुई घण्टा पैदलदूरीबाट कुवाको पानी लिन बिहान ३ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएको नारायणस्थानका हेमलाल तामाङले बताए । उनका अनुसार ठूला बस्तीको बीचमा रहेका केही कुवामा दिनहुँ दुईदेखि ३०० ओटासम्म गाग्रीका लाइन राख्नुपर्ने बाध्यता छ । रासस
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)