ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दु्रतमार्गको लागत बढेपछि डीपीआर अध्ययन गर्दै सडक विभाग

Jul 12, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । काठमाडौं–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माणको लागत प्रारम्भिक अनुमानभन्दा झन्डै ६४ अर्ब रुपैयाँ बढी निर्धारण भएपछि सडक विभागले थप अध्ययन थालेको छ । कोरियाली कम्पनी सुसुङ इन्जिनीयरिङ एन्ड कन्सल्टेन्सी लिमिटेडले दु्रतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा कुल लागत रू. १ खर्ब ७५ अर्ब १९ करोड ३५ लाख तोकेको छ । यसअघि आयोजनाको कुल लागत रू. १ खर्ब १२ अर्ब हुने प्रारम्भिक आकलन गरिएको थियो । अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरियाली कम्पनी कम्पनीले तयार गरेको डीपीआर सडक विभागलाई बुझाएको छ । उक्त कम्पनीले डीपीआर गत फागुनमा नेपाली सेनालाई बुझाएको थियो । नेपाली सेनासँग भएको डीपीआरको आर्थिक र प्राविधिक मूल्यांकनबारे विभागले विस्तृत अध्ययन गर्ने मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । ‘दु्रतमार्गको लागत बढी हो वा कम भन्ने विषयमा विभागले अध्ययन गरेपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘विभागलाई डीपीआर अध्ययन गर्न दिएका छौं, ३ सातामा प्रतिवेदन आएपछि मात्रै लागतबारे जानकारी हुन्छ ।’ कम्पनीले डीपीआर बुझाएको ४ महीनापछि अहिले त्यसको लागत घटाउने विषय चर्चामा आएको छ । दु्रतमार्ग आयोजनाका प्रमुख तथा नेपाली सेनाका सहायक रथी शरदलाल श्रेष्ठले डीपीआरमा पहिला मूल्यांकन भएभन्दा बढी लागत कायम भएको बताए । कमभन्दा कम लागतमा फास्ट ट्र्याक बनोस् भन्ने प्रयास गरिएको उनको भनाइ छ । नेपाली सेनाले असार २२ मा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्यसचिव लोकदर्शन रेग्मी लगायतलाई द्रुतमार्गको लागत तथा कार्यप्रगतिका विषयमा जानकारी गराएको थियो । सोही बैठकपछि लागत घटाउने विषय तथा डीपीआरको मूल्यांकनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मा दिइएको थियो । उक्त कम्पनीले साविकको ७६ दशमलव २ किलोमीटर (किमी) दूरीलाई छोट्याएर ७२ दशमलव ५ किमी कायम गरेको छ । तर, उक्त डीपीआर हस्तान्तरण भएको ४ महीना हुँदासम्म पनि स्वीकृत भएको छैन ।
  • आयोजनाको कुल लागत रू.१ खर्ब ७५ अर्ब पुग्यो
  • दु्रतमार्गमा सुरुङमार्ग र पुल निर्माण अगाडि बढेन
अहिले डीपीआरले तय गरेको कुल लागतमा छलफल भइरहेको छ । सेनाले डीपीआर पाएपछि प्रधानमन्त्री र तालुक मन्त्रालय रक्षालाई जानकारी दिएको थियो । डीपीआर स्वीकृत नहुँदा दु्रतमार्गका सुरुङमार्ग र पुल निर्माणको काम अगाडि बढेका छैनन् । त्यसका कारण तोकिएको ४ वर्षको अवधिमा सेनाले दु्रतमार्ग निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । नयाँ डीपीआर अनुसार फास्ट ट्र्याकमा ६ दशमलव ४१ किमीका तीन सुरुङमार्ग मकवानपुरका महादेव डाँडा (३ दशमलव ३५ किमी), भेद्रे खोला (१ दशमलव ६३ किमी) र लेन डाँडा (१ दशमलव ४३ किमी) मा बन्नेछन् । साथै ८७ ओटा पुल निर्माण हुनेछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)