देश छाडेर विदेश जाने लर्को लामै छ । त्यो अहिले रोक्किने छाँटकाँट पनि देखिन्न । सरकार त भए जति युवालाई विदेश लखेटीछाड्ने लक्ष्यका साथ लागिरहेकै छ जागीरका कोटा खोज्नतिर – ‘लगे रहो मुन्नाभाइ’ भनेसरी । त्यसो त पाए विदेश जान नचाहने नेपाली को होला र ? राष्ट्रपतिदेखि वडापतिसम्म, विद्यार्थीदेखि शिक्षकसम्म सबै आ–आफ्नै उद्देश्यले विदेश जान मौका कुरेर खुट्टा उचालेर बसिरहेकै छन् । तर किन हो किन यो पंक्तिकारलाई भने विदेश जाने र अझ उतै बस्ने भन्ने कुरा कल्पनासम्म गर्न पनि मन लाग्दैन । किन, थाहा छ ? एउटा ठूलो कारण त देशमा जुन किसिमका स्वतन्त्रताहरू उपलब्ध छन्, ती विदेशमा छँदैै छैनन् । जस्तै, यहाँजस्तो त्यहाँ अर्थात् विदेशमा (खासगरी अमेरिका, बेलायत लगायत विकसित देशमा) स्वतन्त्र रूपले जहाँ मन लाग्यो, त्यहाँ चुरोट पिउन, थुक्न, फोहोर फाल्न पाइँदैन । यहाँ जस्तो त्यहाँ मनमा लागेको कुरा जस्तोसुकै भाषामा पनि सामाजिक सञ्जालमा लेख्न पाइँदैन । गज्जब लाग्छ, ती कस्ता प्रजातान्त्रिक देशहरू हुन्, जहाँ नागरिकले मन लागेको काम कुरा गर्न पाउँदैनन् । हाम्रो देशमा मनलागी थुक्ने, फोहोर फाल्ने मात्र होइन, संसद्मा समेत जथाभावी गाली गर्ने र धकेलाधकेल गरेर पक्ष वा विपक्षलाई बोल्नै नदिने समेतको स्वतन्त्रता छ, जुन अभिव्यक्ति स्वतन्त्रताको आफैमा एक शक्तिशाली उदाहरण हो । नेपालका सबै राजनीतिक दलहरूलाई थाहा छ कि, विरोधी दललाई थुक्नु पनि प्रजातान्त्रिक अधिकारभित्रै पर्छ भनेर । तथाकथित विकसित देशहरूलाई यति सानो कुरा पनि थाहा छैन । थुक्ने तरीका, ठाउँ, समय, परिस्थिति अनुसार फरक हुन सक्छ । त्यसको उद्देश्य र प्रभाव पनि फरक फरक नै हुन सक्छ । तर, थुक्ने र थुथु गर्ने कुरामा हाम्रो देश साँच्चिकै स्वर्गतुल्य छ, जहाँ जतिखेर पनि छाती खोलेर थुक्न पाइन्छ । जसमाथि थुके पनि हुन्छ, जति थुक्न मन लाग्छ उति थुके हुन्छ । जस्तै– प्रधानमन्त्रीले अस्ति भर्खर भन्नुभो सचिवले ढाँटेछन् भनेर । अर्थात् प्रमले एक प्रकारले सचिवमाथि थुक्नुभो । त्यसो त विगतमा खानेपानी मन्त्रीले र यसै हप्ता उद्योगमन्त्रीले पनि आप्mना सचिवमाथि प्रमले जस्तै थुकेका थिए । अब मन्त्रीले सचिवलाई थुकेपछि सचिवले पनि सहसचिवलाई, सहसचिवले उपसचिवलाई र एवं रीतले प्रत्येक कार्यालयहरूमा माथिकाले तलकालाई थुक्ने काम भइरहेको छ । अनि न काम भइरहेको छ, नत्र कसले कसलाई टेर्छ प्रजातन्त्रमा ? जति बढी थुक्न सक्यो उति ठूलो ! यति सजिलोसँग ठूलो हुन पाइने सुविधा कहाँ छ विदेशमा ? यो सब छोडेर जान्ने बुभ्mने मान्छे को जान्छ विदेश ? वास्तवमा थुक्नुले मात्रै पनि एउटा अर्थ राख्छ । थुक्नु पनि एउटा प्रभावशाली अस्त्र हो, जसको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । थुक्नु आफैमा एउटा युद्धोन्मुख प्रक्रिया हो । नेपालको अहिलेको राजनीतिक र संसदीय परिवेशलाई हेर्दा अब मन्त्री, प्रधानमन्त्री र नेताहरूका वरिपरि अंगरक्षक भन्दा पनि थुकरक्षक राख्नुपर्ने देखिन्छ । तिनबाट आप्mनो ‘अस्त्र’ बचाएर प्रतिपक्षको जुन नेताले सत्तापक्षमाथि र सत्तापक्षको जुन नेताले प्रतिपक्षमाथि बढीभन्दा बढी थुक्न सक्छ, चुनावमा उसैले टिकट पाउने प्रबल सम्भावना रहन्छ । त्यसो त विकसित देशमा कसैले सडकमा थुक्यो भने उसले पनि टिकटको सुविधा पाउँछ । तर, यहाँ र त्यहाँको टिकटमा अलिकति फरक हुन्छ । यहाँ टिकट जसले पाउँछ, उसले चुनावी यात्रा, गाडीको यात्रा, अझ जहाजको यात्रा र सिंहदरबारकै यात्राको सुविधा पाउँछ भने उता टिकट पाउने व्यक्तिले अदालतको यात्रा र अझ जेलको यात्रा पाउने गर्दछ । यहाँको टिकटले मानिस सुविधायुक्त बन्छ । त्यहाँकोे टिकटले अभियुक्त बन्छ । यहाँ टिकट पाउनेको घमण्ड बढ्छ । त्यहाँको टिकटले दण्ड दिन्छ । विकसित देशमा सार्वजनिक स्थानमा जहाँ थुके पनि प्रहरीले हात उठाउँछ । नेपालमा कसैले कसैलाई थुक्यो भने हात हालाहाल हुन सक्छ । अब भन्नोस्, जुन देशमा जाबो थुक्ने स्वतन्त्रता पनि छैन, त्यो देश कुनै बस्नलायक ठाउँ हो र ? तेरो होस् वा मेरो थुथु त हुनुप¥यो नि । त्यो विना त नेपालीको जीवन निरस पो हुन्छ त हौ ! अर्थात् जुन देशमा हामी थुक्न समेत पाउँदैनौं, एक अर्कालाई थुथु पनि गर्न सक्दैनौं, त्यहाँ बस्नुमा के आनन्द आउला र ? राणा, शाहकालमा राजाहरूले थुकदानीमा थुक्थे, अहिले त पूरै नेपाललाई यहाँका सुयोग्य नागरिक र सरकारी व्यवस्थापनको सहयोगले थुकदानी र चुरोटदानी बनाइएको छ । देशैभरि चुरोटका ठूटा र जथाभावी फालिएका प्लास्टिकका खाली खोलहरूले नेपाली नयाँ स्वच्छन्दताको परिचय दिइरहेकै छ । यस्तो स्वच्छन्दता छाडेर म किन जाउँ बिदेश ? यहाँ पैदलयात्री हिँड्ने फुटपाथमा तरकारी र कपडा पसलेले ओगटेर बस्न पाउँछन् । विकसित देशमा त सडकमा समेत सितिमिति हर्न बजाउन पाइँदैन । तोकेको ठाउँमा तोकेको गतिमा मात्र गाडी चलाउनुपर्छ । विदेशमा कुनै गाडीलाई छिटो जानु छ भने सँगै गुडिरहेको अर्को गाडीले ओभरटेक गर्ने बाटो छाडिदिन्छ । अघि जानेले धन्यवाद भन्न छुटाउँदैन । तर यहाँ ओभरटेक गर्ने गाडीवालालाई गाली गर्ने स्वतन्त्रता छ । त्यति मात्र कहाँ हो र, ‘कतिबेरदेखि हर्न बजाइराछु, साइड नै छाड्दैन’ भनेर ठूल्ठूला आँखा बनाएर गाली गर्न पनि पाइन्छ यता । यस्तो स्वतन्त्रता छ त उता ? हुन त हाम्रो देशमा पनि यस्ता नियम छन् क्यार । तर पालना गरिरहन पर्दैन । हाम्रो देशमा नियम नभएर वा भएर पनि पालना गर्न नपर्ने जुन स्वतन्त्रता छ, तथाकथित विकसित देशमा त्यो कहाँ छ ? त्यसैले पनि मलाई यी पश्चिमा देशहरू जान मन लाग्दैन । विदेशीहरू बोल्न पनि कन्जुसी गर्छन् । हाम्रोमा त कुनै यात्रामा अपरिचित भेट्दा पनि उसको गाउँ, ठाउँ, जन्म, जागीर आदि सबै सोधेर नाता प्रमाणित गरेर मात्र छुट्टिने चलन छ । विदेशमा अफिसमा २–४ मिनेट ढिला हुँदा पनि जागीरबाट हात धुनुपर्छ । यहाँ आफ्नो इच्छाले जतिबेर पुगे पनि हुन्छ । उता बस कुर्नेदेखि सामान किन्न जाँदासमेत लाइनमा लाग्नैपर्ने, यता कसले गरिराखोस् त्यस्तो झमेला । उता पहिले बिरामीको उपचार हुन्छ अनि शुल्कको कुरा आउँछ, तर यहाँ त पहिले शुल्कका कुरा पक्का हुन्छ, अनि मात्र उपचारको । पहिला त पैसा पक्का गर्नुपर्यो नि । नत्र त्यसै हुन्छ ? यसरी विदेशका धेरै काम कुरा हाम्रा लागि व्यावहारिक र काम लाग्ने छँदै छैनन् । त्यसैले पनि मलाई तथाकथित विकसित यी पश्चिमा देशहरू जान मन लाग्दैन ।विकसित देशमा सार्वजनिक स्थानमा जहाँ थुके पनि प्रहरीले हात उठाउँछ । नेपालमा कसैले कसैलाई थुक्यो भने हात हालाहाल हुन सक्छ । अब भन्नोस्, जुन देशमा जाबो थुक्ने स्वतन्त्रता पनि छैन, त्यो देश कुनै बस्नलायक ठाउँ हो र ? तेरो होस् वा मेरो थुथु त हुनुपर्यो नि ।