हिजोआज हाम्रा प्रधानमन्त्री एकदमै दुःखी र लज्जित हुनुहुन्छ रे । किन रे भन्दा आफ्नै सरकारका मन्त्री र सचिवहरूले उहाँलाई पटक पटक ढाँटे रे । अनि मिशन पत्रकारिताले पनि उहाँलाई नै पेल्यो रे । यो त स्व. गोपाल मैनाली ‘फिस्टे’ले खेलेको एउटा विज्ञापनमा ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने...’ भनेजस्तो भइरहेको देखिन्छ । यो त अति भयो । आफ्ना प्रधानमन्त्रीलाई यसरी मनलागी पेल्न पाइन्छ र भन्या ?
प्रम भएयता यति धेरै जोक, ठट्टा गरिहिँड्नुभएका रमाइला अथवा जोक मास्टर प्रमलाई यसरी एकाएक दुःखी र लज्जित पारेर ‘सिरियस’ बनाउन त भएन नि ।
हुन त अरूले पैल्दैमा पेलिने प्रम भने हुनुहुन्न काम्रेड ओली । तर पनि हाम्रा प्रमलाई धेरैले झुक्याएका–झुक्यायै छन् । कहिले चिनी माफियाले गलत सूचना दिएर तथा झूठो वाचा गरेर चिनी आयात रोक्न लगाएर झुक्याएका छन् । कहिले तरकारीको विषादी परीक्षण रोक्न भारतले दिएको पत्रबारे जानकारी नदिएर मन्त्री तथा सरकारी उच्चपदस्थले झुक्याएका छन् । कहिले काठमाडौंका ‘मास्कधारी’हरूको तथ्यांक घटेको मिथ्यांक सुनाएर झुक्याएका छन् । कहिले मेलम्चीको पानीबारे झुक्याएका छन् । कहिले तीन तलाको नक्सा पास गरी मापदण्ड विपरीत बनाइएको ११ तले विवादास्पद होटल झन्डै उद्घाटन गर्न लगाएर झुक्याएका छन् । धन्न होटलको सात तलामा चढेर खाना खाएपछि मात्रै प्रमले थाहा पाउनुभएछ र पो जोगिनुभो ! आफ्नै प्रमलाई यसरी झुक्याउन त पाइँदैन नि हो । यो त आफ्नै गुँडका अरिंगालले आफ्नै रानोलाई झुक्याए जस्तो पो भो ।
प्रम भएयता यति धेरै जोक, ठट्टा गरिहिँड्नुभएका रमाइला अथवा जोक मास्टर प्रमलाई यसरी एकाएक दुःखी र लज्जित पारेर ‘सिरियस’ बनाउन त भएन नि । अब जोक कसले सुनाउँछ देशमा ? कलाकार भनाउँदाहरूको त स्थान देशमा छैन, ‘कमोड’ कलाकार जस्ता बनाइएका छन् । उता, हास्य कलाकारहरू ‘रुन्चे’ कलाकार बनिसकेका छन् । किनकि चलचित्रमा हिरो वा भिलेनले नै हँसाउन थाले । टिभीमा ‘रियालिटी शो’ गरौं न त भन्दा प्रायोजकहरू ‘लोपोन्मुख’ प्रजातिमा परिसकेका छन् । ‘जोक’ सुनाउन त्यै एकजना प्रम बाँकी हुनुहुन्थ्यो । उहाँलाई पनि मान्छेहरूले सिरियस बनाएरै छाडे । लौ न अब कहाँ गएर कसरी हाँस्ने होला ?
वास्तवमा संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री भनेको सर्वशक्तिमान् हुन्छ । त्यै भएर हाम्रा प्रमले पनि ‘राज्य भनेकै मै हुँ’ भन्ने भावका साथ आदेशहरू दिएर राज्यसत्ता सचालन गरिरहनु भएकै हो । तर आफ्नैले बारम्बार भुक्याइरहँदा मुलुक चलाउन प्रमलाई हम्मे पर्दै गएको स्पष्ट देखिएको छ । विना प्रतिस्पर्धा अर्बौंका ठेक्का दिइएका छन् । प्रम रोजगारका नाममा चौरमा झार उखेल्न लगाएर जनताको पसिनाबाट उठाइएको राज्यकोषबाट अर्बौं सिध्याइएको छ । एकै दिनमा झन्डै ३२ अर्ब रुपैयाँ तीनदिनमै उप्किने पिचरूपी असारे विकासमा सिध्याइएको छ । यसको मतलब मुलुकका लागि प्रत्यक्ष सरोकार राख्ने, दीर्घकालीन प्रभाव पर्ने खालका आन्तरिक र बाह्य आर्थिक सामाजिक, सुरक्षा लगायत थुप्रै गतिविधिका बारेमा प्रमलाई पक्कै जानकारी दिइएको छैन । कदम कदममा उहाँलाई झुक्याइएकोे छ । अब प्रमले थाहै नपाएपछि जानकारी नै नदिने वा गलत सूचना दिनेलाई कारबाही गर्ने कुरो पनि भएन । तलकाले काम बिगार्लान् भनेर नै प्रमले भएजति ठूला आयोजना आफ्नै मातहतको कार्यालयमै ल्याउनु भएकै हो, काम बिग्रेमा कनिष्ठहरूलाई झपार्न पाइन्छ भनेर । तर झपार्ने ठाउँ पनि दिएनन् यी कनिष्ठेहरूले । के भन्नु र खै ?
यसरी कनिष्ठहरूले प्रमलाई झुक्याउँदा देशमा भएका दुष्परिमाणहरूको दोषजति बिचरा सोझा, औषधिहरूले गलित, वृद्ध र निरीह प्रम ओलीलाई जाने गरेको छ । यसको मतलब मन्त्री, सचिव लगायत सबै नांगै हुने अनि सबै नागा मिलेर प्रधानमन्त्रीलाई मात्रै ‘तपाईं त नांगै हुनुहुन्छ’ भनेर भनिरहेको जस्तो स्थिति छ । खबरदार ! प्रमले फेरि जोक सुनाउन नपरोस् नि । प्रमले फेरि जोक भन्न शुरू गर्नुभयो भने को को नांगा छन्, सबै देखिन्छ नि ! अनि प्रमलाई झुक्याउँदा झुक्याउँदै सिंगै देश नै झुक्किने स्थिति चैं नआओस् है !