राम्रोसँग प्रचार प्र्रसार गर्न सके जे पनि विक्री हुन सक्छ भन्ने त हामी सबैले सुनेकै कुरा हो । त्यसकारण विभिन्न प्रकारका विज्ञापनमार्फत उपभोक्तालाई आफ्नो उत्पादनप्रति आकर्षित गर्ने प्रचलन बढेको हो । हालसालै अमेरिकाका एक व्यक्तिले यस्तै एउटा उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नो १७ वर्ष पुरानो निशान कार विक्री गर्न अनौठो उपाय लगाए । ल्युक अकर नामक ती व्यक्तिले डोरी लगाएर तान्न पर्ने निशान कम्पनीको थोत्रो कार ‘१९९६ म्याक्सिमा’ विक्री गर्न एउटा अनौठो भिडियोको निर्माण गरेका थिए । इञ्जिन, ट्रङ्क र ओडोमिटरको फोटो राखेर क्रेग्लिष्टमा विज्ञापन दिने परम्परागत प्रचलनका साटो उनले त्यो कारलाई मधुरो प्रकाश, गहिरो आवाजका साथ मानवजातिको सबैभन्दा ठूलो उपलब्धिका रुपमा प्रस्तुत गर्ने भिडियो बनाएका थिए । त्यो विज्ञापन अमेरिकास्थित निशान कम्पनीका अधिकारीले देखेपछि निशान कम्पनीले त्यो १७ वर्ष पुरानो कार खरीद गरेको छ ।
त्यस्तै, कम्पनीका प्रवक्ताले म्याक्सिमाको सही ठाउँ भनेकै निशान कम्पनी रहेको बताएका थिए । यो व्यावसायिक प्रचार गत सेप्टेम्बरमा प्रकाशित भएको थियो । त्यो विज्ञापन यस्तो आशयको भिडियो क्लिप्स थियो, ‘सडकमा गुड्ने यस याटको सवारी कुनै कविको उमङ्गजस्तै रेशमी रहेको छ । यस विशाल र प्रभावशाली याटको स्टियरिङ फ्लुड आफ्नो प्रभावशाली काम सकिएपछि तल चुहिने गरी डिजाइन भएको छ । यो म्याक्सिमा कति किलोमिटर गुड्यो भन्ने त हिसाबै छैन र गर्न पनि मिल्दैन । यसले महानता र वीरताको बाटो छानेको छ, जहाँ सङ्ख्याले यसको जीवनकाल निर्धारण गर्नु मुर्खतामात्र हुनेछ ।’ त्यो कार खरीद गर्दा निशानले अकरलाई कति रकम दियो भन्नेबारे बुझ्न खोज्दा उनले रकमको आकार खुलाउन भने चाहेनन् । यद्यपि, कार खरीदसँगै निशान कम्पनीले युद्धमा घायल भएका योद्धाहरुलाई आर्थिक सहयोगसमेत गर्ने अकरले बताएका छन् ।