ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमका ठूला सडक निर्माण अलपत्र

Jul 30, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिममा यातायातका लागि मेरुदण्ड मानिएका तीन ठूला सडक आयोजना (सेती लोकमार्ग, महाकाली कोरिडोर र हुलाकी राजमार्ग)को निर्माण वर्षौंदेखि अलपत्र छ । सेती लोकमार्ग निर्माणलाई गति दिन सरकारले दक्षिणी खण्डका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ । १ दशकअघि नै काम शुरू गरिए पनि आयोजना निर्माण सुस्त छ ।

अछाम–बाजुरा–डोटी–बझाङ र कैलालीलाई जोड्ने योजनासहित उक्त लोकमार्गको निर्माण थालिएको थियो । तर अझै १० हजार रूख काट्नुपर्ने भएपछि अपेक्षित गति लिन नसकेको हो । अछाममा यो सडकको २६ किलोमिटर ट्र्याक खुल्नै बाँकी छ ।

यस्तै कैलाली खण्डमा २८ किलोमिटर मात्र ट्र्याक खुलेको आयोजना कार्यालय, अछामका इन्जिनीयर दुर्गा मण्डलले बताए । ‘लोकमार्गमा १२२ किलोमिटर ट्र्याक खुल्न बाँकी छ,’ भण्डारीले भने । ट्र्याक खोल्न १० कम्पनीलाई ठेक्का दिइएकोमा तीनओटाले मात्र काम सम्पन्न गरेको उनले बताए ।

धनगढीदेखि अछामको साँफेबगरसम्म जोड्ने उक्त सडकको लम्बाइ २७० किलोमिटर छ । यो लोकमार्ग निर्माणपछि धनगढी–साँफेबगरको दूरी १३५ किलोमिटरमा झर्नेछ । सेती लोकमार्ग दक्षिण भारत र उत्तर चीनलाई जोड्ने महŒवपूर्ण कोरिडोरका रूपमा पनि लिइएको छ । भारतबाट मानसरोवर पुग्ने तीर्थयात्रीका लागि यो मार्ग सबैभन्दा छोटो र सहज हुनेछ । 

महाकाली कोरिडोर आयोजना
सेती लोकमार्गपछि अर्को महत्त्वपूर्ण सडक आयोजना हो महाकाली कोरिडोर । कञ्चनपुर–बैतडी हुँदै दार्चुलाको तिंकर भन्ज्याङ भएर चीनको ताक्लाकोट जोडिने यो सडक ४२६ किलोमिटर लामो छ । यसको निर्माण २०६६ सालदेखि थालिएको थियो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्मको खण्डमा वातावरणीय प्रभाव मूल्यांकनमा भएको ढिलाइले निर्माण अघि बढ्न नसकेको दार्चुला–तिंकर सडक योजना कार्यालयले बताएको छ । २९१ किलोमिटर सडक खण्डको दार्चुला–बैतडी र डँडेलधुराका विभिन्न क्षेत्रमा भने काम भइरहेको कार्यालयको भनाइ छ । 

टुक्राटुक्रामा ठेक्का लगाइएको उक्त कोरिडोरका अधिकांश स्थानको निर्माण सुस्त रहेको स्थानीयको गुनासो छ । छुट्टै कार्यालय नभएकाले तिंकर सडक योजनाले नै काम हेर्दै आएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको जौलजिवी, लेकम गाउँपालिकाको सर्मोली सल्सेना, बैतडीको सिल्लेक, गाजरी, बठ्ठा र डँडेलधुराको जोगबुढा क्षेत्रमा सडकको काम भइरहेको इन्जिनीयर दिनेश रैखोलाले बताए ।

कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भने सडक निर्माणको ठेक्का नै हुन सकेको छैन । ठेक्का भएर काम शुरू गरिएको डँडेलधुराको जोगबुढा क्षेत्रमा बीचमा जंगल परेपछि निर्माण रोकिएको हो । सरकारले तराई क्षेत्रलाई हिमालसँग जोड्न र त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली कोरिडोर सडक योजनाको अवधारणा अघि बढाएको थियो । 

महाकाली किनारै–किनार सडक निर्माण गरेर तिंकर नाका जोड्ने योजना भए पनि पञ्चेश्वर परियोजनाका कारण दूरी बढ्न गएको इन्जिनियर रैखोलाले बताए । अत्तरिया–दार्चुला महाकाली राजमार्गको समानान्तर दूरीमा निर्माण भइरहेको कोरिडोरका कारण दार्चुला–तिंकर सडकको काममा अन्योल भएको छ । महाकाली राजमार्ग हुँदै अत्तरियाबाट ३०८ किलोमिटर दूरीमा दार्चुला सदरमुकाम खलंगा पुग्न सकिन्छ ।

हुलाकी राजमार्ग
आर्थिक वर्ष २०६६/६७ देखि निर्माण थालिएको राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माण यति बेला अलपत्र छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम थालिए पनि कैलालीमा ७० किलोमिटर मात्र कालोपत्र भएको छ । कैलाली र कञ्चनपुरमा हुलाकी सडकअन्तर्गत १५८ किलोमिटर पर्दछ । हुलाकी सडक आयोजना कार्यालय, धनगढीका अनुसार कैलालीमा भारत सरकारले नै ७० किलोमिटर कालोपत्र गरेको हो । नेपाल सरकारले आफ्नै लगानीमा थप निर्माण गर्ने बताए पनि कार्यान्वयन हुन सकेको छैन । ‘हालसम्म सडकको ट्र्याकसम्म खुलेको छैन,’ हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले भने । वसन्ता क्षेत्रमा रूख कटानीका लागि फाइल जिल्ला हुँदै मन्त्रालय पुगे पनि प्रक्रिया रोकिएको उनले बताए ।

कञ्चनपुरमा तीन चरणमा ठेक्का सम्झौता गरेर हुलाकी सडकको काम भइरहेको कार्यालयले बताएको छ । डोकेबजारदेखि बेलौरीको बुटाबारीसम्म २० किलोमिटर, बुटाबारीदेखि बेलडाँडीसम्म २० र बेलडाँडीदेखि दैजीसम्म २२ किलोमिटरमा छुट्टाछुट्टै निर्माण कम्पनीले काम गरिरहेको बताइएको छ । कञ्चनपुरमा भदौ/असोजभित्रै कालोपत्र गर्ने तयारीअनुसार काम भइरहेको इन्जिनियर मडैले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने १२ किलोमिटर सडकमा रूख कटानीमा १ वर्ष ढिलाइले निर्माणमा समस्या भएको उनको भनाइ छ । भारत सरकारको १ अर्ब २६ करोडमा भारतीय कम्पनी जीआर गाभरले आव २०६६/६७ देखि धनगढीबाट हुलाकी सडकको निर्माण शुरू गरेको थियो । सडकको क्षेत्राधिकारमा विवाद भएपछि उक्त कम्पनी काम अधुरै छाडेर फर्किएको थियो । कैलालीको वसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर, धनगढीमा साढे ६ किलोमिटर र सत्तीदेखि बर्दिया जोड्ने साढे २ किलोमिटर सडक निर्माण हुन बाँकी रहेको आयोजना प्रमुख रामपुकार जैसवालले बताए । सम्झौताअनुसार वसन्ता क्षेत्रको १८ किलोमिटर सडक गत फागुनमै सम्पन्न हुनुपर्ने हो । रूख कटानीको कानूनी अड्चनले सो क्षेत्रमा १६ किलोमिटर ट्र्याक खोल्ने काम मात्र भएको प्रमुख जैसवालले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)