अहिले प्रत्येक व्यक्ति रातारात धनी र शक्तिशाली बन्न चाहन्छ । तर, केही सीमित व्यक्तिले बाहेक अरूले त्यसो गर्न सकिरहेका छैनन् । के होला त त्यो सीमित व्यक्तिले मात्र जानेको सूत्र ? एउटा नयाँ मोडल चैं यस्तो पाइन्छ ।
तपाईं अशिक्षित, अर्धशिक्षित र अझ बेरोजगार हुनुहुन्छ र जीवनमा ट्रकको खलासी बन्ने समेत योग्यता छैन भने नआत्तिनोस् । गाउँतिरका दुई–चारजना कुखुरा चोरहरू जम्मा गर्नुहोस्, एउटा व्यावसायिक समूह बनाउनोस् र तुरुन्त जग्गा दलालीका साथै गुण्डागिरीको व्यवसाय शुरू गरिहाल्नोस् । यसको नाउँ जे दिँदा पनि हुन्छ, ठेक्कापट्टा व्यवसाय, कन्सल्टेन्सी बिजनेश वा यस्तै अरू । साथै साइडमा माग्ने काम अर्थात् चन्दा संकलनको धन्दा पनि व्यापक बनाइहाल्नोस् ।
केही पैसा संकलन भएपछि एजेन्सीको व्यवसाय अर्थात् बिचौलियाको काम शुरू गर्नोस् । अहिले सरकारका मन्त्री, मन्त्रालय, प्रधानमन्त्री क्वार्टर वा कार्यालय वरिपरि बिचौलिया व्यवसायीकै हालीमुहाली देखिन्छ । बिचौलिया व्यवसाय अहिले पूर्णतः सफलता र समृद्धि हात लाग्ने काम हो ।
बिचौलियाको काम सफल भएपछि पालो आउँछ नेताको व्यावसायिक साझेदार अर्थात् ‘बिजनेश पार्टनर’ बन्ने । अहिले हेग गएर हिरो हुन चाहने विश्वका कतिपय ठूला भनिएका नेताका विगतका र अहिलेका घरबेटीहरू बिचौलिया हुँदै सफल व्यावसायिक साझेदार बनेका हुन् । नेताको बिजनेश पार्टनर बन्दा राम्रो पक्ष के छ भने नेता ‘स्लीपिङ पार्टनर’ मात्र बसिदिन्छन् । तर दुनियाँले नाम भने बिचौलिया व्यवसायीको मात्र थाहा पाउँछन् । अझ केही समयपछि त यी बिचौलिया व्यवसायी समाजमा उद्यमी र अझ समाजसेवी समेत भनेर चिनिन थाल्छन् । समाजका लागि सिन्को नभाँचे पनि समाजसेवी, उद्योग नगरीकनै उद्यमी ! समृद्धि हात पार्ने योे मोडल काइदाको छैन त ?
अब उद्यमीको परिचय बनिसकेपछि त खेलै खत्तम । अनि नेतासँग उठबस, खानपिनका साथै भनसुन गरेर आफ्ना केही चाटुकारहरूलाई साम, दाम प्रयोग गरेर सभासद् बनाइदिने । अनि के चाहियो र ? त्यसपछि त शुरू हुन्छ समृद्धिको भरपर्दो यात्रा । आफ्नो धन्दाका लागि अनुकूल हुने किसिमले नीति, नियम, कानून तिनै वैधानिक विधायकहरूले बनाइदिहाल्छन् । यसरी बिचौलिया–विधायक तयार हुन्छन् । त्यसमध्ये केही त मन्त्री पनि बन्छन्
।
जब यस्ता ‘विधायक’ मन्त्री भएर सत्तामा आउँछन्, उनीहरूको नयाँ व्यवसाय शुरू हुन्छ ‘लाइसेन्स बेच्ने’ । यति बेलासम्म आफू पनि बेच्ने काममा निपुण भैसकिएको हुन्छ । सोझो औंलाले घिउ आउँदैन भनेजस्तै उद्यम शुरू गर्न चाहनेका लागि अनेक किसिमका लाइसेन्सको जालो तयार गरिदिनुपर्छ, ताकि साँच्चै व्यवसाय गर्न चाहनेले महँगो शुल्क तिरेर सो प्रमाणपत्र किनून् । एवं रीतले जनताको हित भन्ने देखाएर वा अवैधानिक धन्दालाई वैधानिकताको खोल ओढाइदिएर राज्यका सबै किसिमका स्रोतमाथि कब्जा गर्दै जाने । यसरी भएको कमाइ फेरि आफ्ना खल्तीका व्यापारीकहाँ लगानी गरिरहने, आफ्ना आसेपासेका नाउँमा जग्गा जमीनमा लगानी गर्दैजाने अथवा पैसा लगेर विदेशमा राख्ने, ताकि भोलि केही पर्दा सो पैसा काम आओस् तर जनताले भने थाहा नपाऊन् ।
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा भने अति विपन्न भएको देखाइदिने । सार्वजनिक भाषणहरूमा समानता, समावेशी, सर्वहाराको मुक्ति, गरीबको उत्थान आदि भन्न कहिल्यै नछुटाउने । भलै व्यवहारमा भने सामाजिक न्यायप्रति वा जनताका दैनन्दिन समस्याहरूप्रति उदासीन मात्र होइन, मजाक गर्न पनि नछाड्ने । ठाउँ, कुठाउँमा जोक गर्दै सत्ता र शक्तिको आनन्द पनि लिइरहने । आफूले गर्नुपर्ने वा सिध्याउनैपर्ने हजारौं काम वर्षौं नगरे पनि त्यसप्रति जवाफदेही नहुने । तर कथम् सामान्यजनबाट बाध्यतावश सरकारलाई बुझाउनुपर्ने विवरण वा शुल्क आदि एक दिन ढिला हुँदा पनि ग्वाम्म जरीवाना ठोकिहाल्ने । नत्र आफ्नो विलासिताका लागि स्रोत कसरी जुट्छ त ?
अर्को कुरा, व्यापारी, कलाकारदेखि पत्रकारसम्मलाई विभिन्न उपाय लगाएर आफ्ना वरिपरि घुम्न लगाउने र आफूले गर्ने हरेक बेतुकका बकबकमा पनि ताली ठोक्न लगाउने । प्रहरी, प्रशासनदेखि न्यायालयसम्ममा आफ्नो नियन्त्रण कायम राख्ने । कसैलाई रातो पासपोर्ट दिलाएर फकाउने, कसैलाई सरकारी संस्थानको जागीर दिने, कसैलाई सल्लाहकार बनाइदिएर आफ्नो भजन मण्डलीको सदस्य बनाइहाल्ने । पार्टीले नै बजार, राजनीति, समाज सबैतिर नियन्त्रण गर्दिने । जनता मात्र होइन, पार्टीका कार्यकर्ताहरूलाई समेत आफ्ना दास बनाउने । अनि जेल कोच्नुपर्नेलाई समेत आफूसँगै शासक बनाउँदै लाने । आफू बलियो भइरहन आफ्नो समूह बनाउनु जरुरी हुन्छ नि त । यसरी राजनीतिको मूल चरित्र नै दलाल र अपराधी बनाउँदै लाने । तर, लेख्ने वा भन्ने बेलामा खुला बजार र उदार अर्थतन्त्र, संसदीय प्रजातन्त्र वा लोकतान्त्रिक गणतन्त्र आदि भन्न कतै नछुटाउने ।
यी सबै तिगडमहरू गर्दै पैसा आर्जन गरिरहने । पैसाबाट शक्ति आर्जन गरिरहने र सत्तामा टिकिरहने । कानूनबाट बच्न शक्ति हत्याउन आफूले संकलन गरेको स्रोत फेरि फेरि प्रयोग गरिरहने । यति गरेसी तपाईंलाई सुखी र समृद्ध बन्न कसैले रोक्न सक्तैन । यसरी समृद्ध बन्ने राजनीतिक मान्छे र दलहरू संसारका थुप्रै देशमा छन् रे ! नेपालमा भने राजनीति गर्ने मान्छेहरूले यो ट्रिक अझै सिक्न सकेका छैनन् जस्तो छ । त्यसैले तपाईं नेपालमा छिट्टै धनी र शक्तिशाली हुन चाहनुहुन्छ भने समृद्धिको यो नयाँ मोडल आप्mनो जीवनमा लागू गर्न शुरू गरिहाल्ने हो कि !