ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवनमा ल्यान्डलाइन फोनका ग्राहक घट्दै

Aug 12, 2019  
प्रदेश समाचार बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनमा पछिल्लो समय ल्यान्डलाइन फोनका सेवाग्राही घट्दै गएका छन् । जिल्लामा १ दशक अघिसम्म ल्यान्डलाइन फोनका प्रयोगकर्ता बढी थिए । त्यसपछि मोबाइल प्रयोगकर्ता बढेसँगै ल्यान्डलाइन फोन लिनेहरू घटेको हो ।

पीएसटीएन र एडीएसएलका लागि छुट्टाछुट्टै महशुल बुझाउनुपर्ने हुँदा ल्यान्डलाइनतर्फ आकर्षण घटेको पाइएको छ । दूरसञ्चार कार्यालय, भरतपुरका अनुसार जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ल्यान्डलाइन लिने ग्राहक २७ हजार ७ सय ४३ थिए । यसैगरी उक्त समयमा एडीएसएलका ९ हजार ३६१, फाइबर नेटका ५० र लिज लाइनका ग्राहक १२ ग्राहक थिए । तर आव २०७४/७५ मा ल्यान्डलाइन लिनेको संख्या घटेको छ । उक्त अवधिमा ल्यान्डलाइनका २७ हजार ५५५, एडीएसएल इन्टरनेटका ११ हजार ७२०, फाइबर इन्टरनेटका १३४ र लिज लाइनका ग्राहक ४४ थिए ।

यसैगरी गत आव २०७५/७६ मा ल्यान्डलाइनका २६ हजार ९०९ र एडीएसएलका ग्राहक १० हजार ६२२ जना छन् । उक्त अवधिमा फाइबर इन्टरनेट लिने ग्राहकको संख्या बढेर ४८१ पुगेको छ । यस्तै लिज लाइन लिने ग्राहक ८८ जना छन् ।

दूरसञ्चार कार्यालय, भरतपुरका सूचना अधिकृत गेहेन्द्र सुवेदी मोबाइलको प्रयोग बढेसँगै ल्यान्डलाइन लिने ग्राहक घटेको बताउँछन् । ‘इन्टरनेटको विभिन्न सुविधा आएसँगै ल्यान्डलाइन लिनेको संख्या घटेको हो,’ उनले भने । उनका अनुसार हाल डेटा प्याकेज, फाइबर इन्टरनेट, लिज लाइनको सुविधा समेत थपिएकाले ल्यान्डलाइनको आवश्यकता घटेको छ । 

घरमा ल्यान्डलाइन हुँदाहुँदै पनि ग्राहकले प्रायः मोबाइल नै प्रयोग गर्ने र ल्यान्डलाइन प्रयोग नगरे पनि न्यूनतम शुल्क बुझाउनुपर्ने भएकाले यसका ग्राहक घट्दै गएको दूरसञ्चार कार्यालय, भरतपुरका प्रमुख दीपक कुमारको बुझाइ छ । मानिसको बदलिँदो जीवनशैली र नवीनतम प्रविधि भित्रिएका  कारण पनि ल्यान्डलाइनका प्रयोगकर्ता घटेको र मोबाइल एवं इन्टरनेट प्रयोगकर्ता बढ्दै गएको उनी बताउँछन् । भरतपुर महानगरपालिका–१०, स्याउली बजारका नारायण पौडेल पहिले घरमा ल्यान्डलाइनका साथै एडीएसएल भए पनि हाल यो सेवा हटाएको बताउँछन् । ‘दिनभर अफिस भइन्छ,’ उनी भन्छन्, ‘त्यति प्रयोग गरिँदैन, बेलुका काम परे डेटाबाट चलाउँदा पनि फाइदै हुन्छ ।’ 

अन्य निजी दूरसञ्चार कम्पनीले इन्टरनेट तथा मोबाइल फोन सेवा दिँदै आए पनि उनीहरूले हालसम्म ल्यान्डलाइन प्रयोगमा ल्याएका छैनन् । भरतपुरस्थित नेपाल टेलिकमको कार्यालयमा ल्यान्डलाइन ३३ हजार ९६४ र एडीएसएल १७ हजार ३५४ ओटाको क्षमता रहेको कार्यालयले जानकारी दिएको छ । जिल्लामा नेपाल टेलिकमका साथै अन्य निजी इन्टरनेट प्रदायक कम्पनीको इन्टरनेट सेवा लिनेको संख्या पनि बढ्दै गएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)