ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देश ठेक्कामा चलाउन बोलपत्र आह्वान

ठेक्का नं : GONE 2076/LOOT-NPL/DAS-NUMBERI/420

Aug 16, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

उपरोक्त सम्बन्धमा जनताको चुलिँदो निराशा र सरकारका मन्त्रीहरूको काम कारबाहीबीच तालमेल हुन नसकिरहेको अवस्थामा सरकारले सार्वजनिक पदमा बस्नेहरूलाई कार्यसम्पादन करार गरेर जिम्मेवारी दिने श्रृंखला आरम्भ गरेको छ । प्रमले मन्त्री, मन्त्रीले सचिव, सचिवले महानिर्देशक वा संस्थानका कार्यकारीदेखि गृह मन्त्रालयले प्रजिअसँग कार्यसम्पादन करार गर्ने अभियान सरकारले चलाएको छ । यही क्रम प्रदेश सरकारले पनि शुरू गर्दै छ । करार मार्फत सरकार चलाउने प्रम ओलीको जुक्ति अद्भुत छ । तर यत्तिले मात्र समृद्धि आउन सक्ने स्थिति नदेखिएकाले प्रधानमन्त्री लगायत सिंगो सरकारलाई समेत करारमा काम गराउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले देशलाई समृद्धितर्फ हाँक्न नेपाल सरकार चलाउन सक्षम एक वा सोभन्दा बढी देश वा आईएनजीओलाई २५ वर्षसम्मका लागि नेपाल देश ठेक्कामा लिन यो बोलपत्र आह्वान गरिन्छ ।

देशको पृष्ठभूमि
प्राकृतिक स्रोतमा संसारकै सम्पन्न मुलुक भए पनि आर्थिक रूपमा विश्वकै तन्नम । जनताले पाइलैपिच्छे सरकारलाई कर बुझाए पनि सरकारबाट सुविधाका नाममा सास्ती वितरण । उठेको राजस्वबाट सरकारी कर्मचारी र नेता, मन्त्रीका बढ्दो सुविधा धान्न मुश्किल । फलतः विकास खर्च शून्य बराबर । वार्षिक आयात करीब १४ खर्ब, निर्यात १ खर्ब । प्रत्येक दिन हजारौं युवा विदेश जाने लर्को । तर प्रत्येक दिन हजारौं नेता तथा कर्मचारी विदेश भ्रमणमा जाने लामो लाइन अर्को । कोही नेता रोगी, कोही भोगी, तर सबैजसो नेता ढोँगी चर्को ।

नेपाली धर्म, संस्कृतिमा विदेशीको बढ्दो प्रभाव । भाषामा भद्रगोल, अर्थतन्त्र अन्योलग्रस्त, जताततै निराशै निराशा व्याप्त । सार्वजनिक संस्थाहरूदेखि विश्वविद्यालयसम्म राजनीतिक दलका कार्यकर्तारूपी भाइरसले सखाप । राज्यका प्रायः सबै अंगहरूलाई कामचोर, भ्रष्ट, जवाफदेहीविहीन बनाइएको अवस्था । 

ठेकेदारको काम र कर्तव्य

नेपाल सरकार अहिलेजस्तो धुकधुक नभई पूर्णरूपमा चलाउने जिम्मा लिन सक्ने । योबाहेक निम्नलिखित जिम्मेवारी लिन सक्ने :

  • जंगलबाट आएका जंगलीहरूलाई सभ्य समाजको सभ्यता पढाउने र नेपाली जनताबाट लुटेको पैसा फिर्ता गराई लुटेराहरूलाई ठेगानमा बस्न बाध्य गर्ने ।
  • शहरका फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका तर नगरेका सबैलाई फोहोरसँगै डम्पिङ साइटमा पठाउने । 
  • राजनीतिक, साम्प्रदायिक तथा विभिन्न रंग र ढंगका तथा छद्म उद्देश्य भएका लुटेरा संगठनहरू स्पष्ट पहिचान गरी तिनलाई पूर्ण रूपमा बन्देज लगाउने । साथै लफडा सृजना गर्न वितण्डाबाजी गरिहिँड्ने तथाकथित राजनीतिक, आर्थिक, सामाजिक, विश्लेषकहरूलाई पनि वाहियात गन्थन बन्द गर्न लगाउने । 
  • दक्षिण वा उत्तर छिमेकी निर्देशित विदेश नीति परिवर्तन गरी असंलग्न तथा देश जनताको दीर्घकालीन हितमा हुने परराष्ट्र नीति अवलम्बन गर्ने । 
  • प्रहरी र प्रशासन क्षेत्रमा रहेका, ३२ इन्चभन्दा बढी पेट भएका कर्मचारी र हाकिमहरूलाई तुरुन्त बर्खास्त गर्ने । 
  • जनतालाई पानीजहाज, रेल आदि ठूला कुराभन्दा पनि आधारभूत कुराहरू बिजुली, पानी, सिँचाइ, उत्पादनका लागि बजारमा सहज पहुँच, खाल्टा पुरिएका सडक आदि चाहिँ पक्का दिने । अनि उद्यमीलाई भर, सच्चा सुकुमवासीलाई घर दिने ।

ठेकेदारको योग्यता

  • विगतमा नेपालजस्तै अस्तव्यस्त मुलुक चलाइसकेको अनुभव भएको ।
  • विगतमा उपनिवेश चलाइसकेका बेलायत, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स वा स्पेनजस्ता देशहरूले विशेष ग्राह्यता पाउन सक्छन् ।
  • भारत वा चीनबाट आएका आवेदन स्वतः अयोग्य हुनेछन् । किनकि अहिले पनि नेपाल उनीहरूले नै चलाइरहेका छन् । 
  • डाँडाकाँडा भत्काएर हिले सडक मात्र बनाउने असारे विकासको मोडलको सट्टा उपयुक्त मोडल दिन सक्ने खुबी भएको ।
  • जनतालाई सुविधा दिन करको बोझ नथपी बरु घटाउन प्रतिबद्ध ।

ठेक्काको आवेदन बुझाउन

  • आवेदन फर्मको चारओटा प्रिन्टेट कपी कुरियर मार्फत पठाउनुपर्नेछ । 
  • सार्वजनिक खरीद नियमावली अनुसार ठेक्काको १० प्रतिशत कल्याणकारी कोषमा डिपोजिट गरिनेछ ।

आवेदन दिने अन्तिम मिति : ३० असार २०७६ 

महत्त्वपूर्ण नोट : आवेदन दिने अन्तिम मिति अगावै कुनै भवितव्य परेर परिस्थिति बदलिएमा यो ठेक्का स्वतः रद्द भएको मानिनेछ ।

आवेदन दिने ठेगाना :
ठेक्का अधिकृत 
सेवा तथा सामान्य प्रशासन सचिवालय 
श्वानगल्ली, खोक्रेदरबार
काठमाडौं, नेपाल । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)