नेपाली समाजमा छोरीको बिहे गर्दा दाइजो दिनुपर्ने प्रचलन व्याप्त छ । कुनै कुनै समुदायमा छोरी दिएबापत केटा पक्षले केटीको बाबुलाई दाइजो दिने प्रचलन पनि छ । यमनका एक पिताले भने छोरीको बिहेमा अनौठो दाइजोको माग गरेका छन् । अरबको पारम्परिक सोच बोकेको इस्लामिक राष्ट्र यमनको तेज शहरका एक कवि सलिम सायासले आफ्नी छोरीको बिहेमा आफ्नो फेसबूक पेजमा १० लाख लाइक दाइजोका रुपमा मागेका छन् । उनले आफ्नो माग पूरा नभएसम्म छोरीको विवाह नै नगर्नेसमेत बताएका छन् ।
सामान्यतः दाइजोमा पैसा, गहना तथा अन्य जिन्सी सामानको माग हुने गरेको छ । तर, सायासले भने आफ्नी छोरीको बिहेमा फेसबूक लाइक मागेर यमनको वैवाहिक परम्परालाई आधुनिकताको मोड दिएका छन् । करीब २ करोड ५० लाख कुल जनसङ्ख्या भएको यमनमा इण्टरनेट प्रयोगकर्ताको सङ्ख्या थोरै छ । त्यस्तो राष्ट्रमा १० लाख फेसबूक लाइकको माग गरेर उनले नयाँ इतिहास रच्न खोजेको विश्लेषण गरिएको छ । ‘यमनमा यस्तो भएको हामी पहिलोपटक सुन्दै छौं,’ त्यहाँको स्थानीय पत्रिका अल अयमका पत्रकार बस्रहिलले भने । त्यस्तै, यो घटनाले त्यहाँको आमसञ्चारजगत्मा तरङ्ग पैदा गरेको बताइएको छ ।
सो पेजलाई समर्थन गर्दै विवाह सफल बनाउन पनि आग्रह गरिएको छ । सो फ्यान पेजले हालसम्म ३० हजारभन्दा बढी लाइक प्राप्त गरिसकेको छ । दाइजोमा सुन तथा नगदको साटो यस प्रकारको डिजिटल दाइजो माग गर्नुका कारण खुलाउँदै अयासले यमनमा कसैले पनि दाइजोको भार बहन गर्न सक्ने अवस्था नरहेको बताएका छन् । विगत केही वर्षयता यमनमा दाइजोको सीमितता तोक्ने कानून निर्माण गर्न भएका असफल प्रयासतर्फ औंल्याउँदै बस्रहिलले थुप्रै युवावर्गले दाइजोकै कारण विवाह गर्न नपाएको तीतो यथार्थको पनि चित्रण उनले गरेका छन् । दाइजोको भार कम गर्न पछिल्लो समय यमनमा सामूहिक विवाह गर्ने प्रचलन पनि बढिरहेको छ । त्यस्तै, विवाहमा आर्थिक स्रोत जुटाउन छरछिमेकीले पनि सहयोग पुर्याउँदै आएका छन् । अयासको फेसबूक पेजप्रति मानिसहरुको मिश्रित टिप्पणी रहेको पाइएको छ । दाइजो प्रथाको मुद्दालाई यसरी सामाजिक सञ्जालको माध्यमबाट उजागर गरेकोमा कतिले उनको प्रशंसा गरेका छन् भने कतिले चाहिँ उनको उद्देश्यप्रति नै शङ्का गरेका छन् । ‘उनले छोरीको माध्यमबाट आफ्नो लोकप्रियता बढाउन चाहेका छन्,’ एक जना व्यक्तिले उनको फेसबूक पेजमा पोष्ट गरेका छन् । यो फेसबूक पेज उनकी छोरी वा उनको हुनेवाला ज्वाइँका लागि नभई उनको आफ्नो प्रसिद्धिका लागि भएको उनको कथन छ । यस कार्यबाट आफूले आफ्नो हुनेवाला ज्वाइँ कतिको मेहनति छ, हेर्न चाहेको बताउँदै १० लाख लाइक बटुल्न सफल भएमा तुरून्त आफ्नी छोरीको विवाह ती व्यक्तिसँग गरिदिने अयासले बताएका छन् ।