ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी कम्पनी सम्बन्धमा कानूनी व्यवस्था  

Aug 20, 2019  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar डा. अवतार न्यौपाने

व्यवसाय सञ्चालन गर्ने देशको कम्पनी कानूनअन्तर्गत दर्ता नभई अन्य देशकोे कानूनअन्तर्गत दर्ता भएको कम्पनीलाई विदेशी कम्पनी भन्ने गरिन्छ । नेपालका सन्दर्भमा, कम्पनी ऐन, २०६३ बमोजिम नेपालमा दर्ता नभई अन्य मुलुकमा रजिस्ट्रर वा दर्ता भई नेपालमा कारोबार वा व्यवसाय सञ्चालन गरेको कम्पनीलाई विदेशी कम्पनी मानिन्छ । मूलतः जुन कम्पनी जुन देशमा दर्ता भएको छ, सो देशको बाहेक अन्य देशमा समेत व्यवसाय सञ्चालन गर्छ भने रजिस्ट्रर वा दर्ता नभएका देशका लागि विदेशी कम्पनीका रूपमा लिइन्छ । विदेशी कम्पनीको दर्ता तथा सञ्चालनका सम्बन्धमा नेपालमा पहिलो पटक कम्पनी ऐन, २०२१ मा उल्लेख गरिएको थियो । उक्त ऐनमा विदेशी कम्पनीले लिखतहरू दाखिल गर्नुपर्ने र विदेशी कम्पनीको हिसाबकिताब र लेखापरीक्षण सम्बन्धी व्यवस्थाका सन्दर्भमा उल्लेख गरिएको पाइन्छ । कम्पनी ऐन, २०५३ ले कम्पनी ऐन, २०२१ को व्यवस्थालाई निरन्तरता नदिनुका साथै विदेशी कम्पनी सम्बन्धी विशेष व्यवस्थाहरू केही पनि उल्लेख गरिएन । यसरी कम्पनी ऐन, २०५३ मा नराखिएको विदेशी कम्पनीसम्बन्धी व्यवस्थालाई पुनः कम्पनी ऐन, २०६३ मा समावेश गरिएको छ ।

कम्पनी ऐन, २०६३ ले विदेशी कम्पनीले दुई अवस्था अर्थात् शाखा कार्यालय वा सम्पर्क कार्यालय स्थापना गरी आफ्नो कार्यालय सञ्चालन गर्न सक्छन् । विदेशी कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा त्यस्तो कम्पनीको शाखा कार्यालय दर्ता नगराई नेपाल राज्यभित्र कुनै व्यवसाय वा कारोबार सञ्चालन गर्न वा सम्पर्क कार्यालय दर्ता नगराई त्यस्तो कार्यालय स्थापना गर्न सक्दैन । कम्पनी ऐन, २०६३ मा विदेशी कम्पनीलाई शाखा कार्यालय र सम्पर्क कार्यालयमा विभाजित गरी तिनीहरूको दर्ता तथा सञ्चालनका सम्बन्धमा समेत फरकफरक व्यवस्था गरेको छ । 

विदेशी कम्पनीले कम्पनी ऐन, २०६३ अन्तर्गत रजिस्ट्रर गराई शाखा कार्यालयमार्फत नेपाल राज्यभित्र कुनै व्यवसाय वा कारोबार सञ्चालन गर्न सक्छन् । शाखा कार्यालय दर्ता गर्न चाहने कम्पनीले प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट प्राप्त स्वीकृतिसमेत संग्लन राखी तोकिए बमोजिमको ढाँचामा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्नका लागि निवेदन दिनुपर्छ । जस्तै ः विदेशी कम्पनीले नेपालमा बैङ्किङ व्यवसाय सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति अवश्यक पर्छ भने बीमा व्यवसाय वा कारोबार सञ्चालन गर्ने भए बिमा समितिको स्वीकृति आवश्यक पर्छ । विदेशी कम्पनीले आनो रजिस्टर्ड कार्यालय रहेको वा संस्थापना भएको मुलुकमा जुन प्रकारको व्यवसाय वा कारोबार गरिरहेको छ सोही प्रकृतिको व्यवसाय वा कारोबारमात्र गर्न पाउने गरी कम्पनी रजिस्ट्रारको कार्यालयले स्वीकृति दिनुपर्छ । 

विदेशी कम्पनीले नेपाल राज्यभित्रको कारोबारको वास्तविक स्थिति देखिने गरी वासलान तथा नाफा नोक्सानीको हिसाबसहितको वार्षिक आर्थिक विवरण तयार गरी लेखापरीक्षण गराई आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने प्रतिवेदन तथा विवरण र संग्लन हुनुपर्ने कागजात नेपाली वा अंग्रेजी भाषाबाहेक अन्य भाषामा लेखिएको भए सोको अधिकारिक नेपाली वा अंग्रेजी भाषाको अनुवादको प्रति पेश गर्नुपर्छ । 

विदेशी कम्पनीले नेपालमा सम्पर्क कार्यालय स्थापना गरेको अवस्थामा त्यस्तो कम्पनीले कुनै व्यवसाय वा कारोबार सञ्चालन गर्न पाउँदैनन् । सम्पर्क कार्यालय दर्ता गर्न चाहिने विदेशी कम्पनीले त्यस्तो कार्यालय दर्ता गर्न प्रचलित कानून बमोजिम कुनै निकायको स्वीकृति आवश्यक पर्ने भएमा त्यस्तो स्वीकृति समेत संग्लन गरी कम्पनी रजिूट्रारको कार्यालयमा दर्ताको लागि निवेदन दिनुपर्छ । सम्पर्क कार्यालयका रूपमा दर्ता भएको विदेशी कम्पनीले नेपाल राज्यभित्र आय–आर्जन हुने कुनै कार्य गर्न सक्दैन । नेपालमा दर्ता गरेको सम्पर्क कार्यालयले त्यस्तो विदेशी कम्पनीको तर्फबाट कुनै पनि कारोवार वा सम्झौता वा विदेशी कम्पनीको उत्पादन वा सेवाको बजार प्रवद्र्धन, बजार बिस्तार, विज्ञापनजस्ता कार्यहरू गर्न पाउनेछैन । नेपालमा दर्ता रहेको सम्पर्क कार्यालयले नेपालमा विदेशी कम्पनीको तर्फबाट सम्पर्क गर्ने, पत्राचार गर्ने, नेपालमा रहेको कम्पनीलाई कम्पनीको उत्पादन तथा सेवा आयात तथा प्रयोग गर्न कुनै सहयोग चाहिएमा त्यस्ता व्यक्तिहरूबाट कुनै रकम नलिई आवश्यक सहयोग गर्ने र विदेशी कम्पनीको नेपालमा कुनै एजेन्ट भए त्यस्तो एजेन्टसँग आवश्यक समन्वय गर्ने काम कारबाही गर्न पाउँछ । 

नेपालमा सम्पर्क कार्यालयमा दर्ता गराएको विदेशी कम्पनीले त्यस्तो कार्यालयमा कार्यरत कर्मचारी, सल्लाहकार वा सम्पर्क व्यक्ति तथा निजहरूलाई भुक्तानी गरिएको तलब, भत्ता तथा रकमहरूको विवरण, त्यसरी दिएको भुक्तानीमा प्रचलित कानून अनुसार कर कट्टा गरेको विवरण र त्यस्तो कार्यालय सञ्चालनका लागि भुक्तानी गरिएका बहाल तथा खर्चहरूको भुक्तानी तथा त्यसरी दिएको भुक्तानीमा प्रचलित कानून अनुसार कर कट्टा गरेको विवरण लेखापरीक्षकबाट प्रमाणित गराई आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ ।

नेपालमा शाखा कार्यालय वा सम्पर्क कार्यालय स्थापना गरेका विदेशी कम्पनीले नेपालमा बसोबास गर्ने व्यक्तिलाई आफ्नो तर्फबाट वा आफ्नो विरुद्ध चलाएको मुद्दा मामिला वा कानूनी कारबाही सम्बन्धी म्याद वा सूचना तामेल गर्ने प्रयोजनका लागि वा अन्य कुनै कानूनसम्मत सूचनाहरू प्राप्त गर्ने अख्तियार प्रदान गरी विदेशी कम्पनी संस्थापना भएको वा कम्पनीको प्रधान कार्यालय रहेको मुलुकको कानूनअनुसार रीतपूर्वक प्रमाणित भएको ढाँचामा अख्तियारनामाको प्रतिलिपि कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । विदेशी कम्पनीले नेपाल राज्यभित्र खोलेका शाखा कार्यालयले सञ्चालन गरेको कारोबार वा व्यवसाय बन्द गरी आफ्नो दर्ता खारेज गराउन सक्छ । विदेशी कम्पनीले आफ्नो कारोबार रहेको ठाउँमा सबैले देख्ने गरी आफ्नो नामको बोर्ड राख्नुपर्नेछ । त्यस्तो बोर्ड तथा कम्पनीले प्रयोग गर्ने बिल, भरपाइ, बीजक इत्यादि वा लेटरप्याडहरूमा कम्पनी स्थापना भएको मुलुकको नाम तथा नेपालमा कम्पनी दर्ता भएको दर्ता नम्बर स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ । विदेशी कम्पनीले आप्mनो शाखा कार्यालय तथा सम्पर्क कार्यालय स्थापना गर्दा नेपाली जनतासँग शेयर वा डिबेन्चर उठाउन पाउँदैन । 

न्यौपाने अधिवक्ता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)