ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा आगामी साताभित्र विद्युतीय बस सञ्चालन

भाडा अन्यको भन्दा २५% सम्म सस्तो

Aug 20, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सुन्दर यातायात प्रालिले आगामी साताभित्र विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । सम्पूर्ण तयारी पूरा भएकाले अर्को साता सञ्चालन गरिसक्ने कम्पनीले जानकारी दिएको छ । ९ गतेभित्र बस सञ्चालनको योजना रहेकोमा अन्य केही कारणले मिति सरे पनि दोस्रो साता ननाघ्ने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । 

कम्पनीले चिनियाँ कम्पनी बीएकेले उत्पादन गरेका सात बस सञ्चालन गर्न लागेको हो । कम्पनीका दुईओटा बस यसअघि नै नेपाल आइसकेका छन् । यस्तै पाँचओटा बस आइतवार कोलकाता आइपुगेकाले केही दिनमै नेपाल भित्रने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । यी बस सञ्चालन भएको १ महीनाभित्र थप ११ ओटा बसबाट सेवा दिइने उनले जानकारी दिए ।

उक्त बसको भाडा अन्य सार्वजनिक यातायातको भन्दा २५ प्रतिशतसम्म सस्तो हुने कम्पनीको दाबी छ । कम्पनीले कार्डमार्फत भाडा तिर्न मिल्ने व्यवस्था गर्ने भएको छ । टेम्पोरेरी, नर्मल, स्टुडेन्ट, सिंगल सिटिजन र कम्पनी गरी पाँच प्रकारका कार्ड सञ्चालनमा ल्याउन लागिएको कम्पनीले बताएको छ । यद्यपि यात्रुले प्रत्यक्ष रूपमा पनि भाडा तिर्न सक्नेछन् । यात्रुले आधा घण्टा अवधिमा पुनः सोही कम्पनीको सेवा लिए भाडामा छूट पाउने जानकारी दिइएको छ । 

‘तत्काल महँगो देखिए पनि दीर्घकालीन हिसाबले विद्युतीय यातायात सस्तो हुनेछ,’ कम्पनीका अध्यक्ष थापाले भने, ‘यसले पेट्रोल÷डिजेलमा बाहिरिने रकम पनि रोकिन्छ ।’ विद्युतीय बसको सञ्चालन खर्च अन्य सवारीसाधनको भन्दा धेरै कम हुने उनको भनाइ छ ।

कम्पनीले करसहित प्रतिबस रू. १ करोड ६५ लाख लागत किनेको हो । ४० सीट क्षमताका उक्त बस सञ्चालनका लागि सुकेधारा र सीतापाइलामा दुईओटा चार्जिङ स्टेशन बनाएको छ, जसमा बस निर्माता कम्पनी बीएकेले लगानी गरेको छ ।

कम्पनीले सञ्चालन गर्न लागेको बसको शक्ति १३५ किलोवाट, स्पीड २६ सय आरपीएम र टर्क २ हजार ८ सय टीपी छ । ८ दशमलव ५ मिटरको बसमा पाँचओटा र १० दशमलव ५ मिटरको बसमा सातओटा ब्याट्री रहेको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार पर्मानेन्ट म्याग्नेट सिन्चोरोनस मोटर राखिएको यो गाडीमा निकोमनयुक्त लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ ।

सुरक्षाका लागि बसको ब्याट्री ‘कभर’ गरिएको कम्पनीका अध्यक्ष थापाले बताए । उक्त बसमा अगाडि र बीचमा दुईओटा ढोका राखिएका छन् । ढोका बन्द नभएसम्म बस नचल्ने भएकाले सम्भावित दुर्घटनाबाट बच्न सकिने उनले दाबी गरे । ‘आगो लाग्ने सम्भावनाबाट बच्न सूचना दिने फायर एस्टिङ्ग्विसर प्रविधि छ,’ उनले भने, ‘वातावरणमैत्री यो बसले ध्वनि प्रदूषण गर्दैन ।’ बसमा भित्र–बाहिर ७ ओटा क्यामेरा, अगाडि–पछाडि २ ओटा भेन्टिलेशन र सम्भावित दुर्घटना हुनबाट सुरक्षा दिने एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) प्रयोग गरिएको उनले बताए । 

यातायात व्यवस्था विभागले सोमवार कम्पनीलाई थप बस आयातका लागि स्वीकृति दिएको छ । आगामी १ वर्षभित्र पूर्वाञ्चलमा पनि बस थपेर २५ ओटा पुर्‍याइने अध्यक्ष थापाले बताए । यस्तै अन्य ठाउँमा पनि बस सञ्चालन गर्दै जाने योजना रहेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)