उपरोक्त डा. अर्थमन्त्री (अम) ले पुर्ख्यौली सम्पत्ति हस्तान्तरण गर्दा पनि कर लिने योजना बनाएको कुरा बाहिर आएको छ । यो सही होला वा गलत । तर सही कुरा के हो भने नयाँ सरकार आएपछि जनताबाट हरेक गतिविधिमा कर असुली ह्वात्तै बढाइएको छ । संघीयताले उपहार दिएका असुलीको त छुट्टै लामो सूची छँदै छ । तर यसमा अमलाई दोष दिने ठाउँ छैन । किनकि असुली गर्न सिकाएको नेपाली जनताले नै हो र असुली नेपाली संस्कृतिकै एक अभिन्न अंग हो । नपत्याए तलका केही उदाहरण हेरौं–
विदेशीहरू जस्तो कुनै वस्तुको एकपटक प्रयोग गरेपछि फ्याँक्ने बानी नेपालीहरूको छैन । १० रुपैयाँमा किनेको सामानलाई पनि दशै दिशाबाट कसरी उपयोग गर्ने वा मूल्यको पूर्ण असुली कसरी गर्ने भन्ने नेपालीले जानेका छन् । जस्तै– पानी वा कुनै पनि पेयपदार्थ उपभोग गरिसकेपछि खाली बोतल हामी फ्याँक्दैनौं । प्लास्टिक उपयोगको जसले जति बदख्वाइँ गरे पनि खाली बोतलहरूले हाम्रा फ्रिजको शोभा बढाइरहेका हुन्छन् । अचारका बोतल, दही वा चियाका डब्बा वा अरू यस्ता बोतल वा डब्बा जो सामान किन्दा आउने गर्छन्, वर्षौंसम्म हाम्रो भान्साको शान बनिरहेका हुन्छन् ।
भलै असुल गर्ने आइडिया अर्थमन्त्रीको आफ्नो ‘ओरिजिनल’ भने होइन । यो त माथि उदाहरणमा भनेजस्तै नेपाली जनताबाट उहाँले सिक्नुभएको हो । तर अहिलेसम्म अमले असुल गर्ने कुरामा विद्यावारिधि नै गरिसक्नुभयो जस्तो छ ।
हामी त टूथपेस्ट र सेभिङ क्रिमका ट्युबसमेत तलबाट काटेर भित्रको बचेखुचेको क्रिम प्रयोगमा ल्याउँछौं । किनकि अलिकति पनि खेर फ्याँक्नु हाम्रो संस्कृतिमा पर्दैन । यहाँसम्म कि, हामी त ब्रश पनि पहिले दाँत माँझ्न प्रयोग गर्छौं । त्यसपछि भाँडा माँझ्न वा कुनाकानी सफा गर्न । त्यसपछि ब्रशपट्टिको भाग काटेर सुरुवालमा इजार हाल्न प्रयोगमा ल्याउँछौं । असुली त यसरी पो हुन्छ त ।
हामी वस्तुहरूबाट पूर्ण बफादारी असुल गर्छौं, ताकि त्यस वस्तुको अन्तिम साससम्म त्यसको उपयोग गर्न सकौं । जस्तै– कुनै नयाँ कपडा शुरूमा घर बाहिर जाँदा मात्र लाउने गर्छौं । अलि पुरानो भएपछि घरभित्र मात्र लगाउँछौं । त्यसपछि त्यो कपडा डस्टर वा पुछपाछ गर्ने काममा प्रयोग हुन्छ । हामीमध्ये कत्ति त यति महान् छौं कि, पुराना कपडा र अझ कट्टूलाई समेत भान्सामा आदरसहित प्रयोग गर्छौं ।
हामी नेपालीहरू पैसा खर्च गरेसि त्यसको मूल्य त असुल उपर गर्छौं, खर्च नगरेको ठाउँको समेत बढी असुल गर्न छाड्दैनौं । जस्तै– आफ्नै पैसा तिरेर बाहिर रेस्टुराँतिर खाना खान गइयो भने पहिले त सोच विचार गरेर ठिक्क पुग्नेगरी नै खाना मगाउँछौं । तैपनि खाना बच्यो भने कि त ठोसेरै पनि खाना सिध्याउँछौं, नत्र भने प्याक गर्न लगाएर घर ल्याउँछौं । रेस्टुराँबाट फर्किंदा न्यापकिनमा सौंफ पोको पारेर हाल्न बिर्संदैनौं । किन बिर्सने त ! पैसा तिरेपछि गर्नुपरेन त पूरै असुल ? अझ बिहे, व्रतबन्ध भोजहरूमा गयौं भने त प्रायः सबै आइटम नचाखी छाड्दैनौं । भए जति खानाहरू उरुङ लगाएर प्लेटमा हाल्छौं र मन नपरे डस्टबिनमा फाल्दिन्छौं । यो पनि अर्को प्रकारको असुली नै हो । किनकि आफ्नोमा आउँदा अरूहरूले पनि त्यसै गरेका हुन्छन् नि त !
अझ कुनै कुरा सित्तैमा पाइन्छ भन्ने थाहा भयो भने त झन् कुरै अर्को । सित्तैमा अर्थात् ‘फ्री’ भन्ने शब्दले हामीलाई यति आकर्षित गर्छ कि, यदि कुनै सामानसँग कुनै सानो कुरा सित्तैमा पाइन्छ भन्ने थाहा भयो भने त्यो कुरा आफूलाई नचाहिने रहेछ भने पनि हामी सामान चाहिँ किनिहाल्छौं । अरे हामी नेपाली अर्थात् असुल गर्ने कुरामा पक्का पो छौं त ।
यसरी असुल गर्ने कुरामा हामी विश्वमा शायद एक नम्बरमै छौं होला । जनता नै यसरी असुल गर्ने कुरामा अब्बल भएसि मन्त्रीले वा सरकारले पनि जनताबाट सकेजति असुली गर्न खोज्यो भनेर कराउन मिल्छ र ? आफूहरू चैं टूथपेस्टको ट्युब समेत निचोर्न नछाड्ने, अनि मान्छेले कागती निचोरेझैं अमले अनेकथरी कर थोपरेर जनतालाई निचोरे भन्न पाइन्छ र ? वास्तवमा उहाँ प्रयोग पनि गर्दै हुनुहुन्छ कि नेपाली जनताले कति सहन सक्छन् भनेर । हुन पनि उहाँलाई सरकार चलाउन राजस्व उठाउनु पनि छ । राजस्व उठाउने उहाँको काम हो । पैसा जम्मा गर्दिने हो । सरकारले खर्च गर्न सक्तैन भनेर हेर्ने काम उहाँको होइन । देशमा उत्पादन बढेको छैन । रोजगारी बढेको छैन । खाने मुख धेरै छन् । अनि मन्त्री, नेता, कर्मचारीको बढ्दो खर्च र बढ्दो आकांक्षालाई सम्बोधन गर्नुपर्ने पनि छ । त्यो गर्ने भनेको पैसैले हो । त्यसैले अमले देशैभरि सकेजति असुली बढाइरहनु भएको हो ।
भलै असुल गर्ने आइडिया अर्थमन्त्रीको आफ्नो ‘ओरिजिनल’ भने होइन । यो त माथि उदाहरणमा भनेजस्तै नेपाली जनताबाट उहाँले सिक्नुभएको हो । तर अहिलेसम्म अमले असुल गर्ने कुरामा विद्यावारिधि नै गरिसक्नुभयो जस्तो छ । बरु अब भने असुली कसरी गर्नुपर्छ भन्ने कुरा जनताले अमबाट चैं सिक्नुपर्ने भयो । अमको असली असुली ज्ञानले यो वर्षको अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउन बेर छैन है !