ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्यात प्रवर्द्धक निकायको क्षमता

तथ्यांक व्यवस्थापनमा सफलता 

Aug 26, 2019  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar कृष्णराज बजगाईं

निर्यात वृद्धिका लागि आवश्यक पर्ने तमाम संस्थागत व्यवस्थाहरू मध्ये व्यापार प्रवर्द्धक निकाय पनि एक हो । यही आवश्यकतालाई दृष्टिगत गरी वि.सं. २०२७ सालमा नेपालमा पनि व्यापार प्रवर्द्धन केन्द्र (हाल व्यापार तथा निकासी प्रवद्र्धन) स्थापना भएको हो । नेपालको निर्यात व्यापारको विस्तार, नीति तर्जुमा, व्यापार सम्बद्ध तथ्यांक र सूचनाहरूको संग्रह तथा प्रवाहमा स्थापनाको प्रारम्भिक कालमा यस केन्द्रले निर्वाह गरेको भूमिका अविस्मरणीय छ । त्यस कालखण्डका निर्यातकर्ता, उत्पादक, अनुसन्धानकर्ता, प्राज्ञिक समुदाय, कर्मचारीतन्त्र र नीतिनिर्माताहरूका लागि व्यापार प्रवद्र्धन केन्द्र ज्ञानको स्रोतविन्दुका रूपमा रहेको थियो । नेपाल राष्ट्र बैंकको स्थायी जागिर छाडेर केन्द्रमा सेवा गर्ने लहर थियो । केन्द्र नेपालका मेधावीहरूको पहिलो प्राथमिकता थियो । 

अहिले पनि व्यापारसम्बद्ध अनुसन्धान र नीति तर्जुमाको तथ्यांकको स्रोत केन्द्र नै रहेको छ । विगत ५० वर्षको नेपालको वैदेशिक व्यापारको व्यवस्थित तथ्यांक भण्डार केन्द्रको मात्र नभई नेपालको सम्पत्ति नै हो । एचएसकोड प्रणालीमा व्यवस्थित तथ्यांकहरू नियमित रूपमा सेवाग्राहीले मागअनुसार तुरुन्त उपलब्ध गराउने दक्षता र क्षमता पनि केन्द्रसँग रहेको छ । व्यापार तथ्यांक प्रवाहमा दशकौंका संस्थागत स्मरणहरू नेपालका अमूल्य निधिका रूपमा रहेका छन्, जो अन्तरराष्ट्रिय मापदण्डमा सेवाग्राहीको सहज पहुँच स्थापित छ । वाणिज्य सन्धिका गृहकार्यहरू, भन्सार छुटका सूचीहरू, द्विपक्षीय र बहुपक्षीय व्यापार भेटघाट र वार्ताका लागि एजेण्डा र सरोकारहरू सूचीकरण कार्यमा केन्द्रको पृष्ठपोषण उल्लेखनीय छ । व्यापार तथ्यांक र सूचनाहरू प्रवाहलाई आधुनिक प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारका कार्यहरू जारी छन् । एक्सपोर्ट इम्पोर्ट डाटा बैंकबाट प्रदान गरिएको छ । नेपाल टेड्र पोर्टलको सञ्चालनसँगै यी क्रियाकलापहरूमा सेवाग्राहीको पहुँच अझ सजह हुनेछ । केन्द्रमा हालै स्थापित हेल्प डेस्कको सञ्चालन पश्चात् नेपाली निर्यातकर्ताहरूलाई निर्यात सम्बद्ध जानकारीहरू एकै स्थलबाट सहज र प्रभावकारी रूपमा प्राप्त हुने निश्चित छ ।

हाल नेपालको निर्यात व्यापार ११३ ओटा जति देशमा विस्तार भइसकेको छ । निर्यातमा संरचनागत परिवर्तन आई कृषिजन्य वस्तुहरूको वर्चस्व रहेको निर्यात व्यापारमा निर्मित वस्तुहरूको वर्चस्व कायम हुन पुग्यो । चाडपर्व आधारित परम्परागत हाटबजार मेलाको स्वरूप परिवर्तन भई नेपाल अन्तरराष्ट्रियस्तरका व्यापारमेला आयोजना गर्न सक्षम भएको छ । दूरदराजसम्म व्यापार मेला र प्रदर्शनी गर्न स्थानीय समूहहरू समेत सक्षम भएका छन् । नेपाली निर्यातकर्ताहरू अन्तरराष्ट्रियस्तरका व्यापार मेलाहरूमा विकसित मुलुकका निर्यातकर्ताहरूकै मापदण्डमा प्रदर्शन गर्न सक्षम भएका छन् । यी सबै क्रियाकलापमा नेपालको निजी क्षेत्रलाई सक्षम बनाउन केन्द्रले निर्वाह गरेको भूमिका सर्वविदितै छ । 

 हाल केन्द्रको पहलमा अन्तरराष्ट्रिय मेलाहरूमा नेपालको सहभागितामा व्यापकता आएको छ । मेलाहरूमा नेपाली व्यापारीहरूले आकर्षक अर्डरहरू पाउन थालेका छन् । गत वर्ष संयुक्त राज्य अमेरिकाको लसभेगासको सोर्सिङ फेयरमा केन्द्रको पहलकदमीमा नेपाली तयारी पोशाक व्यापारीले गरेको सहभागितामा नेपाली तयारी पोशाक निर्यातकर्ताले ५० लाख अमेरिकी डलर बराबरको अर्डर प्राप्त गरेका थिए । यस्ता मेलाहरूले नेपाली वस्तुहरूलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गराउन केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

केन्द्रकै व्यवस्थापनमा सार्क व्यापार मेलाहरू र नेपाल चीन तिब्बत आर्थिक तथा व्यापार मेलाहरूका विभिन्न चरणहरू सञ्चालन हुँदै आएका छन् । गत आर्थिक वर्षमा मात्रै केन्द्रको पहलमा जापान, चीन, भारत, बंगलादेश, संयुक्त राज्य अमेरिका, जर्मनी, जापान, दुबईमा गरी १२ ओटा मेलाहरू आयोजना भए । निर्यात व्यापारको सुदृढ जग स्थापना गर्न यी गतिविधिहरूले गति (मोमेन्टम) ल्याउन सफल भएका छन् । केन्द्रकै पहलमा चोभारमा अन्तरराष्ट्रिय मेला तथा प्रदर्शनीस्थलको गुरुयोजना तर्जुमा गर्ने प्रक्रिया शुरू भएको छ । यसको सफल कार्यान्वयनले नेपाली वस्तुहरूको आन्तरिक र बाह्य दुवै बजारमा पहिचान स्थापना गर्न महŒवपूर्ण सम्पर्क सेतु बन्ने निश्चित छ । 

व्यापार सम्बद्ध अनुसन्धान र स्रोत सामग्री उत्पादन पनि केन्द्रको प्राथमिकतामा छ । वस्तुगत र देशगत प्रोफाइलहरू नियमित रूपमा उत्पादन हुने गरेका छन् । नेपालको इतिहासमा नै पहिलो पटक सातओटै प्रदेशहरूको निर्यात सम्भावना, आयात प्रतिस्थापन र अन्तरप्रदेश व्यापार गर्न सकिने वस्तु तथा सेवाको प्रोफाइल तयार भएको छ । गत वर्ष मात्रै नेपालले प्रमुख निर्यातयोग्य देशहरूको देशगत प्रोफाइल तयार गरेको छ । 

सामान्य ग्राह्यता प्रणालीको सुविधा प्राप्त मुलुकमा नेपाली वस्तुहरू निर्यात गर्न जीसएपी सम्बन्धी कार्य तथा निर्यातकर्ता लक्षित बजार पहुँच र निर्यात प्रक्रिया सम्बन्धी तालीम कार्यक्रमहरू केन्द्रले सञ्चालन गर्दै आएको छ । युरोपेली मुलुक लक्षित रेक्स प्रणालीमा दर्ता तथा सहजीकरण सेवा केन्द्रले प्रदान गरिरहेको छ । 

निर्यातकर्ताहरूका समस्याहरू सम्बन्धित सरकारी निकायहरू समक्ष पुर्‍याई समस्या समाधानमा केन्द्रले सम्पर्क सेतुको काम गरिरहेको छ । नेपाली वस्तुहरूलाई अन्तरराष्ट्रिय जगत्मा पहिचान सहज बनाउन सामूहिक व्यापार चिह्न दर्तामा केन्द्रको भूमिका उल्लेख्य छ ।  

केन्द्रले निर्यात उद्योगहरूका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास र दक्षता अभिवृद्धिमा आवश्यक तालीम सञ्चालन गर्दै आएको छ । तयारी पोशाक र ऊनी गलैंचा क्षेत्रले भोगिरहेको जनशक्तिको कमीलाई यी कार्यक्रमले केही हदसम्म कम गरेको छ । 

सीमित साधनस्रोत हुँदाहुँदै पनि केन्द्रले नेपालको निर्यात व्यापार प्रवद्र्धनको भूमिका दक्षतापूर्वक निर्वाह गरिरहेको छ । परन्तु प्राविधिक चरित्रको कार्यक्षेत्र रहेको केन्द्रमा विशेषज्ञ जनशक्तिको साटो सामान्यज्ञ जनशक्तिको बाहुल्य हुँदै जाँदा केन्द्रको प्रभावकारितामा व्यापक ह्रास आएको विज्ञहरूको निष्कर्ष छ । क्रियाशील हुनुपर्ने क्षेत्रमा निष्क्रिय हुने र क्रियाशील नहुनु पर्ने क्षेत्रमा सक्रिय हुँदा व्यापार प्रवर्द्धक निकायहरू असफल हुने निष्कर्ष विश्व बैंकको पनि रहेको छ । यो दुव्र्यसन केन्द्रमा पनि व्याप्त छ । सहजकर्ताको भूमिकाबाट विमुख हुँदा केन्द्रको प्रभावकारितामा ह्रास आएको हो । यसै गरी कार्यक्रम तर्जुमादेखि बजेट विनियोजनसम्म तदर्थवादको अनुशरण गरिँदा र कार्यक्रम स्वीकृति प्रक्रियामा केन्द्र, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयबीच समन्वय हुन नसक्दा लहडमा कार्यत्रमहरू स्वीकृत र अस्वीकृत हुने अवस्था सृजना भएको छ । 

उपरोक्त पक्षहरूलाई दृष्टिगत गरी देहायका पक्षमा विशेष ध्यान दिनु जरुरी छ । सर्वप्रथम, कमजोर कानूनी संरचनामा गठित केन्द्रलाई कानूनी रूपमा ऐनद्वारा व्यवस्थित गर्दै नेपालका सम्पूर्ण मेला महोत्सवको मापदण्ड निर्धारण, स्वीकृति, सञ्चालन र नियन्त्रण गर्न सक्ने गरी प्राधिकरणको ढाँचामा नियामक निकायको रूपमा स्तरोन्नति गर्नु आवश्यक छ । 

दोस्रो, एक सहजकर्ताको रूपमा निर्यात सम्बद्ध सूचना तथा सहायता सेवाहरूको प्रवाह, बजार अनुसन्धान, विदेशी आयातकर्ता लक्षित व्यावसायिक भेटघाट तथा कन्फरेन्सहरूको आयोजना, व्यापार मेलाहरूमा अधिकतम सहभागिता, निर्यातकर्ताहरूको क्षमता अभिवृद्धि, निर्यातकर्ता र आयातकर्ताबीच सम्पर्क स्थापना क्षेत्रमा केन्द्रको भूमिका केन्द्रित गरिनुपर्दछ । तेस्रो, केन्द्रको प्राथमिकता प्राप्त क्षेत्रमा बजेट विनियोजन गर्दा पर्याप्त बजेट विनियोजन गर्न अर्थ मन्त्रालय सहमत हुन आवश्यक छ । 

चौथो, स्वदेशी वस्तु र सेवाहरूलाई अन्तरराष्ट्रिय जगत्मा पहिचान गराउने सबैभन्दा महŒवपूर्ण माध्यम भनेको एक्स्पोहरू नै हुन् । यस पक्षलाई दृष्टिगत गरी हरेक १० वर्षमा नेपाल एक्स्पो आयोजना गर्नेतर्फ हाम्रो सोच जानु आवश्यक छ । सन् २०३० मा नेपाल एक्स्पो आयोजना गरी यस चरणमा नेपाल प्रवेश गर्नुपर्दछ । यस प्रकारको एक्स्पोले विश्वका आयातकर्ताहरूसँग नेपाली निर्यातकर्ताहरूले एकैचोटी सम्पर्क स्थापना गर्ने अवसर प्रदान गर्नेछ ।   
   
सारांशमा भन्नुपर्दा वस्तु र बजार पहिचान, व्यापार सूचना सेवा, विशेषीकृत सहायता सेवा र नेपाली उत्पादनको विदेशमा प्रवर्द्धनात्मक क्रियाकलापमा केन्द्रका सारा सक्रियताहरू केन्द्रित हुुनुपर्दछ र यसै आधारमा प्राथमिकता निर्धारण र बजेट तर्जुमा हुनु आवश्यक छ ।   

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)