नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मा आवश्यकताको अध्ययन विना नै पुल निर्माण गरिएको छ । उक्त पुल सडक वा खोलामा बनाइएको छैन । रू. ४ करोड १२ लाख ९० हजार खर्चेर पुल बनाइएको थियो ।
पुल बने पनि आवतजावत गर्ने मानिस र सवारीसाधन नहुँदा प्रयोगविहीन भएको छ । राजमार्गका कतिपय अत्यावश्यक ठाउँमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ भने कतै पुल बनेर पनि प्रयोग नहँुदा बजेटको दुरुपयोग भएको स्थानीयवासीले गुनासो गरेका छन् । ‘यो बजेट विकासका अन्य काममा खर्चिएको भए ठूलो लाभ लिन सकिन्थ्यो होला,’ राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकराम थारूले भने, ‘हचुवाका भरमा पुल बनाउँदा प्रयोगमा आउन सकेन । सडक विनाको पुलको के अर्थ ?’ सडक कार्यालयको सुझबुझविना हतारमा निर्णय लिँदा अहिले समस्या देखिएको उनले बताए ।
नेपालगञ्ज–नरैनापुर हुलाकी सडक खण्डको राप्ती नदी किनार नजीकै बनाइएको ५० मिटर लामो पुल प्रयोगमा नआउँदा सवारीसाधन कच्ची बाटो हुँदै आवतजावत गर्दै आएका छन् । सोही स्थानमा करीब १ किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने अवस्था देखिएपछि सडक निर्माण रोकिएको हुलाकी सडक आयोजना, नेपालगञ्ज कार्यालयका इन्जिनीयर रामसागर हरिजनले बताए ।
२०७१ असार २५ मा ठेक्का सम्झौता भएर २०७६ जेठ ३० मा सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण प्रगति ७३ प्रतिशत रहेको आयोजनाले बताएको छ । ‘पहिले बीचमा पुल बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो,’ हरिजनले भने, ‘तर त्यो सम्भव नभएपछि सडक निर्माण रोकिएको हो ।’
अहिले सडक बनाउँदा लगानी खेर जाने भएपछि निर्माण रोकिएको हरिजनको भनाइ छ । १ किलोमिटर क्षेत्रमा पुल निर्माणका लागि अध्ययन भएर डिजाइनको काम भइरहेको उनले जानकारी दिए । वर्षात्मा राप्ती नदीमा पानीको बहाव बढ्ने हुँदा आफूहरूले आवतजावतमा समस्या झेल्दै आएको स्थानीय रामकुमार चौधरीले गुनासो गरे । ‘पानी बढ्यो भने वारपार गर्न सकिँदैन,’ उनले भने, ‘यसबाट मोटरसाइकल तथा साइकल चालक र पैदल यात्रु बढी मर्कामा परेका छन् ।’
जोखिमपूर्ण यात्रा
बाँकेको कर्णाली भनेर चिनिने बाँके राप्तीपारिका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राप्ती नदीमा पुल नहुँदा त्यहाँका बासिन्दाको दिनचर्या कष्टकर बनेको हो । यहाँका बासिन्दाले खोला तर्न काठको डुंगाको सहारा लिने गरेका छन् । राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएको डुंगा सञ्चालक जगत पालले बताए ।
खल्ला झगडिया गाउँभन्दा २ सय मिटर पर नदी किनारमा डुंगा तयारी अवस्थामा राखिन्छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवा लगायत गाउँका बासिन्दा आफ्ना खेतबारी जान, आफन्तलाई भेट्न, हाटबजार गर्न डुंगामार्फत नदी पार गर्छन् । भारतीयसँग भाडामा ल्याएर डुंगा चलाइएको छ ।