ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शो आजदेखि : सहभागी कम्पनीबीच छूट र स्कीमको प्रतिस्पर्धा

Aug 27, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । नाडा अटो शोको १४औं संस्करण मंगलवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदै छ । सोमवार मेलाको स्टल निर्माण लगायत सम्पूर्ण तयारी पूरा भएको आयोजक नाडा अटोमोबाइल्स डिलर एशोसिएशन अफ नेपालका सचिव अनुप बरालले जानकारी दिए । मेलाको मंगलवार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम छ ।

यसपटकको मेलामा १६० ओटा स्टल तथा ब्लक रहेका छन् भने ९५ ओटा कम्पनी सहभागी हुने आयोजकले बताएको छ । अटो शोमा सहभागी कम्पनीले अवलोकनकर्तालाई आकर्षण गर्न आप्mना विभिन्न ब्रान्डका नयाँ सवारीसाधन प्रदर्शन गर्दै छन् । अटोमोबाइलको ब्रान्डिङ गर्ने र सवारीसाधनको बारेमा जानकारी दिने उद्देश्यले विक्रेता कम्पनी नयाँ स्कीम र छूटको अफर सहित प्रदर्शनीमा सहभागी हुने गरेका छन् । सरकारले अटोमोबाइल क्षेत्रलाई कडाइ गरेपछि यस उद्योगमा त्यसको असर परे पनि ग्राहकका लागि भने यो प्रदर्शनी पहिलेभन्दा लाभदायी हुने आयोजक संस्थाका एक सदस्यले बताए । ‘विभिन्न कम्पनीले गतवर्षको भन्दा बढी छूट र विशेष स्कीमको अफर ल्याएका छन्,’ उनले भने, ‘जसकारण ग्राहकका लागि यो पहिलेको भन्दा थप आकर्षण हुन सक्छ ।’ ग्राहकलाई आकर्षण गर्न कम्पनीहरूबीच छूटको प्रतिस्पर्धा नै चलेको उनले बताए ।

मेलामा पहिलोपटक हाइब्रिड गाडी राखिएका छन् भने विद्युतीय सवारीसाधन पनि मुख्य आकर्षण हुनेछन् । मेलामा सुजुकीले एसक्रस, सियाज र एर्टिगा मोडलको हाइब्रिड कार प्रदर्शनी गर्दै छ । त्यस्तै टोयोटाले क्याम्री र र्‍याभफोर मोडलका हाइब्रिड गाडी राख्दै छ ।

एमजीले जेडएस, कियाले निरो, बीवाईडीले एम ३, टाटाले टिगोर, हुन्डाईले कोना, प्युजोले पार्टनर टीपी र दाहेले दाहे मोडलको विद्युतीय सवारीसाधन प्रदर्शनी गर्दै छन् । मियामा, निउ र सुपर सोकोले आफ्ना विद्युतीय स्कूटर प्रदर्शनीको तयारी गरेका छन् । यसैगरी होन्डाले सिभिक, रेनोले ट्राइबर र डस्टर, हुन्डाईले भेन्यू, टाटाले एचफाइभ, महिन्द्राले एक्सयूभी, फोर्डले इकोस्पोर्ट थन्डर, स्याङ्योङले म्युसो ग्रान्ड लगायत चारपांग्रे गाडी प्रदर्शनीमा राख्दै छन् । दुईपांग्रेतर्फ बजाजले एनएस २०० एबीएस, रनरले हक, हिरोले एक्सपल्स २००, बीएमडब्ल्यूले जी ३१० र जीएस ३१०, रोयल इन्फिल्डले गन मेटल ग्रे, अप्रिलियाले स्ट्रोम १२५, एसआर १५० र एसआर १५०, केटीएमले ड्युक २०० एबीएस, एमभी अगस्टाले ब्रुटाले ८०० आरआर लगायत सवारीसाधन मेलामा प्रस्तुत हुँदै छन् । केही कम्पनीले पहिल्यै विक्री शुरू गरेका सवारीसाधनका मोडल पनि प्रदर्शनीमा राख्ने तयारी गरेका छन् ।

नेपालमा अन्तरराष्ट्रिय ब्रान्डका सवारीसाधनको आधिकारिक विक्री गरिरहेका सबैजसो कम्पनी यसपालिको मेलामा समेटिएको नाडाका अध्यक्ष शम्भु दाहालले बताए । उनका अनुसार बीवाईडी, दाहे, डीएफएसके, माज्दा र मित्सुबिसी ब्रान्डका सवारीसाधन विक्रेता कम्पनी पहिलोपटक अटो शोमा सहभागी भएका छन् । यस्तै दुईपांग्रेतर्फ बीएमडब्ल्यू, जिनियस, जीपीएक्स, एमभी अगस्टा र सुपर सोका सवारीसाधन विक्रेता पनि यो मेलामा पहिलोपटक सहभागी भएका हुन् । २३ ब्रान्डका दुईपांग्रे, १९ ब्रान्डका चारपांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट्स, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री १४ ब्रान्डका ग्यारेज उपकरण विक्रेता कम्पनी प्रदर्शनीमा सहभागी छन् । गतवर्ष स्टल अभावले बैंक र इन्स्योरेन्सलाई समेट्न नसकिएकोमा यस वर्ष १३ ओटा बैंक तथा वित्तीय संस्थाका स्टल रहेको अध्यक्ष दाहालले जानकारी दिए ।

२०५५ देखि शुरू भई हरेक २ वर्षमा आयोजना हुने गरेको नाडा अटो शो २०६८ पछि निरन्तर प्रत्येक वर्ष हुँदै आएको छ । १५ गतेसम्म चल्ने मेला ७५ हजारले अवलोकन गर्ने अनुमान छ । गतवर्षको नाडा अटो शोमा रू. ५ अर्बबराबरको कारोबार भएकोमा यस वर्ष सोभन्दा बढीको गर्ने लक्ष्य आयोजकको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)