ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारत र चीनले निर्माण गर्ने विद्यालयको शुरू भएन काम

Sep 1, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

दोलखा । दोलखा जिल्लामा भारत र चीनले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका सामुदायिक विद्यालय भवनको निर्माण शुरू हुन सकेको छैन । २०७२ को भूकम्पले ध्वस्त बनेका विद्यालय निर्माणका लागि भारत र चीनले प्रतिबद्धता गरेका थिए । भारतले १० र चीनले ३ ओटा विद्यालय पुनर्निर्माण गर्ने बताएका थिए । 

जिल्लामा एशियाली विकास बैंक (एडीबी) ले निर्माण गर्ने भनेका विद्यालयहरू निर्माण भई भटाभट हस्तान्तरण भइरहेका छन् । तर भारत र चीनले निर्माण गर्ने भनेका विद्यालयको काम अझै शुरू नहुँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । लामो समयसम्म विद्यालय भवन निर्माण नहुँदा पठनपाठनमा समस्या परिरहेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूको गुनासो छ ।

भूकम्पले विद्यालय भत्काएलगत्तै भारत सरकारले दोलखाका कालिञ्चोक मावि चरिकोट, कालिनाग मावि सुनखानी, भीम मावि दोलखा, क्षत्रावती मावि क्षेत्रपा, कालिढुंगा मावि मिर्गे, कालापानी मावि जफे, शान्तिआदर्श मावि लादुक, मानेडाँडा मावि झ्याँकु, दुर्गा मावि मागापौवा तथा गुप्तेश्वर मावि मालुको विद्यालय भवन निर्माण गर्ने जिम्मा लिएको थियो ।

यस्तै, चीन सरकारले शिक्षा विभागमार्फत भूकम्पअघि नै निर्माण गर्ने जिम्मा लिएको दोलखाको जिरी नगरपालिकास्थित जिरी माविको भवन अहिलेसम्म निर्माण गरेको छैन । चीन सरकारले रू. १ अर्ब १७ करोडको लागतमा विद्यालय भवन निर्माण गर्ने बताए पनि अहिलेसम्म निर्माण प्रारम्भ भएको छैन । भूकम्पपछि निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको सर्व मावि जिलु र कालिनाग मावि सिँगटीको पनि निर्माण शुरू भएको छैन ।

भारत तथा चीनले निर्माण गर्ने भनेका विद्यालयहरूको निर्माणमा ढिलाइ भए तापनि ती विद्यालयका भवनहरूको ड्रइङ तथा डिजाइनको काम सकी टेन्डर प्रक्रियामा जान लागेको बुझिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाका सूचना अधिकारी इन्जिनीयर राजेन्द्र श्रेष्ठले आर्थिक अभियानलाई बताए । तर सरोकारवाला विद्यालयका प्रधानाध्यापकले भने विद्यालय भवन ढिलो निर्माण शुरू हुँदा स्थान अभावले पठनपाठनमा समस्या परेको बताए । यथाशीघ्र भवन निर्माण हुनुपर्ने उनीहरूको माग छ ।

एडीबीको सहयोगमा बन्ने विद्यालय भवनहरू पहिलो चरणमा १२ ओटा सम्पन्न भइसकेका छन् भने ईईपीए कार्यक्रमअन्तर्गत २२ ओटा भवन सम्पन्न हुने अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाले बताएको छ । यस्तै डीआरएसपी पहिलो चरण अन्तर्गत १२ ओटा विद्यालय भवन निर्माणाधप्न छन् भने दोस्रो चरण अन्तर्गत १५ ओटा भवन प्रस्ताव रहेका छन् । डीआरएसपी दोस्रो अन्तर्गतका भवनहरूको निर्माण पनि यसै वर्षदेखि शुरू हुने उक्त कार्यालयले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)