मेला र प्रदर्शनी हाम्रो समाजको अभिन्न अंगका रूपमा रहँदै आएका छन् । संस्कृत शब्दकोशमा स्थानीय व्यापार मेलाहरूका लागि हट्ट, अन्तरराष्ट्रिय स्तरका व्यापार र मेलाका लागि निर्घट, व्यापार मेलामा राखिने स्टलहरूका लागि विपणी, शुल्क नलाग्ने व्यापार मेलाका लागि निर्मुट र प्रशस्त प्रयोग भएको पाइन्छ । परन्तु, हाम्रो समाजमा व्याप्त विस्मृतिका कारण व्यापार मेलाका गतिविधिहरू शून्यमा मात्र झरेनन् व्यापार मेला डोेकोमा सागसब्जी लिएर दैनिक गर्जो टार्ने क्रियाकलापमा सीमित भयो ।
हाम्रो समाज अधोपतनतर्फ उन्मुख भइरहँदा यूरोपको पुनरोदय (रेनासाँ) को एउटा अभिन्न तत्त्वको रूपमा व्यापार मेला/प्रदर्शनी देखा पर्यो । उत्पादक, कालिगढ आआफ्ना उत्पादनलाई विभिन्न शहरहरूमा मेलाहरू मार्फत विक्रय तथा प्रवद्र्धन गर्न थाले । अठारौं शताब्दीसम्म आइपुग्दा यूरोप र उत्तरी अमेरिकामा औद्योगिक प्रदर्शनीहरू औद्योगिक क्रान्तिको प्राविधिक गतियोगलाई परार्वतन गर्ने माध्यम बन्न थाले । उन्नाइसौं शताब्दीमा यस्ता मेला र प्रदर्शनीहरू व्यापक विस्तार हुँदै गयो र देशविशेष, वस्तु विशेष, समय विशेष, स्थान विशेषका व्यापार मेला र प्रदर्शनीहरू आयोजना हुन थाले । मेला र प्रदर्शनीहरूको नियमन, स्तर निर्धारण र आचारसंहिताहरूको व्यवस्था हुन थाले । मेला प्रदर्शनीस्थलहरू आफ्ना चमत्कार, वैभव परीक्षणस्थल मात्रै हैनन्, आफ्ना उत्पादनहरू विश्वभरका पारखीहरूमाझ पस्किने माध्यम पनि बन्न थाले । एशियामा आएको समृद्धिसँगै यो महादेशमा पनि मेला र प्रदर्शनीहरूको लहर चल्न थालेको छ ।
मेला र प्रदर्शनीको विश्वव्यापी यस लहरको बाछिटा नेपालमा अनुभव गर्न सकिन्छ । हाटमा खुम्चिएको मेला प्रदर्शनी हालका दिनमा आएर अन्तरराष्ट्रियस्तरका व्यापारमेलाहरू आयोजना गर्ने कौशल नेपालले प्राप्त गरिसकेको छ । तर, यी कौशल बाछिटा भन्दा माथि उठिसकेका भने छैनन् । मेला र प्रदर्शनीहरूको महŒवलाई सरकार र निजीक्षेत्र दुवैतिरका सरोकारवालाहरूले आन्तरिकीकरण गर्न सकेका छैनन् । यसैले नेपालमा आयोजना हुने मेला र प्रदर्शनीहरू इच्छित आवृत्ति, विविधता र मापदण्ड अनुसार आयोजना हुन सकेका छैनन् । यस स्थूलता र जडतालाई चलायमान बनाई गतिशीलता ल्याउने चाहना, आत्मबल र वातावरण पनि छैन । निराशा, कुण्ठा, त्रास, डर र हस्तक्षेप सृजित हतासा र संकुचित धारणाका कारण मेला÷प्रदर्शनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड अनुसार विकसित गरी मुलुकको अर्थतन्त्रको गतिवद्र्धन औजारका रूपमा उठान गर्ने सोच अघि बढ्न सकेको छैन ।
यूरोपमा झैं मेला र प्रदर्शनीहरू नेपालको पुनरोदयका लागि पनि अपरहार्य तत्त्व हो । यस पक्षलाई हृदयंगम गरी नेपालले मेला र प्रदर्शनीमार्फत आर्थिक समुन्नतिको लक्ष्य प्राप्त गर्ने गरी अघि देहायका विषयमा ध्यान दिनु आवश्यक छ ।
(क) संस्थागत संरचना : नेपालको आर्थिक पुनरोदयको स्तरमा लैजाने हो भने नेपालका सम्पूर्ण मेला र प्रदर्शनीहरूको सञ्चालन, व्यवस्थापन र स्तर निर्धारण गर्न कानूनी रूपमा सबल, जनशक्तिका दृष्टिले सक्षम र साधनस्रोतका रूपमा सम्पन्न संस्थागत संरचनाको आवश्यकता पर्छ । यही उद्देश्यका लागि स्थापित वर्तमान व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई यस पक्षमा सबल, सक्षम र सम्पन्न बनाउन आवश्यक छ ।
भारतको इन्डिया ट्रेड प्रोमोशन अर्गनाइजेशन ( आईटीपीओ) का व्यवस्थाहरूलाई नेपालमा पनि लागू गर्दा हुन्छ ।
(ख) मेला/प्रदर्शनीहरूलाई प्राथमिकता : मेला तथा प्रदर्शनीको क्षेत्र बृहत् चरित्रको छ । यी मेला र प्रदर्शनीमा विश्वस्तरको एक्स्पो, अन्तरराष्ट्रियस्तरका व्यापार मेला, राष्ट्रिय व्यापार मेला र प्रदर्शनी पर्छन् । त्यस्तै, प्रादेशिक र क्षेत्रीय स्तर तथा स्थानीय स्तरका मेला र प्रदर्शनी पनि पर्छन् । यदि मेला र प्रदर्शनीहरूलाई देशको अर्थतन्त्रलाई तरंगित पार्ने गरी विकास गर्ने हो भने हरेक १० वर्षमा एउटा अन्तरराष्ट्रिय स्तरको एक्स्पो, हरेक वर्ष एउटा अन्तरराष्ट्रिय स्तर मेला हुनुपर्छ । त्यस्तै, सातै प्रदेशमा प्रादेशिक मेलाहरू, जिल्लाहरूमा जिल्ला मेला, स्थानीय तहहरूमा ७५३ ओटा मेला हुनुपर्छ । हरेक वस्तुका वस्तुगत मेलाहरू आयोजना गर्ने गरी कार्यतालिका बनाउनु जरुरी छ । यी कार्यतालिका नेपाल सरकारको वार्षिक कार्यसूचीमा पर्नुपर्छ । अर्थ मन्त्रालयले यी सबै गतिविधिहरू सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्ने गरी अनिवार्य व्यवस्थाहरू हुनुपर्छ । देशको अर्थतन्त्रलाई नै तरंगित गर्ने यस्ता गतिविधिहरूमा दुईचार अर्ब रुपैयाँको बजेट विनियोजन गर्न अर्थ मन्त्रालयले सानो चित्त बनाउनु हुँदैन । यस्ता व्यापार मेला र प्रदर्शनीहरूलाई नियमित रूपमा सञ्चालन गर्न सकेको अवस्थामा यसले मुुलुकका हरेक कुनाकाप्चादेखि केन्द्रका उत्पादनहरूको पहिचान हुन्छ तथा व्यवसायीहरूबीच आपसी सम्पर्क र सम्बन्ध स्थापना हुन्छ । यसले देशभर एकैचोटि आर्थिक क्रियाकलापहरूमा व्यापक वृद्धि हुने देखिन्छ । हरेक १० वर्षमा एभरेस्ट एक्स्पो गर्न सकिन्छ । हरेक वर्ष हिमालयन इन्टरनेशनल ट्रेड फेयर जस्ता व्यापार मेलाहरूले नेपाली उत्पादनहरूलाई अन्तरराष्ट्रिय जगत्मा परिचित गराउन जति भूमिका खेल्छ त्यत्ति नै नेपाली आयातकर्ताहरूलाई अन्तरराष्ट्रिय आपूर्तिकर्ताहरूसँग सम्बन्ध स्थापना गर्न सहज हुन्छ ।
प्रदेश, जिल्ला र स्थानीय तहमा हुने मेला र प्रदर्शनीहरूले प्रदेश, जिल्ला र स्थानीय तहबीच अन्तरसम्बन्ध कायम भई वस्तु र सेवाको पहिचान हुन्छ । यसबाट मुलुकभर औद्योगिक र व्यापारिक गतिविधिमा व्यापक वृद्धि हुने देखिन्छ ।
(ग) भौतिक संरचनाको व्यवस्था : अन्तरराष्ट्रिय मापदण्ड अनुुसार मेला र प्रदर्शनी स्थलहरू निर्माण गर्नु आवश्यक छ । कम्तीमा एकओटा एक्स्पो स्थल, एकओटा अन्तरराष्ट्रिय मेला र प्रदर्शनी स्थल बनाइनुपर्छ । त्यसस्तै सातैओटा प्रदेश र ७५३ स्थानीय तहमा पनि मेला र प्रदर्शनी स्थलहरू बनाइनुपर्छ । त्यसै गरी वस्तुगत मेला प्रदर्शनी स्थलहरू पनि निर्माण गर्न जरुरी छ । यी निर्माण गतिविधिहरूलाई अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक देखिन्छ ।
(घ) जनशक्ति विकास : माथि उल्लिखित स्तर, आवृत्ति र तहमा विभिन्न खालका मेला र प्रदर्शनीहरूको आयोजना र व्यवस्थापन गर्न सोही अनुकूल जनशक्ति विकास गरिनु आवश्यक छ । जनशक्ति विकास भन्नाले सरकारी निकायमा कार्यरत जनशक्ति मात्र भन्ने बुभ्mनु हुँदैन । निजीक्षेत्रलाई मेला र प्रदर्शनीहरूका विविध पक्षमा संलग्न गराउन उनीहरूको कार्यक्षमता र कौशलमा पनि वृद्धि ल्याउने खालका क्षमता विकास र अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । नेपालमा आयोजना हुने विभिन्न स्तरका मेलाहरूमा विदेशी कम्पनीहरूको सहभागिता सुनिश्चित गर्न, मेला र प्रदर्शनीहरूको प्रचार गर्न विदेशस्थित नेपाली नियोगहरूको क्षमता र अभिरुचि अभिवृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न जरूरी छ । मेला र प्रदर्शनी सम्बन्धी यस्ता क्रियाकलापहरूको प्रभावकारी सञ्चालनका लागि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नु सबैभन्दा महŒवपूर्ण पक्ष हो । सबै स्तर र तहका मेला र प्रदर्शनीहरू सञ्चालनका लागि प्राविधिक जनशक्तिको व्यवस्था तदारुकताका साथ गरिनुपर्छ ।
(ङ) वातावरण सृजना : मेला र प्रदर्शनीका गतिविधिहरू सञ्चालन गर्न मुलुकभर शान्ति सुरक्षाको सुदृढीकरण पहिलो आवश्यकता हो । यसै गरी यी सबै गतिविधिको निर्बाध सञ्चालनका लागि सबै तहका राजनीतिक दलहरू बीच आम सहमति हुनुपर्छ । नागरिक समाज, प्रबुद्ध वर्ग र प्राज्ञिक समुदायको संलग्नता पनि जरुरी छ । यसै गरी यी क्रियाकलापहरू सञ्चालनलाई सरल, सहज र नियमित बनाउन सरल र व्यावहारिक कानूनी व्यवस्थाहरू हुन पनि जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको निजीक्षेत्र हो । यी सबै गतिविधिहरूमा निजीक्षेत्रको विश्वास आर्जन गर्नु अति आवश्यक छ । उनीहरूलाई मेला र प्रदर्शनीका क्रियाकलापहरूमा सक्रिय र स्वस्फूर्त रूपमा भाग लिन सक्ने वातावरण सृजना हुन पनि त्यत्तिकै जरुरी छ ।
यसरी उपर्युक्त व्यवस्थासहित मुलुकका सबै आर्थिक क्रियाकलापहरूलाई चलायमान गर्ने गरी मेला प्रदर्शनीहरू स्थलहरूको निर्माण, व्यवस्थापन र सञ्चालन गर्नु जरुरी छ । यसका लागि सर्वप्रथम एउटा कार्यदल बनाई सबै तह र स्तरका मेला प्रदर्शनीको निर्माण, व्यवस्थापन सञ्चालनको गुरुयोजना बनाउन जरुरी छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।