ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय बस खरीदका लागि टेन्डर खोल्दै साझा

Sep 3, 2019  
यातायात
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि टेन्डर खोल्ने तयारी गरेको छ । साझाले कम्पनीका कार्यकारी निर्देशक भूषण तुलाधरको संयोजकत्वमा केही समयअघि बस खरीदका लागि समिति बनाएको छ । समितिले विद्युतीय बस खरीदका लागि आवश्यक मापदण्ड तयार गरिरहेको र यही महीनाभित्र टेन्डर खोल्ने तयारी रहेको तुलाधरले बताए ।

सरकारले आफ्नै लगानीमा ३०० ओटा विद्युतीय बस सञ्चालन गर्न लागेको हो । २०७५ पुस दोस्रो साता मन्त्रिपरिषद् बैठकले विद्युतीय बस खरीदको निर्णय गरेको थियो । काठमाडौं उपत्यकामा यातायात प्राधिकरण बनाई सोही प्राधिकरणमार्फत विद्युतीय बस सञ्चालन गर्ने तयारी सरकारको थियो । तर प्राधिकरण बन्न नसकेपछि गत साउन पहिलो साता मन्त्रिपरिषद्ले साझा यातायातलाई विद्युतीय बस खरीदका लागि रू. ३ अर्ब भुक्तानी गरेको थियो । 

‘आगामी २ हप्ताभित्र आवश्यक मापदण्ड निर्माण गरिसक्ने गरी काम भइरहेको छ,’ कार्यकारी निर्देशक तुलाधरले भने, ‘मापदण्ड तयार हुनेबित्तिकै टेन्डर प्रक्रियामा जान्छौं ।’ सरकार, विद्युत् प्राधिकरण, ललितपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहकार्यमा आवश्यक मापदण्ड बनाइँदै गरेको उनले जानकारी दिए ।

सरकारले दशैंअघि नै काठमाडौंमा विद्युतीय बस सञ्चालनको दाबी गरे पनि त्यो सम्भव नभएको बेहोराको पत्र साझाले सरकारलाई पठाइसकेको छ । सरकार–सरकार (जी टु जी) प्रक्रियाबाट बस खरीद गर्न सकिने भए पनि टेन्डरमा जाँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काललाई विद्युतीय बस सञ्चालन सम्भव नभएको कम्पनीले बताएको छ । ‘समितिले बनाएको मापदण्ड अनुसार टेन्डर आह्वान गर्नुपर्छ र आवेदनका लागि कम्तीमा ४५ दिनको समय कम्पनीलाई दिनुपर्छ,’ तुलाधरले भने । यही वर्षभित्र विद्युतीय सवारी सञ्चालनको लक्ष्य भए पनि बस खरीद सम्झौता भएपछि मात्रै बस आउने मिति टुंगो लाग्ने उनले बताए । ३०० ओटा बसमध्ये शुरूमा केही ल्याएर सञ्चालन गर्ने र त्यसपछि क्रमशः बस थप्दै जाने योजना रहेको उनले जानकारी दिए ।

यस बीचमा बस खरीदका लागि साझाले विभिन्न विद्युतीय बस निर्माता कम्पनीसँग विद्युतीय बस र बस सञ्चालनको विषयमा अध्ययन गरेको छ । कम्पनीले चार भारतीय र १६ चिनियाँ कम्पनीका उत्पादनको अध्ययन गरेको तुलाधरले बताए । 

विद्युतीय बस सञ्चालनका लागि संघ सरकारसँगै प्रदेश सरकारले पनि साझा यातायातसँग सम्झौता गरेको छ । प्रदेश ३ सरकारले विद्युतीय बस खरीदका लागि साझालाई रू. ३० करोड सहयोग गरेको छ । यस्तै काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि कम्पनीसँग सहकार्य गरेका छन् । विद्युतीय बस खरीद तथा सञ्चालनका लागि कम्पनीलाई काठमाडौं महानगरपालिकाले रू. १० करोड र ललितपुर महानगरपालिकाले रू. २ करोड ५० लाख दिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)