हुँदाहुँदा चाइनिजहरूले नेपाली गीत पनि बुझ्न थालेछन् कि क्या हो ? केही महीना अघिसम्म सुपरहिट भएको, कल्ले हो गाएको एउटा गीत ‘लुट्न सके लुट्’ भन्ने गीत सुनेरै त होला कलकलाउँदा, जुँगा समेत नभएका चाइनिज चोरहरूले नेपालमा आएर बैंक नै लुटेछन् । त्यो पनि हामी तीजमा चेलीबेटीहरूसँग ‘बीचबीच’मा बसेर नाचिरा बेलामा ।
यी फटाहाहरूलाई के भन्नु र खै ! धेरै नेपाली नेताका आदर्श पुरुष माओको त्यत्रो देशबाट आएर यत्रो दुई तिहाइ बहुमतको र त्यो पनि कम्युनिस्ट सरकारका बेलामा यस्तो नकाम पनि गर्नुहुन्छ त कतै ? सी चिनफिङ नेपाल आउने कुरो छ । आए भने हाम्रा अगाडि कसरी मुख देखाउलान् कुन्नि ? शायद यै लाजले पनि अब सी चाँडै नेपाल आउँदै नआउने पो हुन् कि ?
विदेशबाट पैसा ल्याउन पर्यो भनेर सरकारै लागेर यत्रो महाभारत गरिरा बेलामा, त्यसमा पनि हाम्रा बैंकरहरूले कत्रो मेहनत गरेर दुनियाँभरबाट खोजेर ल्याएका राम्रा राम्रा आईटी सिस्टमलाई नै चुनौती दिने ? पैसा पनि कसरी सोहोर्या, किसानले मङ्सिरमा खलाबाट धोक्रामा धान भर्याभन्दा पनि सजिलो । एटीएममा एस्सो एउटा क्लिक गर्यो, त्यसपछि पैसा ह्वारह्वार्ती झर्ने, अनि त्यसलाई ब्याग ब्यागमा भर्यो, उठायो, लग्यो । अझ नेपाल सरकारले सूचना प्रविधिमा फड्को मारेको देखाउन हाम्रा प्रधानमन्त्रीले पहिलो पटक भिडियोमा सिंगापुरबाटै मन्त्रिपरिषद्को बैठक चलाएको हप्ता दिन नै हुन पाएको छैन, त्यै बेला यस्तो नकाम गर्दिने ! भलै सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठक नभै लोकदोहोरीमा जस्तो उताबाट प्रम, यताबाट मन्त्रीहरू कम्प्युटर अगाडि बसेर केवल गम्भीर हाइहेल्लो र भिडियो गफगाफ मात्र गरेको स्पष्ट पारिसकेका छन् । तैपनि हाम्रो मन्त्रिपरिषद्को त यो ठूलो फड्को हो नि । यसरी नेपालको यस्तोे गम्भीर समयमा पनि चाइनिज चोरहरूले भाइरसयुक्त प्रविधि प्रयोग गरी गरी नेपालीको पैसा लुट्न मिल्छ त ? त्यो पनि पूरा देश डेंगी भाइरस फैलाउने लामखुट्टेसँग लड्न प्रहरी र सेनासहित युद्धरत भइरहेका बेलामा । ट्रम्पले चीनलाई दुःख दिइराख्या बेलामा डलर छाप्ने अमेरिकातिर गएर पो त्यस्तो करामत गर्न पथ्र्यो । एकसिंगे गैंडा पाइने नेपाल आएर त्यो पनि जाबो नेरूमा के हेराफेरी गर्या होला ?
झन् नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन बढी भन्दा बढी चाइनिजहरू पर्यटक भिसामा नेपाल आएर पैसा खर्च गर्लान् भन्ने आश गरेको त उल्टो नेपाली रुपैयाँलाई समेत डलर र युआनमा समेत साटेर भाग्ने ?
हुन त चाइनिज सामान जस्तै चाइनिज चोरहरू (चाचो) पनि तीन दिनभन्दा बढी टिकेनन् । कतै यी खाँटी चाइनिज नभएर र वा साम्राज्यवादीहरूका घुसपैठिया त हैनन् ? के बेर ? तर जे भए पनि अब सबै चाइनिजहरू नेपालका सच्चा मित्र हुन्, दक्षिणको भरपर्दो विकल्प हुन् भन्ने कुरामा गम्भीर प्रश्नचिह्न लागेको छ । अझ दक्षिणका भन्दा उत्तरका राम्रा मात्र होइन हाम्रा हुन् र आफ्ना सधैं आदर्श नै हुन् भनी मान्नेहरूका मनमा ठूलै चोट परेको हुनुपर्छ । यस्तो भएपछि चाइनिज ठेकेदारहरूलाई काम नदिएर ‘ह्याकर’ भन्दै फिर्ता पठाउन थाले भने नेपालले समृद्धि कहाँबाट ल्याउने ? किनकि दक्षिणबाट त समृद्धि आउँदैन भन्ने कुरामा धेरैको एकमत जस्तै भइसकेको छ । अब उत्तरको पनि भर भएन भने नेपालीले कसरी घर गर्लान् र खै !
कतिपय ग्राहकले बैंकहरूले सूचना प्रविधि प्रणालीमा गर्नुपर्ने पैसा खर्च नगरेर राम्रो नगरेको र आफ्नो डिपोजिट जोखिममा पारेको भनेर बैंकलाई पो दोष दिन थालेका छन् । तर बैंक भनेको सुखदुःखको साथी पो हो । बैंकलाई यसरी शंका गर्न मिल्छ र ? बरू देशमा कति विदेशी पैसा मात्र भिœयाउने भनेर नेपाली जनताकै हितका खातिर नेपाली रुपैयाँ पनि यसो विदेश घुम्न जाओस् भनेर पो बैंकले सुरक्षा प्रणालीमा त्यति धेरै खर्च नगरेको पो हो कि ?
जे होस्, यो प्रकरणले नेपालीलाई ‘जोरका झट्का’ भने लागेको छ । त्यै भएर यी चाचोहरूलाई अहिले छोड्नै हुन्न, च्याप्प समातिराख्नुपर्छ । किनकि चाइनिज राष्ट्रपति सी नेपाल आऊ भन्दा मानिराछैनन् । तर चाँडै नै भारत चैं आउँदै छन् रे । यी चाचोहरूलाई थुनेर राख्या राख्यै गर्न सकेदेखि सी नेपाल आउन बाध्य हुनेछन् । आफ्ना नागरिकलाई बचाउन त पक्कै आउलान् नि त । हाम्रो जस्तो हो र, नेपालीहरू कतै विदेशतिर गएर फसे भने ‘सरकारले पठाको होइन क्यारे, मरे मरून्’ भनेर वास्तै नगर्ने ? सीलाई नेपाल आउन बाध्य पारेपछि जब ह्याँ आइपुग्छन् अनि पहिलो माग नै नेपालको साइबर सुरक्षाका लागि ‘दिने भए डलर देऊ, नदिने भए युआन देऊ’ भनेर नगदमै सहयोग माग्नुपर्छ । भलै पैसा हात परेपछि प्रविधि त जस्तो किने पनि भो, जसको किने पनि भो वा पछि नकिने पनि भो । पैसा चैं चिने त भैगो नि । कि कसो ?