ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा पहिलो पटक फिनटेक सम्मेलन : साइबर सुरक्षा र डिजिटल ट्रान्सफर्मेशनमा जोड

Sep 9, 2019  
प्रविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा पहिलो पटक फाइनान्सियल टेक्नोलोजी (फिनटेक) सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । भारतको युनाइटेड बिजनेश कम्लायन्स (यूबीसी)को आयोजनामा आगामी मङ्सिर १३ र १४ गते काठमाडौंको म्यारियट होटलमा उक्त सम्मेलन हुनेछ । ‘नेपाल फिनटेक समिट तथा एक्स्पो’ नाम दिइएको सम्मेलनको सह–आयोजक आईसीटी प्रोफेशनल एशोसिएशन अफ नेपाल रहेको छ ।

नेपालको वित्तीय बजारमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा वित्तीय क्षेत्रका नियामक निकाय, बैंक तथा बीमा कम्पनी, सूचना सञ्चार तथा प्रविधि (आईटी) व्यवसायी, अन्तरराष्ट्रिय प्रविधिविद्, आईटी व्यवसायी लगायत गरी ३०० जना सहभागी हुने सह–आयोजक आईसीटी प्रोफेशनल एशोसिएशन अफ नेपालले बताएको छ ।

सम्मेलनमा साइबर सुरक्षा र डिजिटल ट्रान्सफर्मेशन मुख्य एजेन्डाका रूपमा छलफल गरिने बताइएको छ । यस्तै रेगुलेटरी टेक्नोलोजी, बिग डेटा एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अनलाइन पेमेन्ट लगायत विश्वबजारमा आएका नयाँ प्रविधिबारे चर्चा हुनेछ । यी विषयमा विदेशी मुलुकका १० सहित २० जना वक्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा एआईका परामर्शदाता डा. प्रमोद पराजुली, नेपाल इन्स्टिच्युट अफ डाइरेक्टर्सका अध्यक्ष रोशनकुमार पोखरेल, नेपाल स्टक एक्सचेन्जका म्यानेजर निराजन फुँयाल, बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जन, नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशनका महासचिव वसन्त लम्साल लगायत वक्ताका रूपमा छन् । सम्मेलनमा १५ ओटा स्टल पनि राखिने आयोजकले बताएको छ । उक्त स्टलमा साइबर सुरक्षा र वित्त प्रविधिसँग सम्बन्धित विदेशी कम्पनीहरूको सहभागिता हुनेछ । साथै अनलाइन पेमेन्टमा काम गरिरहेका ई–सेवा, खल्ती, प्रभुपे जस्ता कम्पनीलाई पनि सहभागी गराइनेछ ।

भारतको बैंगलुरुमा रहेको यूबीसीले आर्थिक क्षेत्रसँग सम्बन्धित विषयमा विश्वव्यापी रूपमा सेमिनार तथा व्यापार सम्मेलन गर्दै आएको छ । संस्थाले यसअघिका वर्षमा बहराइन, सिंगापुर, दुबई, केन्या लगायत मुलुकमा सूचना प्रविधि, साइबर सुरक्षा लगायत विषयमा सम्मेलन गरेको थियो ।

यूबीसीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत अहिले नेपालमा यस्तो सम्मेलन गर्न लागेको हो । यो सम्मेलनलाई नेपाल बैंकर्स संघ, इन्स्योरेन्स इन्स्टिच्युट नेपाल र बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले पनि सहयोग गरेको छ । सम्मेलनको टिकेटिङ पार्टनरमा खल्ती रहेको छ ।

आईसीटी प्रोफेशनल एशोसिएशन अफ नेपालका अध्यक्ष मिलनराज नेपालीले सम्मेलनले नेपालको वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरे । ‘हाल नेपालको वित्तीय क्षेत्रले प्रविधिको प्रयोगमा फड्को मार्दै छ,’ उनले भने, ‘यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई प्रविधिको प्रयोगमा प्रोत्साहन मिल्छ ।’ 

सम्बन्धित प्रविधिबारे विस्तृत रूपमा बुझ्न बैंक तथा बीमा कम्पनीहरूलाई उक्त सम्मेलन सुनौलो अवसर भएको अध्यक्ष नेपालीले बताए । ‘प्रविधिको प्रयोगबाट हुने अवसर र जोखिमको विषयमा विज्ञहरूबीच छलफल हुनेछ,’ उनले भने, ‘उक्त छलफलबाट बैंक तथा बीमा कम्पनी सहित अन्य सहभागी पनि लाभान्वित हुनेछन् ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)