ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकार र डेंगीको ‘वार’

Sep 13, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

अहिले देशैभरि डेंगी लामखुट्टेको आतंक छ । विप्लवको भन्दा डेंगीको आतंक डेन्जर छ । यो कस्तो ज्याद्रो रहेछ भने यसले कसैलाई पनि टोक्न छोड्दो रैनछ । हुँदाहुँदा डाक्टर र अझ मन्त्रीलाई समेत टोक्न थालेछ । अरूलाई टोके पनि कमसेकम राष्ट्रसेवक मन्त्रीलाई त छाड्दिनुपर्ने हो नि । मन्त्रीलाई नै टोकेको थाहा पाएर होला, आफ्ना सबै संयन्त्र प्रयोग गरेरै भए पनि डेंगी चैं नियन्त्रण गरेरै छाड्ने रे भनेर सरकारको नयाँ प्रतिबद्धता सार्वजनिक भएको छ । यसको मतलब सरकार डेंगीसँग वारमै जाने सुरमा छ । तर, जे गरे पनि यो नियन्त्रणमा आउने सुरसारै देखिएको छैन । 

यो डेंगी फैलिने पनि कहाँ त भन्दा सफा पानीमा रहेछ । पहिले फोहोर पानीमा लामखुट्टे लागे भनेर सरकारले यत्रो समय र पैसा बर्बाद गरेर पानी सफा गर्ने भन्दै बाग्मती सफाइ अभियान समेत चलायो । तर, हिजोआजका लामखुट्टे पनि कति शौखिन भएछन् भने फोहोर पानी छाडेर सफा पानीमा पो बस्न थालेछन् । लामखुट्टेले पनि सरकारलाई झुक्यायो । यसरी लामखुट्टेको त स्ट्यान्डर बढेछ । अनि मान्छेको किन नबढोस् त ! त्यै भएर त हिजोआज बच्चा पनि ५० हजार घटीको त मोबाइलै नबोक्ने । टाइवाला बोर्डिङ बाहेक अन्त नपढ्ने । घरमा भन्दा रेस्टुराँमा गएर खान मन पराउने । 

यी लामखुट्टेहरू कस्ता भने मान्छेका घुँडाभन्दा माथि पनि टोक्दैनन् रे । किन होला ? तर, जे भए पनि ‘घुँडा जोगाऊ आन्दोलन’ त चलाउनै प¥यो । तर, घुँडा जोगाउने कसरी ? अब यस्तो गर्मीमा हाफ पाइन्ट लगाएर हिँड्नुपर्ने बेलामा फुल पाइन्ट नै लगाउनुपर्ने भो । त्यसो गर्नुभन्दा पैतालादेखि घुँडासम्म मात्र आउने नयाँ किसिमको उल्टो हाफपाइन्ट चैं आविष्कार गर्नुपर्ने भो । त्यसो गर्दा अहिलेको उदार फेशनको जमानामा माथि कट्टुसट्टु नलाए पनि फरक नपर्ला ! तर, मिनिस्कर्ट मात्र लाएर हिँड्नेहरूलाई भने आपत् पर्ने भो । लौ न केही गर सरकार ! 

यसका साथै डेंगी कसरी आयो र किन आयो भनेर गम्भीर अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । अहिले यस विषयमा २/३ ओटा प्रतिक्रिया सतहमा आएका छन् । एक त यो डेंगी भनेको सरकारलाई असफल बनाउन कतैबाट आएको षड्यन्त्र हो । यसको अब कडा प्रतिकार गर्नैपर्छ । तर, कसरी गर्ने ? किनकि पहिले लामखुट्टेले मलेरिया मात्र ल्याउँथे । अब त के के हो के के ? डेंगी, चिकेनगुनिया, जिका । कति नाम सम्झेर सक्नु ? कहिलेकाहीँ लाग्छ, सरकार र लामखुट्टे उस्तै हुन् । किनकि यिनको भरै छैन । सरकारले छिनछिनमा नयाँ नयाँ नीति नियम ल्याएजस्तै यी लामखुट्टेहरू पनि भगवान् शिवले रूप फेरेर आएसरी नयाँ नयाँ अवतारमा, नयाँ नयाँ रोग बोकेर आउन थालेका छन् ।

तर, डेंगीबाट बच्न सयौं विद्वान्हरूले हजारौं उपाय सुझाइसकेका छन् । तीमध्ये केही यस्ता छन् :

पैतालादेखि शिरसम्म पूरै छोपेर हिँड्ने । अर्थात् शरीरका लागि पुग्ने गरी नयाँ झुल सिलाउने । नभए शरीरभरि मट्टितेल दलेर हिँड्ने । किनकि मट्टितेलको गन्धले पनि लामखुट्टे भाग्छ रे । सधैं ढोका थुनेर बस्ने, बाहिरै ननिस्कने । हुन त यस्ता आइडिया थुप्रै छन् । तर यस्ता क्रान्तिकारी कुरा सबैले नबुझ्न सक्छन् । त्यसैले यो भन्दा कम क्रान्तिकारी र अझ व्यावहारिक आइडिया पनि छन् । जस्तै :

एक त डेंगी भुइँतलामा मात्र आउँछ रे, त्यसको लामखुट्टे धेरै माथि नउड्ने भएकाले । माथि चोटामा बस्ने चोट्टेहरूलाई नटोक्ने हो क्यारे । माथि बस्नेहरू सधैं जोगिने गरेका छन् । त्यसो भए अब घर बनाउँदा माथि तला भएको मात्र बनाउनुपर्ने भो । 

अर्को उपाय हो, ‘इलाइची’ (अलैंची होइन नि) । नेपालीमा सुकुमेल भनिने इलाइचीलाई मुखमा दुईतिर राखेपछि डेंगीका लामखुट्टे वरिपरि नै पर्दैनन् रे । भलै यो चैं फेसबुके डाक्टरहरूको ‘नुस्खा’ हो ।

एक अर्को उपाय, डेंगीको लामखुट्टे खाइदिने एउटा कीरा खोज्ने हो कि ? फौजी कीरालाई बारुलाले खान्छ रे । त्यसैगरी डेंगीलाई पनि अरिंगाल भन्ने कीराले पो खान्छ कि, यसको निक्र्योल चाँडै गर्ने । तर अरिंगालले डेंगी नियन्त्रण गर्ने काम गर्दिने हो वा होइन, त्यो हेर्न डेंगीबाट जोगिएर अझै केही वर्ष बाँचिरहनुपर्ने हुन्छ । तर यसका लागि अरिंगाल चैं प्रशस्त चाहिन्छ । सरकारले कहिले के नियन्त्रण गर्न हो, अरिंगाल लगाउने कुरा गरिरहेको थियो । अब डेंगी नियन्त्रण गर्न पनि सरकारले तिनै अरिंगालहरू परिचालन गर्नेतर्फ पक्कै गम्भीर भएर सोचिरहेकै हुनुपर्छ । किनकि वर्तमान सरकार साँच्चै क्रान्तिकारी पो छ त !
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)