ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक व्यापार विश्लेषणका समस्या

तथ्यांकको अनुपलब्धता र सूचनाको कमी 

Sep 16, 2019  
लेख | दृष्टिकोण
Aarthik Abhiyan 18th Anniversary NA
author avatar कृष्णराज बजगाईं

नेपालको नीति निर्माण तहमा नेपालको वैदेशिक व्यापार सम्बन्धी विश्लेषणहरू वस्तुपरक हुनुपर्‍यो भन्ने सदैव आग्रह रहँदै आएको छ । सिद्धान्ततः नीति निर्माण तहले सम्बद्ध विषयका विशेषज्ञहरूसँग यस्तो अपेक्षा राख्नु उनीहरूको अधिकार र कर्तव्य पनि हो र यो संसार भरको प्रचलन पनि हो । परन्तु नेपालमा क्षेत्रगत तथ्यांकहरू उपलव्ध नभएका कारण वैदेशिक व्यापार विश्लेषणहरू वस्तुपरक हुन सकिरहेका छैनन् । नेपालको वैदेशिक व्यापार विश्लेषणमा रहेका समस्यामा यो आलेख केन्द्रित रहेको छ । 

उत्पादनको तथ्यांकको अनुपलब्धता 
नेपालको वैदेशिक व्यापारको विश्लेषणमा स्वदेशी उत्पादन, आयात, निर्यात र इन्भेन्टरी यी चारथरी तथ्यांक आवश्यक हुन्छन् । यी तथ्यांकहरू पनि मासिक रूपमा अपडेट गरिएका हुनुपर्छ । यी तथ्यांक ताजा भएर मात्र पुग्दैन, विश्वसनीय पनि हुुनुपर्छ । परन्तु नेपालको सन्दर्भमा भन्नुपर्दा उत्पादनको तथ्यांकको अत्यन्त कमी रहेको छ । औद्योगिक तथ्यांकको उपलब्धता त शून्य बराबर नै रहेको छ । उद्योग स्थापना हुँदा सम्बद्ध उद्योगले गरेको अनुमानित उत्पादनको घोषणा बाहेक यस सम्बन्धमा आवश्यक तथ्यांकहरू उपलब्ध छैनन् । अन्य क्षेत्रगत तथ्यांकहरूमा अलि नियमित मानिएको कृषि तथ्यांक पनि एक आर्थिक वर्ष ढिलो गरी प्रकाशित हुने गरेको छ । वनको तथ्यांकको त्यस्तै हविगत छ । नेपालमा कति काठ वनमा उपलब्ध छ, वन्यजन्य उत्पादनको कुल भण्डार कति छ भन्ने विषयमा पनि कुनै आधिकारिक तथ्यांक उपलब्ध छैन । खानी सम्बन्धी तथ्यांक केही व्यवस्थित छ । तर, आवधिक उत्पादनको नियमित तथ्यांक राख्ने प्रचलन छ्रैन । समग्रमा भन्नुपर्दा आयातनिर्यात तथ्यांक बाहेक अन्य तथ्यांकहरूको अनुपलब्धताका कारण नेपालको वैदेशिक व्यापारको विश्लेषण गर्न समस्या उत्पन्न भएको छ । विशेष गरी उत्पादनका तथ्यांकहरू उपलब्ध नहुँदा प्रक्षेपण र अनुमानका औजारहरू प्रयोग गर्दा निचोडहरू अपरिपक्व र यथार्थपरक हुन सकेका छैनन् । 

एचएसकोडको थप वर्गीकरणमा उदासीनता 
वैदेशिक व्यापारको विश्लेषणमा हार्मोनाइज्ड सिस्टम अफ कमोडिटी क्लासिफिकेशनको ठूलो महत्त्व छ । यो वर्गीकरण जति बढी जति सूक्ष्म हुन्छ, विश्लेषणहरू पनि त्यत्ति नै यथार्थपरक हुन्छन् । उदाहरणका लागि नेपालमा मसिनो र बास्नादार चामलको मागका कारण वर्षेनि ठूलो परिमाणमा चामल आयात गरिरहनु परेको छ भनिन्छ । तर, यसको अहिलेसम्म कुनै व्यवस्थित अध्ययन हुन सकेको छैन । यसो हुन नसक्नुमा पहिलो नेपालमा मसिनो र बास्नादार चालमको उत्पादन कति छ भन्ने आधिकारिक तथ्यांक कहि कतै उपलब्ध नहुनु हो । दोस्रो, भन्सार विभागले चामल र धानका लागि नफलेको (एचएस १००६१०००), फलेको (एचएस १००६२०००), चम्काइएको (एचएस १००६३०००) र कनिका ((एचएस १००६१०००) गरी जम्मा चारओटा वर्गीकृत नम्बरको व्यवस्था गरेको छ । मोटो चामल मसिनो, बास्नादार सबै प्रकारका चामलहरू यही चारओटा वर्गीकरणभित्र पर्छन् । जबकि भारतले प्रशोधित चामलको एचएस १००६३० एचएस वर्गीकरणलाई थप दुई अंक थपी उसिन (एचएस १००६३०१०), बासमती(एचएस १००६३०२०) र नउसिनिएको (एचएस १००६०९०) को व्यवस्था गरेको छ । 

यस्तै जडीबुटीको आयातनिर्यातका लागि नेपालले जम्माजम्मी तीनओटा एचएस कोडको व्यवस्था गरेको छ । यी एचएस कोडमा नेपालमा भएभरका जडीबुटी एकमुष्ट रूपमा निर्यात हुने गर्छ । यस अवस्थामा कुन जडीबुटीको व्यापार कुन रूपमा भइरहेको छ भन्ने विश्लेषण गर्नै नसकिने अवस्था छ । छिमेकी भारतले जडीबुटीलाई ३९ भागमा वर्गीकरण गरेको छ जहाँ निमको पातदेखि चिराइतोसम्मलाई फरकफरक वर्गमा राखिएको छ । संयुक्त राज्य अमेरिकाले त कुन समयमा उत्पादन भएको भन्ने विषयलाई समेत आफ्नो वर्गीकरणमा समेटेको छ । उदाहरणका लागि ताजा अंगुरलाई लिन सकिन्छ । अमेरिकी वर्गीकरणमा अगस्ट १ देखि सेम्टेम्बर ३० सम्म भित्रिएकोे अंगुरका लागि ०८०५.४०.४०.०० कोडको व्यवस्था गरिएको छ भने अक्टोबर महीनामा भित्रिने ताजा अंगुरका लागि ०८०५.४०.६०.०० को कोडको व्यवस्था गरिएको छ । अन्य समयमा भित्रिने अंगुरका लागि भने ०८०५.४०.८०.०० को कोडको व्यवस्था गरिएको छ । कोड अनुसार भन्सार दर पनि फरकफरक छ । यस्तै फलफूलमध्ये सबैभन्दा बढी वर्गीकरण गरिएको वस्तु आँप पर्छ । सेम्टेम्बर १ देखि मे ३१ सम्म प्रवेश गर्ने आँपका लागि कोड नं. ०८०४५०.४० को व्यवस्था गरिएको छ भने अग्र्यानिक आँपका लागि कोड नं. ०८०४५०.४०.४५ को व्यवस्था गरिएको छ । उपर्युक्त समयबाहेक अन्य समयमा आयात हुने आँपका लागि कोड नं. ०८०४५०.५० को व्यवस्था गरिएको छ । यसैगरी सुखाइएको आँपका लागि पनि अलग्गै एचएस कोडहरू रहेका छन् । संयुक्त राज्य अमेरिकामा आँपमा लागि ८ अंकीय वर्गीकरणमा तीनओटा वर्गीकरणको व्यवस्था छ भने १० अंकीय वर्गीकरणमा आठओटा थप उपवर्गहरूको व्यवस्था गरिएको छ । यी व्यवस्थाहरूले विश्लेषणमा मौसमी प्रभाव, आन्तरिक उत्पादन चापको प्रभाव, स्वास्थ्यसम्बन्धी प्रभाव र भन्सारदरहरूबाट संरक्षण जस्ता अनेकथरी लाभ रहेका छन् । परन्तु, यो स्तरमा जाने सोच नै नेपालमा विकास हुन सकेको छैन । 

सूचनाको कमी 
वैदेशिक व्यापारमा सम्भवतः सबैभन्दा बढी क्षेत्रहरू आकर्षित हुन्छ । तसर्थ क्षेत्रगत तथ्यांकको अतिरिक्त क्षेत्रगत सूचनाहरूको पनि व्यापार तथ्यांकमा त्यत्तिकै महत्त्व हुने गर्छ । ती सूचनामा विश्लेषकहरूको पहुँच, पहुँचको विश्सनीयता र गोपनीयताको प्रत्याभूति पनि त्यत्तिकै महत्त्वपूर्ण विषयहरू हुन् । आर्थिक कूटनीतिको एउटा महत्त्वपूर्ण पक्ष यो पनि हो । उदाहरणका लागि नेपालले भुटानसँग व्यापारवार्ता गर्दा अपनाउनुपर्ने रणनीति तयार गर्न कम्तीमा पनि भुटान र भारत, भुटान र बंगलादेश र भुटान र अन्य मुलुकको व्यापार चरित्रको बारेमा विश्लेषण हुुन जरुरी हुन्छ । यस अवस्थामा भुटान र बंगलादेशवीच केके सन्धिसम्झौता सम्पन्न भएका छन् । यी दुई देशबीच भन्सार दरहरूको केकस्तो व्यवस्था छ भन्ने विषयमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सूचनाहरू संकलन गरी सम्बद्ध विश्लेषकहरूलाई उपलब्ध गराउनुपर्ने हुन्छ । 

यस्तै भारतका अदुवाको मागको प्रक्षेपण गर्दा भारतमा आगामी भारतमा अदुवाको कस्तो उत्पादन हुन्छ भन्ने सूचना त्यहाँको नियोगले नेपालका सम्बद्ध विशेषज्ञहरूलाई उपलब्ध गराउनुपर्छ । यस्ता कैयौं क्षेत्रगत सूचनाहरू छन् सम्बद्ध निकायहरूले विश्लेषकहरूलाई उपलब्ध गराउनुपर्छ । विश्लेषकहरू पनि योग्य इमानदार हुनुपर्छ, सूचनाप्रवाहकर्ताबाट पनि यथार्थ र समसामयिक सूचनाहरू प्रवाह हुनुपर्छ परन्तु यस्तो संस्कार, संयन्त्र र योग्यताको कमी सर्वत्र महसूस गरिएको छ । 

यसरी उपयुक्त तीनओटा पक्षलाई दृष्टिगत गर्दै उत्पादनको तथ्यांक व्यवस्थित बनाउनुपर्छ । उद्योग विभागमा उत्पादनको मासिक तथ्यांक संकलन हुने प्रणालीको स्थापना गर्नु जरुरी छ । यसैगरी वर्तमान एचएस कोडको वर्गीकरणलाई ८ अंकीय र १० अंकीय स्तरसम्म पुुुर्‍याई आयातनिर्यातमा हरेक वस्तुहरू खुल्न सक्ने गरी भन्सार विभागले आवश्यक व्यवस्थाहरू गर्नुपर्छ । यस्तै गरी कूटनीतिक नियोगहरूले आफ्ना स्टेशनहरूका आर्थिक सूचनाहरू नियमित रूपमा सम्बद्ध निकायमा प्रवाह गर्ने र क्षेत्रगत निकायहरूले आफ्ना कार्यक्षेत्रको चरित्रका तथ्यांक र सूचनाहरूको नियमित भण्डारणको व्यवस्था गरी सम्बद्ध निकायहरूमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यसो गर्न सकेको खण्डमा मात्र नीतिनिर्माताहरूले चाहेको स्तरको विश्लेषण, निचोड र नीति सुझावहरू प्राप्त गर्न सक्छन् ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । यहाँ व्यक्त विचारहरू लेखकका निजी हुन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)