सुर्खेत । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको बड्डीचौर–गुटु–बेनीघाट सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम शुरू भएको छ । सुर्खेत–२ बाट निर्वाचित नेकपाका संघीय सांसद नवराज रावतले जिल्ला अन्तर्गत पर्ने कुल २३२ किलोमिटरमध्ये ९४ किलोमिटर कच्ची सडकलाई पक्की बनाउन आइतवार डीपीआरको शुभारम्भ गरेका हुन् ।
ट्र्याक खोलिएको २५ वर्षपछि उक्त सडकलाई सरकारले मदन भण्डारी राजमार्ग घोषणा गरिएको छ । यससँगै पश्चिम सुर्खेतको सडकको डीपीआर शुरू भएको हो । दाङको सीमासँग जोडिएको काल्चेदेखि पश्चिम बेनीघाटसम्म सडक निर्माण हुनेछ ।
राजमार्गको सुर्खेत खण्डमा पहिलो चरणमा ९४ किलोमिटर दुई लेन सडक निर्माण गर्न डीपीआर गर्न करीब ५२ दिन लाग्ने सील्ट–सीईआरसी–जीईओकम जेभीका प्रतिनिधि तथा सर्भे इन्जिनीयर भक्तहरि श्रेष्ठले बताए । डीपीआरको काम पूरा हुनेबित्तिकै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न २ महीना लाग्ने जानकारी उनले दिए । उनका अनुसार हाल कायम रहेको सडकको बीच पोइन्टदेखि दुवैतर्फ २५/२५ मिटर कायम गरिनेछ ।
सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले डीपीआर र ईआईएको काम पूरा भएपछि टेन्डर प्रक्रियामा जाने बताए । ‘ठेक्का सम्झौतापछि सडक निर्माणको काम शुरू हुन्छ,’ उनले भने । पश्चिम सुर्खेतका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशसँगको आर्थिक, सामाजिक सम्बन्धलाई समेत सडक सञ्जालले नयाँ आयाम थप्न उनले बताए । ‘अहिले पक्की सडक अभावले पछाडि परेको पश्चिम सुर्खेतको विकासलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न स्थानीय बासिन्दासँगै तीनै तहका सरकारको सहयोग अपरिहार्य हुन्छ,’ उनले भने । बड्डीचौर–गुटु–बेनीघाट पक्की सडकको डीपीआर तोकिएकै समयमा पूरा गर्न स्थानीय बासिन्दाको सहयोग तथा खबरदारी आवश्यक रहेको समेत उनले औंल्याए ।
जनप्रतिनिधिको प्रतिबद्धता
कुनाथरी गाउँपालिकाको बड्डीचौरलाई जिरो पोइन्ट मानेर शुरू गरिएको डीपीआर शुभारम्भ कार्यक्रममा संघीय सांसद रावतले पश्चिम सुर्खेतका बासिन्दाले २८ वर्षदेखि माग गर्दै आएको कच्ची सडक अबको ४ वर्षभित्र पक्की बनाइने प्रतिबद्धता गरे । पश्चिम सुर्खेतको विकासमा लागि पक्की सडकसँगै विद्युत्, सञ्चार र प्राविधिक शिक्षालय खोल्ने कार्य आप्mनै कार्यकालमा पूरा गरेरै छाड्ने दाबी उनको छ । ‘पश्चिम सुर्खेतको विकासका लागि मेरुदण्ड मानिएको बड्डीचौर–गुटु–बेनीघाट सडक तोकिएकै समयमा सम्पन्न गर्न सबैको समान दायित्व रहन्छ,’ उनले भने, ‘सडक निर्धारित समयमै पूरा गर्न तीनै तहका जनप्रतिनिधिले सक्दो सहयोग गरौं ।’ क्षतिपूर्तिका नाममा बखेडा झिकेर स्तरोन्नतिको काम प्रभावित नपार्न उनले आग्रह समेत गरे ।
डीपीआर शुभारम्भ कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, वराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले पश्चिम सुर्खेतको ‘लाइफ लाइन’ मानिएको मदन भण्डारी राजमार्ग यस क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने अपेक्षा गरे । उनीहरूले पश्चिम सुर्खेतलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न प्रतिनिधि सभा सांसद रावतको प्रयासको प्रशंसा गर्दै सडक स्तरोन्नतिको काममा सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय उत्साहित
ट्र्याक खुलेको साढे २ दशकपछि पक्की सडक निर्माणको डीपीआर शुरू भएसँगै सर्वसाधारणमा उत्साह थपिएको छ । पश्चिम सुर्खेतका पाँच दर्जनभन्दा बढी गाउँलाई प्रदेशको राजधानी वीरेन्द्रनगरसँग जोड्ने बड्डीचौर–गुटु–बेनीघाट सडकले आपूmहरूको दिनचर्या सहज हुने आशा उनीहरूले गरेका छन् । कालोपत्र गरिएको सडकमा सहज यात्रा गर्न पाउने दिनको पर्खाइमा रहेका स्थानीयवासीले यथाशक्य छिटो काम सम्पन्न हुनुपर्ने बताएका छन् ।
हाल सडक स्तरोन्नतिको काम त स्थानीय सरकार गरेको छ, न त प्रदेश सरकारले नै । उक्त सडकको स्तरोन्नति नहुँदा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ हुनुका साथै यस क्षेत्रका कृषि उत्पादन ढुवानीमा समस्या छ । सडक स्तरोन्नति भए पश्चिम सुर्खेतबाट डोटी, बाजुरा अछाम, कैलालीका नागरिकलाई काठमाडौं जान हालको भन्दा आधा छोटो दूरी पर्नेछ ।