मेरो यो पर्स महीनामा एकपटक नेताका अघाएका पेटजस्तै देखिन्छ । तर भोलिपल्टदेखि घरबेटीलाई भाडा, बिजुली, पानी, छोराछोरीको स्कूल फी, बुढा बा आमाको औषधि खर्च, दूध, खाद्यान्न, तेलदेखि टुथपेस्ट आदिको भुक्तानी तिरिसकेपछि मेरो पर्स म जस्तै दुब्लो भइसकेको हुन्छ । भलै बेला मौकामा मेरो पर्सले मेरो इज्जत नबचाएको त होइन । तर अब नयाँ नयाँ छोटे बडे सरकारले थपेका नयाँ नयाँ कर, छोराछोरीको करकर, गाडीको ईएमआई बापतको बैंकको एसएमएस मार्फत बढेको ब्याजदर आदि तिर्दा तिर्दै मेरो हालत मेरो छोटो सिरककै जस्तो भएको छ । तल तान्योे माथि ह्वांगै, माथि ताने तल नांगै । यो पर्स भरिन चाहिँ महीना कुर्नुैपर्ने, तर रित्तन कहिलेकाहीँ त एकै दिनमै सफाचट, आफ्नै तक्लु तालुजस्तो ।
तलब बुझेको २/४ दिन त मेरो पर्स मालदार अड्डाका कर्मचारीका गाला र पेट जस्तै हृष्टपुष्ट देखिने । बस, टेम्पो चढ्दा पनि कत्तिका नजर पर्सका कारण पुष्ट देखिने मेरोे पुठोमा ठोक्किने । तर महीनाका बाँकी दिनहरूमा कसैले पनि नहेर्ने । शायद पाकेटमारहरूले पनि मेरो खाली पर्सको सुइँको पाइसक्थे होला ।
साम्यवादी संस्कारमा हुर्किएकाले होला पहिल्यैदेखि पूँजी बचत गर्ने कुरामा मेरो त्यति भरोसा थिएन नै । भरोसा केवल आफूमा मात्र थियो । त्यसैले पर्समा पैसा त त्यति हुन्नथ्यो । किनकि मेरो पर्समा पैसा रहुन्जेल कि त साथीभाइलाई निद्रा नलाग्ने, कि केही न केही किनेर पैसा नसकुन्जेल आफूलाई पनि भोक मात्र लागिरहने । राष्ट्र बैंकले पढाउने वित्तीय साक्षरताको पाठ र बीमा कम्पनीहरूले बीमा गर भन्ने विज्ञापन मलाई कहिल्यै काम लागेन ।
तर मेरा साथीहरू कस्ता परे भने मेरो पर्समा पैसा छैन भन्दा पत्याउँदै नपत्याउने । झिक न झिक, छ नि त एटीएम, डेबिट वा क्रेडिट कार्ड भनिहाल्ने । छन त एक दुई बैंकका नजीकका म्यानेजर साथीहरूले नमागीकनै पठाइदिएको क्रेडिट कार्ड त छ । पर्सको शान र साथीहरूका मानका खातिर यी कार्डहरू राखेको पनि छु । तर बैंकमा ब्यालेन्स नभएपछि बैंकमा साथी त के बाउ भए पनि कार्डमा पैसो भरिने होइन । त्यसैले देशमा प्रायः सदाबहार आर्थिक मन्दी छाएजस्तै आफ्नो पनि सदा मन्दीकै स्थिति हुने गरेको छ । नेपालको व्यापार घाटा जस्तै आफ्नो पनि सधैं घाटा नै घाटामा जीवन चलेको छ ।
साथीभाइहरू आफ्नै व्यवसाय गर भनेर सुझाव दिन्छन् । कहिलेकाहीँ व्यवसाय गरौं कि जस्तो नि लाग्छ । तर यसो हिसाब गर्छु । व्यवसाय शुरू गर्न लगानी त जुटाउनै पर्यो । के गर्ने आइडिया पनि फुराउनै पर्यो । ल आइडिया त फुर्यो, लगानीका लागि बैंकमा धाउनै पर्यो । बैंकले योजना हेरेर लगानी गर्न पैसो त दिँदैन । लगानीका लागि व्यक्तिगत तीनपुस्ते जमानी र जमीन दुवै माग्छ । ल सबै दिएर व्यवसाय शुरू गरे पनि नाफा हुने कहिले हो कहिले, बैंकलाई राम्रै ब्याजदर र सरकारलाई कर भ्याट तिर्नैपर्यो । अरिंगालहरूले वर्षभरि काम गर्न दिए भने अलि अलि कारोबार त होला । नाफै कमाउन त दुई/चार वर्ष काम त सुचारु गर्नैपर्ला । कर्मचारीको बढ्दो अपेक्षालाई सकेसम्म पैसाले नै सम्बोधन गर्नैपर्यो, सासुकोषमा पैसा जम्मा गर्दिनै पर्यो, उपदान पनि भर्नैपर्यो । अर्थात् आफ्नो जवानी र जमीन धितो राखेर व्यवसाय गरेर आफ्नो कमाइ होला नहोला भन्नै नसकिने । तर बैंक र सरकारको कमाइ भने आफैले ग्यारेन्टी गर्दिनैपर्ने ।
यो सबै बुझेपछि मैले शुरू गर्न लागेको कम्पनी मेरो यै पर्समा छ । म जहाँ जहाँ जान्छु, मेरो कम्पनी पनि त्यहीँ त्यहीँ पुग्छ । हुन त थुप्रै नाम चलेका कम्पनीहरू पनि त्यो कम्पनीको मुख्य मान्छेसँगै हिँड्ने गरेको पाएको छु । ऊ अफिसमा छ काम हुन्छ, ऊ छैन कुनै काम हुँदैन । एक प्रकारले नेपालका राजनीतिक दलहरू जस्तै । पार्टी नेता जहाँ जहाँ जान्छन्, पार्टी त्यहीँ त्यहीँ पुगेको हुन्छ । नेतालाई जाँगर लागे पार्टी सक्रिय, नत्र मरेतुल्य । पार्टी मात्र कहाँ हो र ? देसै नेतासँगै हिँडिरहेको हुन्छ । कि त अस्पतालको बेडमा सुतिरहेको हुन्छ, कि सिंगापुर र स्वीट्जरल्यान्ड भ्रमणमा निस्किएकोे हुन्छ ।
त्यसो भनेर मेरो पर्स पुरै रित्तै रहन्छ भन्ने चैं होइन । यसमा ट्राफिकले डेड वर्षअघि थमाएको पुरानो सवारी लाइसेन्सको सट्टा नयाँ लिन पैसा तिरेको रसीद, आमाको औषधिको प्रेस्क्रिप्शन, जागीरमा भनसुन गर्दिनुपर्ने मान्छेको नामको चीट, कस्को फोन नम्बर, एक परिचित बिरामीलाई भेट्न जान उनी बसेको अस्पतालको नाम र बेड नम्बर लेखेको कागजको टुक्रा, १५ वर्षअघि खिचेको पीपी साइजको दुई चार प्रति फोटा आदि थुप्रै टुक्राहरू छन् । राजभत्ता पाउने खालको मेरो यो कुनै ‘प्रिवि पर्स’ होईन ।
मेरो पर्सभित्र धेरैको फोन नम्बर छन् । डाक्टर छन्, इन्जिनीयर छन् । औषधिदेखि अस्पताल छन् । मन्त्रीदेखि पार्टीका महासचिवसम्म मेरो पर्सभित्रै छन् । अरू के के छन् के के स्वयंलाई नै थाहा छैन । मलाई पशुपति लगेपछि छोराहरूले पछि हेर्लान् के के छ भनेर । अहिले भने गोरखधन्दामा यति व्यस्त होइन्छ कि पर्स भित्र के के छन्, को को छन् हेर्ने फुर्सद पनि हुन्न । कहिलेकाहीँ लाग्छ पर्सभित्रका सबैलाई भेटिहालुँ, मनका कुरा साटिहालुँ । तर मेरा पर्सभित्रका यी तमाम मानिसलाई म कहिले, कसरी र किन भेट्छु होला थाहा पनि छैन । हुन पनि कति जनालाई भेटु ? कहाँ कतिसँग लडुँ ? कतिलाई हात जोडुँ ? कसलाई भनुँ ? के भनुँ ? बरु यो बिचरा पर्स छ, जुन यी सबै भारी बोकेर पनि चुपचाप छ । यसले कहिल्यै केही माग गरेको पनि छैन । कतिसम्म भने कहिलेकाहीँ त कुनै कुराबाट टाढा हुन मन लाग्यो भने ‘ल पर्स त घरमै छुटेछ’ भनेर उम्किन पनि पाइएको छ । धन्न मेरो धेरै भार यो पर्सले धान्दिरहेको छ । यो नहुँदो हो त मेरो यो बेहाल जिन्दगीको ताल कस्तो हुँदो हो हँ ?