चितवन । चितवनमा गत आर्थिक वर्ष २०७५/७६ मा रू. १ अर्ब ५० करोडको केरा कारोबार भएको छ । नेपाल केरा उत्पादक संघले सो अवधिमा जिल्लामा ५३ हजार मेट्रिक टन केरा उत्पादनबाट उक्त कारोबार भएको जानकारी दिएको छ, जुन देशभरिकै उत्पादनको एक तिहाइ हो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार किसानको संख्यासँगै क्षेत्रफल विस्तार भएपछि केरा उत्पादन बढेको छ । चितवनमा २०५१ सालदेखि व्यावसायिक रूपमा शुरू भएको केराखेती अहिले ३ हजार बिघामा फैलिएको छ । संघमा ७ सयभन्दा बढी कृषक आबद्ध रहेको महतोले बताए ।
अघिल्लो आव २०७४÷७५ मा २ हजार ७ सय बिघामा केराखेती भएको थियो, जसबाट ४७ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो । सो अवधिमा ६५० को हाराहारीमा व्यावसायिक केरा किसान थिए । उक्त वर्ष रू. १ अर्ब ३० करोड बराबरको केराको कारोबार भएको थियो । किसानको बगानमै जात र गुणस्तर अनुसार केरा प्रतिकोसा २ देखि ६ रुपैयाँसम्ममा विक्री हुने गरेको छ । विशेषगरी यहाँ मालभोग, जिनाइन, विलियम हाइब्रिड जातको केराको उत्पादन हुँदै आएको छ ।
पूर्वी चितवनबाट शुरू भएको केरा व्यवसाय जिल्लाका अधिकांश भागमा विस्तार भएको छ । पछिल्ला वर्षमा भरतपुर महानगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिकालगायत विभिन्न स्थानमा केराखेती गर्ने किसान थपिएका छन् ।
महानगरको जगतपुर र मेघौली केराको पकड क्षेत्र मानिन्छ भने पूर्वी चितवनको पदमपुरमा ८ सय बिघामा केराखेती भइरहेको संघको तथ्यांकले देखाउँछ । यसैगरी रत्ननगर नगरपालिकामा ७ सय बिघा, चैनपुरमा ३ सय बिघा, जुटपानीमा पनि ३ सय बिघा र ठिमुरामा १ सय बिघामा व्यावसायिक रूपमा केरा खेती भइरहेको संघका अध्यक्ष महतोले जानकारी दिए । ३ हजार बिघामध्ये ५ सय बिघामा हरियो केरा उत्पादन हुन्छ भने बाँकी क्षेत्रफलमा मालभोग जातको पहेँलो जातको केरा लगाइएको छ ।
उत्पादन छ, बजार छैन
केराको व्यावसायिक उत्पादन भए पनि बजार व्यवस्थापन राम्रो नभएको केरा किसानले बताउँदै आएका छन् । देशमा माग भएको ६० प्रतिशत केरा भारतबाट आउने भएकोले उनीहरू चिन्तित भएका हुन् । सस्तो मूल्यमा भारतबाट केरा आउने र बिचौलियाका कारण किसानले उपयुक्त बजार पाउन नसकेको संघका अध्यक्ष महतोले बताए ।
माग राम्रो भए पनि उत्पादनमा अपेक्षित रूपमा वृद्धि गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार जग्गा तथा श्रमिक अभाव भएकाले पनि समस्या भएको हो । उत्पादनमध्ये ८ प्रतिशत केरा जिल्लामा खपत हुने गरेको छ भने बाँकी उत्पादन जिल्ला बाहिर जाने गर्दछ ।
उत्पादन र विक्री राम्रै भए पनि सिँचाइ तथा मलको अभाव र बेलाबेलामा रोगका कारण केराखेती विस्तार गर्न नसकिएको संघका पूर्वअध्यक्ष यज्ञ सुवेदीले बताए । उनका अनुसार पहेँलो जातको स्थानीय मालभोग केराको विक्री राम्रै भए पनि अधिकांश हरियो केरा भारतबाट आउने गरेको छ । ‘भारतबाट ९५ प्रतिशत अनुदानमा उत्पादित केरा भित्रिन्छ,’ उनले भने, ‘हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौं ।’