ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धानको बोट छ, बाला छैन

Sep 25, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । धानको पकेट क्षेत्र मानिने चितवनमा यो वर्ष बोटमा बाला नलागेपछि किसान चिन्तित बनेका छन् । रोपेको ३ महीना बितिसक्दा पनि गरिमा जातको धानको बोटमा धान नपसाएको हो । विगतका वर्षमा यस हाइब्रिड जातको धानमा राम्रै उत्पादन भए पनि यस वर्ष भने दाना लागेको छैन ।

मुख्यतया पूर्वी चितवनका क्षेत्रहरूमा यो समस्या बढी देखिएको छ । कालिका नगरपालिका–६, खोलेसिमलका फूलमान लामाले भने, ‘यो सँगै रोपेको अरू जातको धान झुलिसक्यो । यसको पसाउने छाँटकाँट नै छैन ।’ आफूले लगाएको धानको क्षतिपूर्तिका लागि स्थानीय तह र आपूर्तिकर्तालाई निवेदन दिएको उनले बताए । 

खैरहनी नगरपालिकाका किसान कृष्ण अर्यालको पनि गुनासो उस्तै छ । ‘विगत चार वर्षदेखि यो धान लगाउँदै आएको थिएँ, यसपालि भने बाला लागेन,’ उनले भने । उनका अनुसार आफूले बीउ राखेको गरिमा धानकोमा दाना लागेको तर बजारबाट ल्याएको सोही जातको बीउको धानमा बाला नै ननिस्केको हो ।

वास्तविक तथ्यांक आइनसके पनि करीब १ हजार ३०० बिघामा गरिमा धान लगाइएको अनुमान गरिएको छ, जसबाट ५ हजार हाराहारी कृषक प्रभावित भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । यसबारेमा अध्ययन गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नास्ट) का वैज्ञानिक बोलाइएको केन्द्रले जानकारी दिएको छ ।

नास्टले २०७२ सालमा यसको सफल परीक्षण गरेर उक्त बीउ कृषकलाई वितरण गर्ने अनुमति दिएको थियो । चितवनमा यस धानको आधिकारिक विक्रेता प्रशान्त एग्रोभेटका सञ्चालक प्रदीप पाठकले बाला नलाग्नुको कारण थाहा नपाएको बताए । प्राविधिक अध्ययनपछि निष्कर्ष आउने उनको भनाइ छ । 
जिल्लामा गरिमा, गोरखनाथ, यूएस ३१२ जातका आयातित हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान कृषकले लगाउने गरेका छन् । गत वर्ष बर्खे धान १ लाख १९ हजार ७०० मेट्रिक टन र चैते धान २६ हजार मेट्रिक टन उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । यस वर्ष ५ हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)