नेपालको समृद्धिको यात्रा एबीसीमध्ये कुन बाटो वा कुन पथ हुँदै आउला त ? ए अर्थात् अमेरिका पथ, बी अर्थात् भारत पथ, सी अर्थात् चीन पथ ? हाम्रा पछिल्ला शासकहरूको बुझाइमा ए र बी अर्थात् अमेरिका र भारत पथले काम गरेनन् । अब सी पथ अर्थात् चीनको बाटो वा सी चिन फिङपथबाट मात्र समृद्धि नेपाल भित्रिन्छ भन्ने बुझाइ देखिन्छ । यसको मतलव नेपाल अब ए र बी ग्रेड छाडेर सी ग्रेडतर्फ लागेको हो कि ? किनकि केही समययता नेपाली राजनीति ‘सी’मय भएको छ । यसैबीच नेकपा र सीपीसीबीच भाइचारा समझदारी पनि भैसकेको छ । भाइचारा भएसि अब थुप्रै चारा वा दाना चीनले नेपाललाई पक्कै छर्नेछ । चीनको बाटो हुँदै समृद्धि नेपाल पठाउनेछ । कमसेकम नेकपाको यस्तै आशा छ । अहिले त नेपाली राजनीति भनेकै नेकपा, नेकपा भनेकै सरकार र सरकार भनेकै ‘सी’पथगामी भनेजस्तै भइसकेको छ ।
हुन पनि ए अर्थात् अमेरिका नेपालबाट धेरै टाढा छ । टाढा भएपछि गाडामा समृद्धि आउने कुरा भएन, जहाजबाटै आउन प¥यो । अमेरिकाबाट जहाजमा समृद्धि ल्याउन महँगै पर्छ । त्यसैले अमेरिकाबाट समृद्धि सम्भव देखिँदैन । अब भारतबाट आउला भनेर कुर्दा कुर्दैै कति जुग बित्ने हो थाहा छैन । किनकि भारत नेपालका पूर्वाधारका ठूल्ठूला योजनाहरू ठेक्का लिन्छ, आयोजनाहरू ओगट्छ । तर काम अघि बढाउँदैन ।
जस्तै– नेपाली जहाजलाई नयाँ हवाई रूट दिन्छु भनेको धेरै समय भयो, तर दिँदैन । अरुण ३, हुलाकी राजमार्ग आदि थुप्रै आयोजना भारतले ओगटेर बसेको छ । तर काम ज्यान गए गर्दै गर्दैन । ‘भगवान् आपका भला करे, मगर करेगा नही’ भनेजस्तै भइरहेको छ । त्यै भएर भारतबाट समृद्धि नआउने देखेपछि सरकार सी अर्थात् चीनतिर लहसिन थालेको होला । सोही कारण नेकपाले आप्mना कार्यकर्तालाई वर्तमान चिनियाँ राष्ट्रिपतिद्वारा प्रस्तावित ‘सी चीन फिङ पथ’बारे प्रशिक्षित गर्न शुरू गरेको होला । अनि नेपालले सुरक्षाको प्रत्याभूति दिलाउन सके चीनका राष्ट्रपति सी असोजको अन्तिमतिर नेपाल पनि आउन सक्ने खतरा बढेको छ रे । ‘खतरा’ किनभने कसैगरी उनी आइदिइहाले भने उनको बसाइ अवधिको टेन्सन कसरी सम्हाल्नु ? अनि खासै केही नदिई गए भने ? त्योभन्दा पनि बढी के भने ‘सी आउँदै छन्’ भनेर गफ चुट्ने विषय नै हराउने भयो ।
देशमा कति देशका राष्ट्रपति आए गए, तर भयो के भन्नुहोला । यो बेला न कुबेला भेनेजुयला भनेजस्तो होइन है । यो त सी पो हो त ।
तर डरलाग्दो कुरो चैं के भने चीनका माओको नाममा हजारौं नेपालीले अनाहकमा ज्यान गुमाए, देश आर्थिक सामाजिक रूपमा आधा शताब्दी पछि प¥यो । अब यो ‘सी’का नाममा कतिले दुःख पाउने हुन् । भलै चीन आफैले भने आपूmलाई समय र विश्व परिस्थिति अनुरूप आपूmलाई परिमार्जित र परिष्कृत गर्दै आर्थिक उन्नति गरिरहेको छ । तर विचार नियन्त्रित शासन भएकाले चिनियाँ कार्पेटमुनि कति धूलो छोपिएका छन्, पछि खुल्दै जाला । त्यस्तै ‘सी मोडल’ नेपाललाई साँच्चै कति काम लाग्ने हुन्छ, त्यो पनि प्रस्ट हुँदै जाला । सी भनेको चीन वा चिनियाँ राष्ट्रपति मात्र होइन, हाम्रा लागि सी अर्थात् समुद्र पनि हो । भारतीय समुद्रभन्दा चिनियाँ समुद्र नेपालका लागि धेरै टाढा छ । भाषा, संस्कृतिका दृष्टिकोणले त झन् कति टाढा छ छ । यत्ति टाढाको ‘सी’बाट नेपालमा समृद्धि, त्यो पनि हाम्रो पालामा गाढा भएर आउला र ?
यो प्रश्न किन पनि भने चीनलाई ए र बी अर्थात् अमेरिका र भारत बढी नै मन पर्छ । ‘सी’का लागि ए र बी नै नजिक हुन्छन् नै । अंग्रेजी अल्फाबेटमा पनि एन अर्थात् नेपाल ‘सी’बाट टाढै पर्छ । किनकि ‘एन’का जनता थोरै छन्, बजार सानो छ, र ‘सी’बाट आउने महँगाखाले सामान किन्न पनि सक्तैनन् । त्यसमा पनि ‘सी’लाई बी अर्थात् व्यापार असाध्यै मन पर्छ । त्यै भएर उसलाई ए र बी बढी नै मन परेका हुन् । चीनलाई बी अर्थात् व्यापार बढी मन परेकै कारण माओको कम्युनिस्ट सिद्धान्त विपरीत गएर निजी सम्पत्ति, राज्य नियन्त्रित अर्थतन्त्र खुला गर्दै जाने नीति लियो र व्यापार तथा आर्थिक विकासमा छलाङ पनि मा¥यो ।
चीनले वा ‘सी’ले ए र बी छाडेकै छैन । तर ने मुनिको नेपाल भने अल्फाबेटका पुछारका ‘भी’बाट भियतनाम र ‘जेड’बाट जिम्बावे आदितिर बढी आकर्षित हुँदै गएको देखिन्छ । विगतमा पनि कहिले ‘एम’बाट माक्र्स र माओवाद, ‘एल’बाट लेलिनवाद, ‘एस’बाट स्टालिनवाद आदिलाई पनि अँगाल्दै आएकै हो । त्यै आस्थाका कारण होला हरेक कुरामा राज्यले नै नियन्त्रण गर्ने परिपाटी बस्दै गएको भान हुन थालेको छ । त्यसैले बी अर्थात् व्यापार वा लगानी नेपालबाट टाढा टाढा पो भाग्दै जान थालेको छ । ‘राष्ट्रिय गौरवको योजना’को लेप लगाउँदैमा विकास नहुने रै’छ । यो कुरा विस्तारै बुभ्mन थालेकाले पो हो कि चीनले नै लगभग छाडिसकेको माओको भूतलाई च्यापेर लगानी तर्साउने काम किन गर्ने भनेर हो कि नेकपाले पनि सी चिन फिङपथको पिछा गर्न शुरू गरेको ?
यता नेकपा सरकारले चीनसँग बीआरआईमा सहमति जनाउने, उता त्यसको विरोधी खेमा अमेरिका–इन्डो प्यासिफिक रणनीतिमा पनि हाम्रा परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेर आए रे भन्ने कुरो छ । यदि त्यसो हो भने यो चैं नेकपाको असन्तुलित परराष्ट्र नीतिको छनक हो कि भन्ने धेरै छन् । तर त्यस्तो होइन होला । धेरै कुरो बुझेर त्यस्तो भएको होला । झन् बुभ्mयो झन् कठिन हुँदै गइरहेको होला ।
नेकपाले देशमा समृद्धि ल्याउन बीचमा विदेशी छाडेर स्वदेशी पथमा पनि लागेकै हो, कहिले जनताको बहुदलीय जनवाद (जबज) भनेर त कहिले प्रचण्डपथ भनेर । तर अहिले आएर फेरि एकाएक ‘सी चीन फिङ पथ’ पो भन्न थालेको छ । यो सी पथबाट पुग्ने चैं कहाँ होला कसैले भन्न सक्ला ? कि नेकपाका दुई–चार सय नेताहरू चीन गएर कपाकप डिमसम खाएर मात्र फर्कने मेसो मात्र हो कि ? वा नेपाली जनतालाई फेरि केही समय बेमौसमी चाइनिज धुनमा अल्मल्याउन मात्र हो वा के हो ? कसले जवाफ देला हँ ?