दशैं फेरि आयो । वर्षौंदेखि प्रत्येक वर्ष आइरहेकै हो, आइरहन्छ । एसएमएस, भाइबर, ह्वाट्सएप, म्यासेन्जर आदिबाट दशैंको शुभकामनाको ओइरो छ । म्यासेजको शुल्क धेरै लाग्ने भए शुभकामना पनि बाग्मती सुक्या झैं सुक्थ्यो नै होला । जेहोस्, दशैंको यति धेरै बधाई तथा शुभकामना पाउँदा त रावणलाई रामले हैन, आफूले पो मारेजस्तो लाग्दो रहेछ । अनि दशैं शुरू हुनुभन्दा धेरै दिन अघिदेखि खासगरी जागीरेहरूका लागि एक किसिमले मनमा बिदा शुरू भइसक्दो रहेछ । मनमा बिदा बसेपछि शरीर, हातहरूलाई पनि त्यति जाँगर नलाग्ने होला ।
आधुनिक रावणहरूको रावणगिरीबाट सीताले जस्तो जीवनमा एकपटक मात्र अग्निकुण्डमा हाम्फाल्नुुपरेको भए पनि सहन सकिन्थ्यो होला । तर यहाँ प्रत्येक पाइलैपिच्छे जल्दै बाँच्नु परिरहेको छ ।
तर दशैं सम्झनासाथ बच्चामा हुँदा रामलीला हरेको सम्झन्छु । दशओटा टाउका भएको अट्टहास गर्ने रावण सम्झन्छु । सोच्छु, अहिलेको जमानामा दशओटा टाउका लिएर बाँच्नुपरेको भए रावणले कति अप्ठ्याराहरू झेल्नुपथ्र्यो होला । एक त रावणको पालामा खुला छत भएको पुष्पक विमान हुन्थ्यो रे । त्यो हिजोआज छैन । हिजोआज बसको छत माथिसमेत बस्न पाइँदैन । त्यसैले रावणले बसभित्रै चढ्नुपर्थ्यो । तर झ्यालबाट टाउको बाहिर निकाल्न भने कन्डक्टरले दिँदैनथ्यो । तर एउटै मान्छेको दशमध्ये दुई–चारओटा टाउको बाहिर ननिकाली त बस्नै मिल्दैन । त्यसो भएपछि रावणले कि खाली छतवाला ट्रक चढ्नुपथ्र्याे कि त मोटरसाइकल । मोटरसाइकल चढ्न पनि रावणलाई मोटरसाइकलको भन्दा हेल्मेट किन्न बढी खर्च गर्नुपर्थ्यो। ब्याज पाउने भएपछि बैंकले फाइनान्स त गर्दिन्थे नै होला । तर बाइक कम्पनीहरूसँग यस्ता स्किम पक्कै हुन्थेन होला । अब विनाहेल्मेट बाइक कुदाएबापत जरीवाना नठटाई ट्राफिकले किन छाड्थे होला र ? एउटा हेल्मेटवालले एक/दुई सय रुपैयाँ तिरेर ट्राफिकबाट उम्किए पनि रावणले त दशै गुणा बढी जरीवाना तिर्नुपर्थ्यो ।
फेरि दशओटा टाउकोको एकै पटक पासपोर्ट साइजको फोटो खिच्न नमिलेका कारण वा खिचे पनि नागरिकताको प्रमाणपत्रमा सानो ठाउँमा दशटाउके फोटो टाँस्न नमिलेका कारण रावणको नागरिकतै बन्दैनथ्यो होला । नागरिकता नभएपछि न जागीर खान मिल्थ्यो, न बैंकबाट रिन पाइन्थ्यो, न व्यापार गर्न सकिन्थ्यो । अनि आधुनिक कालमा रावण बेरोजगार हुन्थे । फेसबुकमा सबैका राम्रा राम्रा फोटो, तर आफ्नो सेल्फी खिचेर फोटा राख्न नपाउँदा रावणको मन कति कुँडिन्थ्यो होला !
रावणलाई फिल्म हेर्न जाँदा, चिडियाखाना वा प्रवेश शुल्क लाग्ने कुनै पनि ठाउँमा जाँदा १०० लाग्ने ठाउँमा दशओटै टाउकाको गरेर १ हजार नै तिर्नुपथ्र्यो । नत्र एउटा छाडेर बाँकी टाउकाहरूमा आँखा छोपेर कालोपट्टि लगाउनुपथ्र्योे । कपाल काट्ने ठाउँमा रावणको कपाल मिलाउँदा मिलाउँदै एक जनामात्र नाई भए त बेहोशै हुन्थ्यो होला ।
अहिलेको युगमा पनि रावण रहिरहेका भए के सोच्दा हुन् हँ ? किनकि उनले त सीताको अपहरण मात्र ग¥याथे । त्यसबापत युगौंदेखि उनलाई घरघरमा मानिसहरू अहिलेसम्म सरापिरहेका छन् । तर रावण राज्यमा उनीबाट दुःखी एकजना विभीषण मात्र थिए । तर अहिलेको कलियुगमा हे¥यो भने आधुनिक रावणबाट सबै दुःखीमात्र पो भेटिन्छन् त ।
छन पनि हिजोआज जताततै रावणै रावण देखिन्छन्, नेता, अभिनेताका भेषमा, बुद्धिजीवी वा कलमजीवीका ड्रेसमा । आधुनिक रावणहरू बर्बर खुलेआम घुमिरहेका छन् । यिनीहरूले कस्ता कस्ता कुकर्म गरिरहेका छन्, बहुमतको नाममा जनसाधारणको जीवनलाई कसरी नर्कतुल्य बनाइरहेका छन्, सबैले भोगिरहेकै छौं । तर यिनैलाई त हामी सम्मानका माला पहि¥याइरहेका छौं । यिनीहरूसँगै सेल्फी खिचाएर दंग परिरहेका छौं ।
आधुनिक रावणहरूको रावणगिरीबाट सीताले जस्तो जीवनमा एकपटक मात्र अग्निकुण्डमा हाम्फाल्नुुपरेको भए पनि सहन सकिन्थ्यो होला । तर यहाँ प्रत्येक पाइलैपिच्छे जल्दै बाँच्नु परिरहेको छ । महँगीबाट जल्नुपरेको छ, अन्याय, अत्याचारले जल्नुपरेको छ, प्रत्येक श्वासमा प्रदूषणका कारण पलपल मर्नुपरिरहेको छ ।
अहिले रावण जिउँदो रहिरहेका भए यो दशैं भन्ने नै मनाउन पाइन्नथ्यो । किनकि मृत्युदण्डको साटो जीवनदान बक्सियोस् भनेर रावणले राष्ट्रपति समक्ष चढाएको बिन्तीपत्र निर्णयार्थ पठाएकोमा निर्णय गर्न नसकेर पक्कै विलम्ब भएर बसिरहन्थ्यो र भगवान् रामले उसको हत्या गर्न पाउँदैनथे । जाबो एउटा राजीनामा दिन र स्वीकृत गर्न त कति प्रक्रिया मिलाउनुपर्छ यहाँ । कसो उबेला रामले रावणलाई मारेछन् । तर अहिले पनि रावणका सन्तान चैं जताततै भेटिन्छन् है ! यी आधुनिक रावणहरूलाई कसले मार्ने होला ? किनकि आधुनिक रावणहरू थुप्रै भेटिए पनि आधुनिक राम एकजना पनि कतै देखिएका छैनन् ।
उबेला रावणलाई त रामले एकपटक मारे, कथा सिद्धियो । तर यहाँ त हरेक दिन नयाँ नयाँ अवतारमा दशटाउके होइन, हजारौं टाउकाका रावणहरू जन्मिरहेका छन् । मर्ने पालो त केवल गरीब, निमुखा, सर्वसाधारणहरूको मात्र हो । यी कलियुगका रावण भने मर्दै मर्दैनन् । बरू रक्तबीज जसरी नयाँ नयाँ अवतारमा, नयाँ नयाँ आवरणमा जनताका चीरहरण गर्न जन्मिरहेका जस्ता देखिन्छन् । रावण वास्तवमा मरेकै थिएन जस्तो छ । त्यसैले पहिलेको एउटा रावण अहिले करोडौं भएर शहर र अझ गाउँ गाउँका सिंहदरबारमा समेत सबैतिर आतंक मच्चाइरहेका छन् । तपाईंले देख्नुभाछ नि यी रावणहरूलाई ? तपाईंले चिन्नुभाछ नि यी आधुनिक रावणहरूलाई ? लौ न ! सामान्य मानिसहरूलाई अति निर्धन र निमुखा बनाएर शासन गर्न चाहने प्रचण्ड–प्रतापीहरूका मनको कुनामा लुकेको रावणलाई कसले मार्न सक्ला हँ ?