ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फौजी कीराले धान नष्ट 

Oct 16, 2019  
बागमती प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । फौजी कीराले काट्ने बेला भएको धान नष्ट गरेपछि चितवनका किसान चिन्तित भएका छन् । मुख्यतया पूर्वी चितवनका राप्ती नगरपालिका, खैरहनी, कालिका र रत्ननगर क्षेत्रमा फौजी कीराको प्रकोप बढी देखिएको हो । 

राप्ती–५ का कृषक धर्मराज कँडेलले फौजी कीराको आक्रमणबाट धानको बाला नै नष्ट गरेको बताए । ‘केही दिनअघि हावाहुरीले नष्ट गरेको थियो, अहिले कीराको प्रकोप बढेको छ,’ उनले भने । उनका अनुसार यस प्रकारको प्रकोप विगतमा देखिँदै आए पनि यसपालि सजिलै नियन्त्रण हुन सकेको छैन । कृषि विज्ञको सल्लाहमा विषादी ल्याएर हाले पनि प्रभावकारी नभएको कृषकको भनाइ छ । 

कृषकका अनुसार फौजी कीरा दिउँसो धानको गाँजमा  बस्ने र रातिको समयमा बाला काट्ने गरेकाले नियन्त्रण गर्न नसकिएको हो । राप्ती–१ का वीरबहादुर राईले लगाएको १ बिघा धान पनि फौजी कीराले नष्ट गरेको बताए । ‘औषधि ल्याएर पनि हालियो, कीराले नष्ट गर्ने क्रम रोकिएन,’ उनले भने । यसबारेमा स्थानीय तह, कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि केही पहल नभएको उनले बताए । 

कृषि ज्ञान केन्द्र, चितवनकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले जिल्लाभरि नै फौजी कीराको प्रकोप देखिएको बताइन् । ‘अहिले विशेष गरी खैरहनी र राप्ती नगरपालिकाका क्षेत्रहरूमा फौजी कीराको प्रकोप बढी देखिएको छ,’ उनले भनिन्, ‘हामीले किसानलाई विषादी सिफारिश गरेर आवश्यक सल्लाह दिएका छौं ।’ ज्ञान केन्द्रका अनुसार जिल्लाका सबै ठाउँबाट आएको जानकारी अनुसार ती क्षेत्रमा निरीक्षण भइरहेको छ । 

कृषि विज्ञ राजेन्द्र देवकोटाका अनुसार विशेषगरी मकैबालीमा बढी देखिने यस प्रकारको कीरा मकैबाली थन्काएपछि आहाराको विकल्पको रूपमा धानतिर फैलने गर्दछ । प्रकोप फैलिएपछि यसलाई नियन्त्रण गर्न मुश्किल पर्ने उनी बताउँछन् । उनका अनुसार प्रांगारिक तथा रासायनिक विषादीबाट केही हदसम्म नियन्त्रण गर्न सकिए पनि पूर्ण रूपमा यसलाई नियन्त्रण गर्न सकिँदैन । ‘यसको एउटै उपाय हुन्छ पाकेको धान छिटै काटेर थन्काउनु पर्छ,’ उनले भने ।

जिल्लामा गरिमा, गोरखनाथ, यूएस ३१२ जातका आयातित हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन । गत वर्ष जिल्लामा १ लाख १९ हजार ७०० मेट्रिक टन वर्षे धान र २६ हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)