यसपाला दशैं सकिनासाथ तिहार आयो । पोहोर परार दुई हप्तापछि आउँथ्यो । दशैंको भोलिपल्टै सडकभरि रंगीचंगी फूलहरू सजिए । चीनका राष्ट्रपति सी चीनफिङ नेपाल आएसँगै देशमा तिहार आएको हो । देशको तिहार भएकाले होला राम्रोसँग देउसी खेल्नै नपाई सकिएजस्तो पो भयो । किनकि सडकका फूलहरू कि ओइलिसके, कि त नर्सरी फिर्ता भईसके । जनताका घरघरमा आउने तिहारका लागि केही दिन बाँकी नै छ ।
देशको र जनताको तिहारबीच भिन्नता हुँदो रहेछ । जनताको तिहारमा मानिसहरूले देउसी भैलो खेलेर घरघरमा गएर माग्छन् । तर देशको तिहारमा सरकारले द्यौसी खेल्दा विदेशी राष्ट्र प्रमुखलाई आफ्नो देशमा बोलाउनु पर्यो । त्यै भएर नेपाल सरकारले चीनसँग लामै मागपत्र पेश गर्यो ।
त्यसो त नेपालीले पनि सीलाई धक फुकाएरै दिए । नेपाली जनताले काममा नगै, घरघर अगाडि बसेर, सडकमा लामबद्ध भएर सीलाई काठमाडौंमा ‘अतिथि देवो भव’ भनेर भव्य सत्कार र सहज घुमफिर गर्न दिए ।
सीले पनि नेपाललाई धेरै नै दिए । मान्छेहरूले कुरा नबुझेर सीले जाबो ५६ अर्ब रुपैयाँ मात्र नेपाललाई दिने भन्ठाने । तर नेपाललाई उनले थुप्रै कुरा दिएर गएका छन् । पहिलो कुरा त सीले नेकपालाई आफूमात्र कपाकप खाने होइन, जनतालाई पनि दिनुपर्छ है भन्ने लगायत देश, पार्टी चलाउन थुप्रै मन्त्र दिए । जनतासँग गरेको वाचा पूरा गर्नैपर्छ भनेर उपदेश दिए । स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ भन्ने सुझाव दिए । पार्टी र सरकारलाई भ्रष्टाचारीहरूबाट जोगाउनू भनेर मन्त्र दिए । अनि चीनले नेपाललाई कानूनमा सघाउने प्रतिबद्धता पनि दिए । अझ चीनको चङ्तुमा नेपालको महावाणिज्य दूतावास खोल्ने स्वीकृति दिए । नेपालले सुपुर्दगी सन्धि पनि दिएको भए अझ बढी दिन्थे कि सीले ! हुन त अहिले पनि सीले नेपाललाई कनेक्टिभिटी दिन्छु भनेका छन्, देलान् । ऋणमै सही बीआरआई दिन्छु भनेका छन् । पैसै तिरेर सही चिनियाँ जहाज पनि नेपाललाई दिएकै हुन् । तर एनएसी अर्थात् नाक हाँक्ने पाइलटहरूले चलाउन नजानेर हो कि किन हो चिनियाँ जहाजहरू कुम्भकर्ण निद्रामा छन् ।
त्यतिमात्र कहाँ हो र ? चीनले नेपाललाई अमिलो जातका फलफूल निर्यात गर्न दिने रे । त्यसो भएसि भारतबाट आयात गरेरै भए पनि फलफूल चीन निर्यात गर्न पाइने भो ! अझ सीले नेपाललाई विश्वकै लामो सुरुङमार्ग याने टनेल दिने रे । रेल पनि दिन्छु त भनेका छन् । नेपालमा कन्फ्युसिएस सेन्टर खोल्दिने रे । त्यो खोलेर के हुन्छ भनेर कन्फ्युज नहुनु होला । त्यसबाट क्यै न क्यै त भैहाल्ला । अझ चीनले चिनियाँ पर्यटक समेत दिने रे । मदन भण्डारीलाई पनि दिने रे । काँग्रेसका देउवालाई त चीन भ्रमणको निम्तो नै दिए । मधेशवादी नेतालाई त सीले भेट्नै पाएनन् के दिने ? भारतसँग मात्र लिने बानी परेका कारण हो वा मधेशतिर देउसी भैलो खेल्ने चलन नभएका कारण हो वा चीनले दिँदैन भनेर सीलाई भेट्न त्यति प्रयासै नगरेर हो वा भेटाउनेले नभेटाइदिएर हो, मधेशी नेताहरूले सीलाई भेट्न पाएनन् । भेट्न पाएका भए सीले केही न केही पक्कै दिन्थे होला । अब मधेशी नेताहरूले ‘सिर्फ पहाडियोंको दिया, हमे नही दिया’ भन्दै गीत गाउँदै हिँड्न बेर छैन ।
विगतमा पनि चीनले नेपाललाई दिएकै हो । खर्बौं रुपैयाँका उद्योगहरू, जस्तै– गोरखकाली रबर, बाँसबारी छाला, भृकुटी कागज, हेटौंडा कपडा, हिमाल सिमेन्ट, ट्रलीबस, बुटबल धागो, हरिसिद्धि इँटा टायल लगायत थुप्रै उद्योगहरू, त्यो पनि अनुदानमै नेपाललाई दिएको हो । यसरी चीनले नेपाललाई यसपाला पनि दिनुसम्म दियो । दिने कुरामा कुनै कसर बाँकी राखेनन् सीले । त्यसैले नेपाल भ्रमणकै क्रममा धम्की पनि दिन भ्याए सीले । चीनको विखण्डन गराउन खोज्नेलाई हड्डीसमेत धुजाधुजा पार्दिन्छु भन्ने धम्की दिए उनले । यो भन्नलाई सीले नेपाल भ्रमणमा आएकै बेला किन छाने भन्ने चाहिँ रहस्यमय नै छ ।
त्यसो त नेपालीले पनि सीलाई धक फुकाएरै दिए । नेपाली जनताले काममा नगै, घरघर अगाडि बसेर, सडकमा लामबद्ध भएर सीलाई काठमाडौंमा ‘अतिथि देवो भव’ भनेर भव्य सत्कार र सहज घुमफिर गर्न दिए । सुरक्षाकर्मीहरूले सुरक्षा दिए । राष्ट्रपतिले भव्य रात्रिभोज दिइन् । सी बसेको सोल्टीले पनि नेपाली मेनु दियो । गुम्बाहरूका मानिसहरूले ४८ घण्टासम्म आफ्नो आवतजावत रोकेर ‘फ्री तिब्बत’वालाहरूलाई हतोत्साहन दिए । नेपाल सरकारले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’मा पुनः प्रतिबद्धता दियो ।
फर्केर जाँदा सीलाई नेपाली ठूलाठालूहरूले सभ्य बिदाइ समेत दिए । राप, उपराप, प्रम, राष्ट्रिय सभा अध्यक्ष, राष्ट्रपतिकी छोरी लगायतले विमानस्थलमै पुगेर विभिन्न भाव भंगिमामा बाईबाईवाला पोजसहित सीलाई दिएको बिदाइ अनौठो, विशेष र सम्झनालायक छ । विगतमा पनि नेपालले चीनलाई अरनिको र भृकुटी दिएकै हो । लिपुलेकबारे चीनको धारणा र नेपालको चीनसँगको भयावह व्यापार घाटाबारे बोल्दै नबोली नेपाल सरकारले चीनलाई यो भ्रमणको मौकामा दिनुसम्म सहजता दियो । राष्ट्रिय महत्त्वका परियोजनाहरू पनि नेपालले चीनलाई दिएकै छ । बुढीगण्डकी त दुई–दुई पटकसम्म दिएकै हो । अरू थुप्रै आयोजनाहरू दिँदै जाला । लक्षणहरू देखिइसकेकै छन् । योभन्दा बढी के दिनु ?
तर नेपालीले चीनलाई यत्रो दिँदा पनि सीले नेपाललाई ‘सरप्राइज प्याकेज’ चैं दिएनन् । रेल त अझै दिएनन् वा दिने स्पष्ट खाका दिएनन् । रेल हाम्रा प्रम ओलीको ‘ड्रिम प्रोजेक्ट’ हो भन्ने जान्दाजान्दै पनि त्यसलाई सीले किन त्यति महत्त्व दिएनन्, अनुसन्धान गर्नुपर्ने भो । नत्र अब यसपालाको तिहारमा द्यौसी खेल्न पेइचिङ जानुपर्ने भो । देउवालाई त सीले चीन भ्रमणको निम्तो दिइसकेकै छन् । त्यसैले देउवाकै नेतृत्वमा तिहारमा देउसे टोली चीन पठाउनुपर्छ । देउवाले भट्याएको द्यौसी भैलो सीले नबुझ्ने भए चीनको पेइचिङमा रहेको नेपाली राजदूतावास र चीनका लागि अन्य स्थानमा रहेका महावाणिज्य दूतावासको नेतृत्वमा सी चीनफिङको निवास अगाडि गएर ‘देऊ सी रेल’ भनेर द्यौसी खेल्न जानुपर्छ ! त्यसो गरे सीले नेपाललाई एक–दुई रेल कसो न देलान् त हँ ?
???????
रेल हाम्रा प्रम ओलीलाई सीले किन दिएनन्, अनुसन्धान गर्नुपर्ने भो ।
Great!