ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नरिसाउनु है तिहार हो !

Oct 25, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल

लौ ! दशैंको ‘ह्यांगओभर’ सक्या थेन तिहार पो ह्वात्तै आँगनमै आइपुगेछ, मिठाई, सेल, सयपत्री, मसला सबै एकैसाथ लिएर । हाम्रो सरकार खासगरी गृह मन्त्रालय पनि कम्ता ‘फास्ट’ छैन नि । उसले पनि सधैंका वर्षझैं अनुगमन, अनुशासनको घोषणा फटाफट गर्दिसक्यो । हो, सरकारले तिहारमा देउसी भैलोजस्ता मनोरञ्जनात्मक कार्यक्रममा गलत र नकारात्मक असर पर्ने खालका गीत, संगीत उत्पादन, गायन, प्रसारण आदि नगर्न आग्रह गरेछ । परेन आपत् ! अब देउसी भैलोमा रातो माटो, चिप्लो बाटो भन्न मिलेन । किनकि माटोमा न त रातो बाँकी छ, न त बाटो चिप्लो छ । बरु हिले माटो, खाल्टाखुल्टी बाटो भनेर भट्ट्याउनुपर्ने हुन्छ । तर त्यै एउटै कुरा भट्ट्याएर सरकारलाई कति चिढ्याउने ? झोँकमा सरकारले लगेर महरा र आलमसँगै थुन्दियो भने के गर्ने ?

त्यस्तै सरकारले दीपावली मनाउने क्रममा भुइँचम्पा, पटाका, आतशबाजी नपड्काउन पनि उर्दी जारी गरेको छ क्यारे । सर्वसाधारणले त सरकारलाई टेर्लान् र ती विष्फोटक भनौं कि मनोरञ्जनात्मक सामग्रीहरू नपड्काउलान्, तर राजनीतिक विष्फोटनमा परेर सरकारमा भएका दलहरूबाट चोइटिएर बनेका दलहरूले पड्काउने ठूला पटाकाहरूलाई कसले रोक्ला ? अनि पुलिसका नाकमुनिबाट लुकाएर पसल पसल हुँदै घरघरमा केटाकेटीहरूका हातमा पुगेका आतशबाजी पड्काउनबाट कसले रोक्न सक्ला ? कि ‘बुरा नमानो होली है’ भनेजस्तै ‘नरिसाउनु है तिहार हो’ भनेर छाडिदिने हो कि ?

जे भए पनि कान थुनेरै भए पनि तिहार त मनाउनै प¥यो । तिहार खासमा त सेल र खेलको पर्व हो । रंगीचंगी फुल, रङहरूको पर्व हो, अनि लक्ष्मी अर्थात् धनको पनि पर्व हो । त्यसैले सबै नेपाली दाजुभाइसँग निवेदन छ कि तिहार पर्वको पूर्ण लाभ उठाउनुपर्छ है ! त्यसका लागि आआफ्नो  गणित र फलित अनुसार चलौं । त्यसो भए ज्योतिषशास्त्र अनुसार कुन राशिको कस्तो फल हुने योग छ, हेरौं यो तिहारमा !

यो पंक्तिकारलाई प्राप्त जानकारी अनुसार त यस्तो पो छ त ।

कर्मचारीहरूका लागि यो तिहारमा त्यति शुभलाभ प्राप्त हुने देखिँदैन । एक त कार्यालय समयमै तास खेलेको भनेर प्रहरीको छापामा पर्ने सम्भावना छ । सञ्चयकोष कि सासुकोष भन्ने द्विविधा त छँदै छ । अझ निजीक्षेत्रका धेरैजसो कम्पनीहरूमा समयमै तलब पाउनै दुर्लभ हुँदै गएको छ । तर अब त जागीरमै पनि शनिको प्रभाव पर्ला जस्तो छ । त्यसैले कुनै किसिमको पनि सरकारी वा विभागीय खाम नलिनुहोला । सकेदेखि अफिसबाट लामै छुट्टीमा जाँदा बेश, तर आफ्नो कुर्सीमा नबसेकै बेश । पहिले जस्तै कि त लन्च खान वा क्यान्टिनमै धेरै समय बिताउने गर्नु उत्तम । चाकरी गर्न गणेशले आफ्ना मातापिता शिव–पार्वतीलाई घुमेर नमस्कार गरेझैं हाकिमका हजुरीमा धेरै समय व्यतीत गर्नु बुद्धिमानी । किनकि बैंकका सीईओहरू बाहेक अन्य हाकिमहरूका लागि भने ग्रह बिग्रिसकेको छैन । त्यसैले हाकिमहरूको संगत बढाउँदा राम्रै होला ।

चन्दा संकलन गरी हिँड्ने खासगरी विभिन्न दलबाट उछिट्टिएर बनेका वा बन्ने क्रममा रहेका दल र तिनका कार्यकर्ताका लागि भने यो तिहारमा शनिकै योग छ ।

व्यापारीहरूका लागि यो तिहार पनि सदाझैं शुभलाभै शुभलाभ छ । आफ्नो घर, अफिस, पसल खुलै राखेर बस्नु बेश । तिहारका लागि आउने सबै प्रकारका नयाँ पुराना मिठाई, रङ, फलफुल र फुलहरू जम्मा गरिराख्नु । अझ पोहोर नबिकेका ड्राईफ्रुट्स समेत होलान् । तिनीहरू मिलावट गर्न काम लाग्छ, । त्यसबाटै धनवर्षा हुन्छ । 

नेताहरूका लागि यो तिहार त्यति फलदायी देखिँदैन । गाउँ ठाउँमा नजानु नै भलो होला । एक त चुनावमा गरेका वाचा एउटा पनि पूरा भएको छैन । त्यसमा पनि गुन्डागर्दी गर्दाताकाका पुराना बन्द फाइल खुल्ने सम्भावना बढ्दै गएको छ । गाउँबाट शहर पस्नै नपाई झ्यालखानाको हावा खान पुग्नुपर्ने पनि सम्भावना खुलै छ है ।

धनी वर्गका लागि यो तिहार पनि शुभ नै छ । तिहारमा जुवा तास खेल्न नेता र सरकारी खासगरी करका हाकिमहरूकहाँ जान पाउने योग छँदै छ । त्यति भएसि सरकारी अफिसहरुमा आप्mनो फाइल अघि बढ्ने र कर छूट हुने पनि प्रबल सम्भावना छ ।

चन्दा संकलन गरी हिँड्ने खासगरी विभिन्न दलबाट उछिट्टिएर बनेका वा बन्ने क्रममा रहेका दल र तिनका कार्यकर्ताका लागि भने यो तिहारमा शनिकै योग छ । किनकि जनताबाट यति रकम संकलन गरिइसकेको छ कि अब मानिसहरूसँग क्रान्तिकारी वा भ्रान्तिकारी कसैका लागि दिन कुनै बचत बाँकी नै छैन । बरु चन्दा माग्न आउनेसँगै माग्नुपर्ने बाध्यतामा सर्वसाधारण पुगिसकेका छन् । हुन पनि सरकारले कर माग्ने, नेताले भोट र नोट दुवै माग्ने, कर्मचारीले छ्याकन माग्ने, माग्नेले त यसै के के माग्ने माग्ने । अर्थात् दिनेभन्दा माग्ने धेरै भएसि जनता जनार्दनले पनि दिने चैं कहाँबाट हो ? 

त्यसैले चन्दा माग्नेहरू होशियार है ! चन्दा माग्नेहरू मात्र होइन, तिहारमा जुवामा च्याखे थाप्नेहरू पनि होशियार ! किनकि हिजोआज जताततै सबै क्षेत्रमा च्याखे थाप्नेहरू बढ्दै गएका छन् । सबै च्याखे थाप्ने भएपछि जित कसको चैं हुन्छ र ?

जेहोस्, अरू कुरा हुँदै गर्ला, तर तिहार त मनाउनै पर्ला । त्यसैले सम्पूर्ण पाठक महोदयहरूमा तिहार २०७६ को हार्दिक शुभकामना !
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)